कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

दुःसाध्यमाथिको प्रयास ‘नीलो फूल’

दुःसाध्यमाथिको प्रयास ‘नीलो फूल’ लघुचलचित्रको कथाले यौनिक तथा लैगिंक अल्पसंख्यकमाथि इच्छाविपरीत गराइने विवाहले निम्तिने कहालीलाग्दो अवस्थालाई उजागर गर्छ ।
विद्या राई

काठमाडौँ — दुवैपटक विवाहको मण्डपबाट छोरा भागेपछि बूढी आमा मर्न भनेर अबेर राति घर छोड्छिन् । छोराहरूले सम्झाइबुझाइ गरेर घर फर्काउन खोज्छन् । उनी मान्दिनन् । आफूले विवाह गर्न नमानेकै कारण जन्म दिने आमाले आत्महत्या गर्ने निर्णय लिएको कुराले तिलकलाई दुःखी बनाउँछ । तिलकका दाजुको विवाह भइसकेको हुन्छ । कथाका मुख्य पात्र तिलक इच्छाविपरीतको विवाहको दबाबमा पर्छन् । 

दुःसाध्यमाथिको प्रयास ‘नीलो फूल’

आमाको कसम पूरा गर्न विद्यालयमा पढाउने उर्मिला नाम गरेकी शिक्षिकासँग तिलकको विवाह हुन्छ । दुलही लिएर घर आइसकेपछि तिलक भुईंमा सुत्छन् । आफ्नी श्रीमतीलाई ओछ्यानमा सुत्न लगाउँछन् । तीन महिनासम्म बच्चा नभएपछि उनीहरूबारे परिवारभित्रै कुरा काटिन्छ । छरछिमेकीले कुरा काट्छन् । तिलकलाई आफ्ना कारणले श्रीमतीलाई दुःख सहनुपरेको कुराले असाध्यै पछुतो लाग्छ । दुःसाध्यमाथिको प्रयास ‘नीलो फूल’ लघुचलचित्रको यो कथा यौनिक तथा लैगिंक अल्पसंख्यकमाथि इच्छाविपरीत गराइने विवाहले निम्तिने कहालीलाग्दो अवस्थालाई उजागर गर्छ ।

काठमाडौंभन्दा टाढाको यो गाउँमा तिलक र उसका दाजुलाई एकल आमाले मायाममताका साथ हुर्काएकी हुन्छिन् । तिलक तन्नेरी हुँदै गएपछि विवाहको दबाब सुरु भएको हुन्छ । तिलकलाई सानैदेखि महिलाप्रति आकर्षण भएन अर्थात उनी समलिंगी पुरुष हुन् । यो कुरा उनले परिवारलाई बुझाउन सक्दैनन्, परिवारले पनि बुझ्न चाहँदैन । परिवारलाई सामाजिक प्रतिष्ठाको भ्रमले गाँजेको हुन्छ । गाउँसमाजले कुरा काट्न थालेका हुन्छन् । जबरजस्ती तिलकको विवाह गरिदिन्छन् । त्यही जबरजस्ती मन नपरेकाले उनी मण्डपबाट भाग्छन् । उर्मिलालाई पनि श्रीमतीका रूपमा स्वीकारिसकेका हुँदैनन् ।

तेस्रो पटक आमाको वचन पूरा गर्नमात्रै विवाह गरेका हुन्छन् । वैवाहिक जीवनमा पटक्कै खुसी हुँदैनन् । छुट्टाछुट्टै बिछ्यौनामा सुत्नुपरिरहेको कुराले उर्मिलामा आशंका जन्मिन्छ । निकै साहस गरेर तिलकलाई यसबारे सोध्छिन् । तिलकले आफूले आमाको इच्छा पूरा गर्नका लागि मात्रै विवाह गरेको, यौन सुख र सन्तान सुख दिन नसक्ने बताउँछन् । झुक्याएर विवाह गरेको थाहा पाएपछि उर्मिलालाई जिन्दगी बर्बाद भएको महसुस हुन्छ ।

परिवारमा तिलक—उर्मिलाले बच्चा जन्माउनुपर्ने दबाब सुरु भइसकेको हुन्छ । समाजले पनि कुरा काट्न थालिसकेका हुन्छन् । बुहारीमाथि दोष थोपर्दै सासुले सोध्छिन्, ‘बच्चा नजन्माउने मान्छे अलच्छिनी हुन्छन् रे ! तँ त अलच्छिनी छैनस् नि कान्छी !’ तिलकलाई अर्को विवाह गर्नेसम्मको प्रस्ताव परिवारले राख्छन् । आफ्ना कारणले श्रीमतीले समेत गालीगलौच सहनुपरिरहेकाले तिलकले उर्मिलालाई छोडेर जान पनि सुझाउँछन् । घर, माइती र समाजको इज्जतले उनलाई बाँधेको हुन्छ । आफ्ना शारीरिक चाहानाहरुलाई दबाएर भए पनि तिलककै श्रीमती भएर जिउने निर्णय सुनाउँछिन् । श्रीमान–श्रीमतीबीचमा समझदारी देखिए पनि बच्चा नजन्माएको विषयले गाउँसमाजमा सहिनसक्नुहुन्छ ।

