वात्स्यायन र वैरागी काइँलालाई नागरिक अभिनन्दन

पोखरा‚ सुनसरी — पोखरामा कार्टुनिस्ट दुर्गा बराल ‘वात्स्यायन’ र धरानमा कवि वैरागी काइँला (तिलविक्रम नेम्वाङ) लाई शनिबार रथारोहणका साथ नागरिक अभिनन्दन गरिएको छ । बराललाई ८० वर्ष पूरा भएको अवसरमा पोखरेली युवा सांस्कृतिक परिवारको नेतृत्वमा तीन दर्जन वाङ्मयिक तथा सामाजिक संघसंस्थाले अभिनन्दन गरेका हुन् ।

वात्स्यायन र वैरागी काइँलालाई नागरिक अभिनन्दन

पोखरामा शनिबार नागरिक अभिनन्दनका क्रममा वरिष्ठ कार्टुनिस्ट दुर्गा बराल ‘वात्स्यायन’ र उनकी श्रीमती पार्वती (बायाँ) र धरानमा शनिबार वैरागी काइँलालाई अभिनन्दन गर्दै कोशी प्रदेश प्रमुख परशुराम खापुङ । तस्बिर : कान्तिपुर

काइँलालाई कविता–काव्य एवं याक्थुङ मुन्धुमको खोज–अन्वेषण तथा लेखन, सम्पादन, अनुवाद क्षेत्रमा पुर्‍याएको योगदानबापत नागरिक अभिनन्दन गरिएको हो ।

पोखरामा नदीपुरस्थित वात्स्यायनको घरबाट सुरु भएको रथयात्रा बगर, बागबजार हुँदै विन्ध्यवासिनी मन्दिरमा पुगेर अभिनन्दन समारोहमा परिणत भएको थियो । बाजागाजासहितको रथयात्रालाई स्थानीयले घरघर अघि फूल र घडाले स्वागत गरेका थिए । समारोहमा पोखरा महानगरसहित विभिन्न संघसंस्थाले सम्मानपत्रले सम्मान गरे । अभिनन्दन समारोहमा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले वात्स्यायनलाई व्यंग्यचित्रका वादशाहको उपमा दिए । ‘समाजका विकृति र विसंगति, राजनीतिका विकृति र विसंगतिको विरुद्धमा कार्टुनको माध्यमबाट कसैले युद्ध छेडेका छन् भने त्यो वात्स्यायनले छेडेका छन्,’ उनले भने, ‘प्रजातन्त्र प्राप्तिको इतिहासमा कार्टुनको माध्यमबाट उनले जति योगदान अरूले पुर्‍याएका छैनन् ।’ पोखरालाई पानी रंगको पाठशालाका रूपमा स्थापित गर्न वात्स्यायनको योगदानको उनले चर्चा गरे ।

साहित्यकार सरुभक्तले वात्स्यायन कलाक्षेत्रमा निरन्तर साधनाले ऋषित्व प्राप्त गरको व्यक्ति भएको बताए । ‘उनी चित्रकला जगत्का मूर्धन्य कलाकार हुन्,’ उनले भने, ‘अहिले अन्य कलाकारका व्यंग्य चित्रमा पनि वात्स्यायनको प्रभाव देखिन्छ ।’ वात्स्यायनलाई उनले पोखरामा जन्मिएका विश्वस्तरीय कलाकारको संज्ञा दिए । समारोहमा वात्स्यायनले चित्रकलाका सुरुआती दिनदेखिका आफ्ना संघर्ष गाथा सुनाए । उनले काठमाडौंबाट पोखरा फर्किएर इगल आई आर्ट स्टुडियो खोल्नु सम्पूर्ण कलायात्राको ‘टर्निङ प्वाइन्ट’ भएको उल्लेख गरे । अभिनन्दनले आफूलाई थप जिम्मेवारीबोध गराएको बताउँदै सक्ने अवस्थासम्म कला सिर्जनालाई निरन्तरता दिने उल्लेख गरे । उनले भने, ‘पोखराले गर्दा सबैथोक पाएँ । यहाँ हुँदा आफ्नै आमाको काखमा भएको महसुस हुन्छ ।’

