धरानमा बैरागी काइँलालाई अभिनन्दन

गायक दीप श्रेष्ठ सम्मानित, कवि सुदीप पाख्रिन पुरस्कृत
प्रदीप मेन्याङ्बो

सुनसरी — नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले नेपाली संस्कृतिकर्मी एवं प्रसिद्ध कवि बैरागी काइँला (तिलविक्रम नेम्वाङ) लाई धरानमा अभिनन्दन गरेको छ । धरानको सैनिक भवनमा शनिबार अभिनन्दन गर्नुअघि उनलाई रथारोहणका साथ नगरपरिक्रमा गरिएको थियो ।

धरानमा बैरागी काइँलालाई अभिनन्दन

याक्थुङ लिम्बू समुदायका मुन्धुमविद् समेत रहेका काइँलाको अभिनन्दनमा मौलिक याक्थुङ समुदायको येवा–फेदाङ्मा–साम्बा, महिला समूहको नौमती बाजा, किरात याक्थुङ चुम्लुङको च्याब्रुङ, किरात राई यायोक्खाको साकेला, तामाङ घेदुङको सेलो र डम्फु, नेवारी समुदायको धिमे बाजागाजासहित सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपतिसमेत रहेका काइँलालाई कविता–काव्य एवम् याक्थुङ मुन्धुमको खोज–अन्वेषण तथा लेखन, सम्पादन, अनुवाद क्षेत्रमा दिएको अतुलनीय योगदान वापत नागरिक अभिनन्दन गरिएको प्रतिभा प्रतिष्ठान बेलायतका अध्यक्ष अध्यक्ष गणेश राईले बताए ।

काइँलालाई कोशी प्रदेश प्रमुख परशुराम खापुङले आँखीझ्यालमा सजिएको ताम्रपत्र, दोशल्ला ओढाएर अभिनन्दन गरेका थिए । प्रतिष्ठानका महासचिव देवेन्द्र खेरेसले भने, ‘बैरागी काइँला नेपाली काव्यसाहित्यमा आयामेली कविका रूपमा प्रसिद्ध भएको, र दार्जिलिङमा रहँदा इन्द्रबहादर राई र ईश्वर वल्लभसँग मिलेर नेपाली साहित्यमा ‘तेस्रो आयाम’ नामक आयामेली आन्दोलनमार्फत साहित्यजगतमा नयाँ युगको सुरुआत गर्नुका साथै विशिष्ट रचनाशैलीका कारण नेपाली कविता–काव्यका फाँटमा पृथक परिचय निर्माण गर्नुभएकाले अभिनन्दन गरेको हौं ।’

काइँलाका कविता–काव्य विधातर्फ ‘बैरागी काइँलाका कविताहरू’ र ‘अन्धा मान्छेहरू र हात्ती’ गरी दुई कविताकृति प्रकाशित छन् । काइँलाको जन्म वि.सं. १९९६ साउन २५ गते बुधबारका दिन पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकामा भएको थियो ।

नेपाली वाङ्मय जगतका विशिष्ट प्रतिभा काइँला कविता–काव्य तथा मुन्धुमका क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानवापत साझा पुरस्कार, गोरखा दक्षिणबाहु, रत्न–शोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार, जगदम्बाश्री पुरस्कार, राष्ट्रिय कलाश्री सम्मान, आदिवासी गीति सम्मान, हरिहर शास्त्री–सावित्रीदेवी साहित्य पुरस्कार, युगकवि सिद्धिचरण पुरस्कार, प्रतिभा सम्मान, धरणीधर स्मृति पुरस्कार आदि सम्मान र पुरस्कारद्वारा सम्मानित तथा पुरस्कृत भइसकेका छन् ।

समारोहमा अभिनन्दित काइँलाले नेपाली कवितामा पुर्‍याएको योगदानबारे लेखक समालोचक प्राडा गोविन्दराज भट्टराईले बोलेका थिए । ‘नविनताको आविस्कार गर्ने क्रममा बैरागीले कतिपय लिम्बू शव्दले बोक्ने विम्ब प्रयोग गरेका छन् । लिम्बु मिथक र मुन्धुम कथा प्रयोग गरेका छन् । एकार्थी साहित्य सिद्धान्त चेतनाले ढाकेको नेपालमा साहित्यकारमा बहुलवादका प्रथम प्रणेता र प्रयोगक्ता हुन् उनी,’ भट्टराईले भनेका थिए ।

अभिनन्दित काइँलाले भने आफूले जीवनमा खासै गतिलो कुनै काम नगरेर आयामेली कविता र मुन्धुम संकलन सम्पादन र प्रकाशन गर्ने काम मात्र गरेको बताए । ‘मैले इश्वर बल्लभ, इन्द्रबहादुर राईसँग मिलेर आयामेली कविता लेखें । त्यसपछि येवा, फेदाङ्माले बाचन गरेका मुन्धुम संकलन, सम्पादन र प्रकाशन गरें । मैले गरेको त्यति नै मात्र हो,’ काइँलाले भनेका थिए ।

यस अवसरमा गायक दीप श्रेष्ठलाई ताम्रपत्रसहित नगद ५० हजार रुपैयाँको प्रतिभा सम्मान र कवि सुदीप पाख्रिनलाई ताम्रपत्रसहित नगद १ लाख रुपैयाँको प्रतिभा पुरस्कार प्रदान गरिएको थियो ।

गायक श्रेष्ठको बारेमा शिव शंकर थापाले बोलेका थिए भने कवि पाख्रिनका बारेमा कवि बम देवानले बोलेका थिए । समारोमामा झापा, मोरङ, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ र उपत्यकाका करिब तीन सय लेखक तथा साहित्यकारहरुको जमघट भएको थियो ।

प्रकाशित : चैत्र ४, २०७९ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?