बसन्ती शाहीको ‘समय सकस’ सार्वजनिक

सुर्खेत — अधिकारकर्मी एवं लेखक बसन्ती शाहीको पुस्तक ‘समय सकस’ शनिबार सार्वजनिक गरिएको छ । कोरोना महामारीको अनुभव र अवस्था झल्काउने उक्त पुस्तक कर्णाली प्रदेशसभा सदस्य तथा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, साहित्यकार महुेन्द्रकुमार मल्ल, देवकी तिमिल्सेना र बालरोग विशेषज्ञ डा. नमराज केसीलगयातले संयुक्त रुपमा पुस्तक लोकार्पण गरेका हुन् ।

कर्णाली प्रदेश लोकसेवा आयोग सदस्यसमेत रहेकी शाहीले पुस्तकमा विश्वभर महामारीका रुपमा फैलिएको कोभिडले पारेको मावीय संकट र आर्थिक संकटको सामाना गर्नु परेको कुरालाई मुख्य एजेण्डाका रुपमा ब्याखा गरेकी छन् ।
पुस्तकमा नेपालको अर्थतन्त्र र जनजीवनमा समेत पारेको असर, राज्यको भूमिका साथै लापर्बाहीका विषयलाई पनि गम्भीर रुपमा उठाइएको छ ।
कार्यक्रममा साहित्यकार देवकी तिमल्सिनाले आफ्नै घर, छिमेक र देशमा भएका घटनालाई बटुलेर कोरोना र लकडाउनको समय सन्दर्भमा रहेर पुस्तकमा चर्चा गरिएको र लेखन मर्मस्पर्शी रहेको बताइन् ।
लकडाउनको डायरीकै रुपमा लेखिएको यस पुस्तकमा व्यक्त विचार शब्द चित्रका रुपमा अभिलेख भएको तिमिल्सिनाले बताइन् ।
यस्तै बालरोग विशेषज्ञ नमराज केसीले यो पुस्तक अहिलेको पुस्ता र भावी पुस्ताहरुका लागि दस्तावेज हुने बताए । साथै युवा मात्र नभएर अनुसन्धानकर्ताहरूका लागि पनि यो पुस्तक उपयोगी हुने डा. केसीको भनाइ छ ।
विश्वविद्यालयका पूर्वरिजष्टार तथा साहित्यकार महेन्द्र मल्लले अत्यासलाग्दो सकसपूर्ण समयलाई समेटेर बनेको यो पुस्तक वर्तमान समाजको अभिलेख रहेको बताए । समग्र विश्वलाई ८३ दिनमै अटाउनसक्नु पुस्तकको बलियो पक्ष रहेको उनको भनाइ छ ।
लेखक शाहीले भोलिका लागि इतिहास बनोस् भनेर यो पुस्तक लेखेको प्रतिक्रिया दिएकी छन् । पुस्तकमा मानवीय संवेदनामा राज्यबाट संचालकहरुले देखाउने स्वार्थी गतिविधि र अमानवीय हर्कतको भण्डाफोर गरिएको कार्यक्रमका वक्ताहरूले बताएका थिए ।
प्रकाशित : चैत्र ११, २०७९ २१:१९