कान्तिपुरकर्मी नेपालसहित चारलाई सम्मान र पुरस्कार


काठमाडौँ — साहित्यिक पत्रकार संघले आफ्नो ५० औं वार्षिकोत्सवमा कान्तिपुरकर्मी पारसप्रकाश नेपालसहित पुस्तक सम्पादनमा क्रियाशील चार जनालाई सम्मान र पुरस्कार प्रदान गरेको छ ।

राजधानीमा बुधबार आयोजित समारोहमा संघले पुस्तक सम्पादन (कपी एडिटिङ) मा योगदानका लागि प्राध्यापक डा लक्ष्मणप्रसाद गौतम र विमल भौकाजीलाई ‘सापस स्वर्ण महोत्सव सम्पादन विशिष्ट सम्मान’ प्रदान गरेको हो । त्यस्तै, कान्तिपुरका प्रमुख उपसम्पादक नेपाललाई ११ हजार रुपैयाँसहितको ‘सापस स्वर्ण महोत्सव सम्पादन पुरस्कार’ र पत्रकार रोयल आचार्यलाई ५ हजार ५ सय रुपैयाँ रहेको ‘सापस स्वर्ण महोत्सव सम्पादन युवा पुरस्कार’ अर्पण गरियो ।
सम्मान र पुरस्कार नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई र संघका अध्यक्ष राधेश्याम लेकालीले हस्तान्तरण गरेका थिए । उपकुलपति राईले जहिले पनि छायामा पर्ने कपी एडिटरहरुलाई सम्मानित तथा पुरस्कृत गर्नु प्रशंसनीय कार्य भएको बताए । संघ अध्यक्ष लेकालीले सधैं नेपथ्यमा बसेर काम गर्ने कपी एडिटरहरूको योगदानको औपचारिक कदर गर्ने कार्यको थालनी गरेको सुनाए । प्राडा गौतमले गुणग्राहिता मर्दै गएको समाजमा साहित्यिक पत्रकार संघले कपी एडिटरहरूलाई सम्मानित–पुरस्कृत गर्ने परम्परा बसाउनु उदाहरणीय रहेको टिप्पणी गरे ।
समारोहमा साहित्यकारहरू पद्मावती सिंह, हिरण्यकुमारी पाठक, विश्वविमोहन श्रेष्ठ, श्रीओम श्रेष्ठ रोदन, नरेन्द्रबहादुर श्रेष्ठ, प्रद्युम्न जोशी, ठाकुर बेल्वासे, मधु पाठक लगायतको उपस्थिति थियो ।
प्रकाशित : चैत्र २, २०७९ ११:२०