गाउँमा अचानक यौनिक तथा लैगिंक अल्पसंख्यक अधिकारसम्बन्धी काम गर्ने व्यक्ति गाउँमा आइपुग्छन् । उर्मिलाले श्रीमानलाई सहर जान सुझाउँछिन् । उसले पनि आफ्नो दुःख बिर्सन गाउँ छोड्छ । सहरमा यौनिक तथा लैगिंक अल्पसंख्यक अधिकारसम्बन्धी यौन शिक्षा दिँदै हिँड्दा प्रहरीले पक्राउ गर्छन् । त्यहाँ उनको द्विलिंगी (महिला र पुरुष दुवैप्रति आकर्षित हुने पुरुष) प्रहरी इन्स्पेक्टरसँग भेट हुन्छ । इन्स्पेक्टरले सुरुमा तिलकलाई सहयोगीका रूपमा आफ्नो क्वार्टरमा राख्छन् । विस्तारै उनीहरूबीच प्रेम हुन्छ ।

यही बेला तिलकले इन्स्पेक्टर प्रेमीसँग आफ्नो श्रीमतीलाई गर्भवती बनाइदिन सहयोग माग्छ । सुरुमा मान्दैनन् । परिवार र समाजको इज्जत धान्नकै लागी बिन्ति बिसाएपछि मान्छन् । गाउँ गएर तिलकले आफ्नी श्रीमतीलाई यो प्रस्ताव राख्छन् उनले पनि मान्दिनन् । तर सामाजिक प्रतिष्ठाकै लागि उनीहरु तयार हुन्छन् । ‘यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायका मानिसहरुलाई इच्छाविपरीत विवाह गराइँदिदा उनीहरुसँग जोडिएर आउने महिला वा पुरुषलाई पनि समस्यामा पार्छ, यो फिल्मले समस्या देखाएर मन्थन गर्ने जिम्मा दर्शकलाई छोडिदिएको छ,’ चलचित्रका उत्पादक तथा निर्देशक सुनीलबाबु पन्तले भने ।

समलिंगी पुरुष तिलकलाई मुख्य पात्र बनाइए पनि उनीसँग विवाह भएकी महिला नै झनै शोषणमा परेको देखिन्छ । उनले इज्जत प्रतिष्ठालाई धान्न पतिप्रेम, शारीरिक इच्छा दबाइन् । उनलाई बच्चा जन्माउनकै लागि आफ्नो शरीरमाथिको अधिकार र आत्मसम्मान गुमाउन बाध्य पारियो । ३९ मिनेटको चलचित्रको सिनेमेटोग्राफी सामान्य छ, तर यसले दिने सामाजिक सन्देशले इच्छाविपरीतका विवाहमाथि विमर्शलाई अगाडि बढाएको छ ।

निर्देशक पन्त आफैं समलिंगी पुरुष हुन् । गोरखामा जन्मिएका उनले यौनिक तथा लैगिंक अल्पसंख्यकहरुलाई समाजमा खुल्न सहयोग गरे । २३ वर्षअघि नीलहिरा समाजको स्थापना गरेर यो समुदायको बारेमा जनचेतना जगाउने, हक अधिकार प्रवर्द्धनका काम गरे । सामाजिक अभियान र अधिकारक्षेत्रमा अग्रपंक्तिमा रहेर काम गरे । उनी २०६४ सालको संविधानसभामा गोरखाबाट समानुपातिकतर्फ संविधानसभा सदस्य हुन् । केही वर्ष भिक्षु भएर बिताए ।

चलचित्रको माध्यमबाट उनी फेरि यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायको हकअधिकारको अभियानमै फर्किएका छन् । एक महिनाअघि रिलिज भएको चलचित्रको स्क्रिप्ट उनले २३ वर्षअघि नै लेखेका थिए । ‘आधा जति कथा त मेरै अनुभवसँग सम्बन्धित छ,’ उनी भन्छन्, ‘आज पनि यो समुदायले इच्छाविपरीत विवाह गर्नुपरिरहेको छ, चलचित्रको माध्यमबाट सन्देश पुर्‍याउन सहज सहज हुने ठानेर यता लागेको छु ।’ यो चलचित्र उनले विद्यालय, संघसंस्थाहरुमा निशुल्क प्रदर्शनका लागि उपलब्ध गराउने बताए ।

प्रकाशित : चैत्र ७, २०७९ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?