कला क्षेत्रमा पुर्‍याएको योगदानका लागि वात्स्यायन शिरोमणि पुरस्कार, नारायणबहादुर सिंह स्मृति पुरस्कार, प्रबल गोरखा दक्षिण बाहु चौथो, हाँस्ने पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, बासुदेव लुइँटेल पुरस्कार, बीपी पत्रकारिता पुरस्कार, जगदम्बाश्री, अरनिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मानलगायतबाट पुरस्कृत भइसकेका छन् । उनले चारवटा एकल चित्रकला प्रदर्शनी गरिसकेका छन् । उनको पुस्तक ‘वात्स्यायन एन्ड हिज बार्ब्स’ प्रकाशित छ । कान्तिपुर दैनिकको शनिबारीय परिशिष्टांक कोसेलीमा उनको कार्टुन स्तम्भ ‘बसिबियाँलो’ चर्चित छ । २० वर्षको उमेरमा काठमाडौंको नयाँ सन्देश साप्ताहिकबाट कार्टुन बनाउन सुरु गरेका उनले राष्ट्रपुकार, प्रांगण, मातृभूमि, सुरुचि, देशान्तर, गोरखापत्रमा काम गरिसकेका छन् । भारत, जापान, बंगलादेश, इटाली, स्विट्जरल्यान्डलगायत देशमा उनका कला प्रदर्शनी भइसकेका छन् ।

यस्तै, नेपाली कविताका शिखर–साधक वैरागी काइँलालाई धरानको सैनिक भवनमा अभिनन्दन गर्नुअघि रथारोहणका साथ नगरपरिक्रमा गरिएको थियो । याक्थुङ लिम्बू समुदायका मुन्धुमविद्समेत रहेका काइँलाको अभिनन्दनमा मौलिक याक्थुङ समुदायको येवा–फेदाङ्मा–साम्बा, महिला समूहको नौमती बाजा, किरात याक्थुङ चुम्लुङको च्याब्रुङ, किरात राई यायोक्खाको साकेला, तामाङ घेदुङको सेलो र डम्फु, नेवारी समुदायको धिमे बाजागाजासहित सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।

काइँलालाई कोशी प्रदेश प्रमुख परशुराम खापुङले ताम्रपत्र, दोसल्ला ओढाएर अभिनन्दन गरेका थिए । आयोजक नेपाली प्रतिभा प्रतिष्ठान बेलायत प्रतिष्ठानका महासचिव देवेन्द्र खेरेसले भने, ‘वैरागी काइँलाले नेपाली काव्य साहित्यमा आयामेली कविका रूपमा प्रसिद्ध र दार्जिलिङमा रहँदा इन्द्रबहादुर राई र ईश्वर वल्लभसँग मिलेर नेपाली साहित्यमा तेस्रो आयाम नामक आयामेली आन्दोलनमार्फत साहित्यजगत्मा नयाँ युगको सुरुआत गर्नुका साथै विशिष्ट रचनाशैलीका कारण नेपाली कविता–काव्यका फाँटमा पृथक् परिचय निर्माण गर्नुभएकाले अभिनन्दन गरेका हौं ।’

समारोहमा लेखक, समालोचक गोविन्दराज भट्टराईले नवीनताको आविस्कार गर्ने क्रममा वैरागीले कतिपय लिम्बू शब्दले बोक्ने बिम्ब प्रयोग गरेको उल्लेख गरे । ‘उहाँले लिम्बू मिथक र मुन्धुम कथा प्रयोग गर्नुभएको छ,’ उनले भने, ‘एकार्थी साहित्य सिद्धान्त चेतनाले ढाकेको नेपालमा साहित्यकारमा उहाँ बहुलवादका प्रथम प्रणेता र प्रयोगधर्मी हुनुहुन्छ ।’ समालोचक भट्टराईले काइँलालाई नेपाली समाजले एक प्रतिरोधी स्वतन्त्रताका पक्षधर योद्धाका रूपमा चिनेको र जातीय र भाषिक विभेदविरुद्ध उठेर राष्ट्रिय अभियन्ताको पहिचान बनाइसकेका स्रष्टा भएको बताए । उनले भने, ‘नवचिन्तनका आधार र एथ्निक संस्कृतिको रक्षार्थ उनले अतुलनीय योगदान दिएका छन् । अर्को कुरा, उनले नै प्रयोगशीलताको आरम्भ गरे । आज आयामेली साहित्य थाम्ने काइँला मात्र छन् ।’

प्रकाशित : चैत्र ५, २०७९ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?