नोबेल विजेता साहित्यकार केन्जाबुरो ओएको निधन- साहित्य/विविध - कान्तिपुर समाचार

नोबेल विजेता साहित्यकार केन्जाबुरो ओएको निधन

कान्तिपुर संवाददाता

काठमाडौँ — नोबेल पुरस्कार विजेता साहित्यकार केन्जाबुरो ओएको निधन भएको छ । सन् १९९४ मा नोबेल साहित्य पुरस्कार विजेता ओएको गत मार्च ३ मा ८८ वर्षको उमेरमा निधन भएको हो । उनको निधन १० दिनअघि भए पनि सोमबार मात्र प्रकाशक कोदान्साले सार्वजनिक गरेको हो । 

काव्यात्मक शक्तिका साथ काल्पनिक संसार निर्माण र जीवन र मिथकको प्रयोग गरी आजको मानव दुर्दशाको एक चिन्ताजनक तस्बिर चित्रण गरेको भन्दै उनलाई नोबेल कमिटीले नोबेल पुरस्कार दिएको थियो । उनी नोबेल साहित्य पुरस्कार पाउने दोस्रो जापानी लेखक हुन् ।

उनीअघि सन् १९६८ मा कावाबाता यासुनारीले उक्त पुरस्कार पाएका थिए । पछिल्लो पटक भने सन् २०१७ मा लेखक काजुओ इसिगुरोले नोबेल साहित्य पुरस्कार पाएका थिए ।

केन्जाबुरो ओएका कथा र निबन्धमा सैन्यवाद र निशस्त्रीकरणदेखि निर्दोषता र मानसिक आघातसम्मका विषय समावेश छन् । ओएले सन् १९५७ मा टोक्यो विश्वविद्यालयमा फ्रान्सेली साहित्य अध्ययन सुरु गरेका थिए । त्यसपछि उनले छोटा कथाहरू प्रकाशन गरेका थिए । सन् १९५८ मा उनको 'द क्याच' ले अकुतागावा पुरस्कार पाएको थियो ।

उनी सधैं युद्ध र जापानी राष्ट्रवादको पुनर्जागरणको विरोधमा थिए । उनी पूर्वप्रधानमन्त्री सिन्जो आबेको 'सेल्फ डिफेन्स फोर्स' को संविधान संशोधनको योजनाको पनि चर्को आलोचक थिए । 'डेथ बाइ वाटर', 'अ हिलिङ फेमिली', 'निप द बड्स, सुट द किड्स', 'द साइलेन्ट क्राइ' लगायत उनका चर्चित कृति हुन् ।

प्रकाशित : फाल्गुन २९, २०७९ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्

अरुणमा पुलको विकल्प फेरी

अरुण नदी तर्न र सामान ओसारपसार गर्न झोलुंगे पुलभन्दा फेरी उपयोगी भएको छ । तर हिउँदमा मात्रै चल्नाले वर्षामा सकस नै छ । पक्की पुल भएको खण्डमा स्थायी समाधान हुने स्थानीयको अपेक्षा ।
रमेशचन्द्र अधिकारी

भोजपुर, दिङ्ला — १२ वर्षसम्म पुलको पर्खाइमा रहेका भोजपुरको उत्तरी क्षेत्रका बासिन्दाले अरुण नदीमा फेरी सञ्चालनपछि केही राहत महसुस गरेका छन् । अरुण नदीको लम्सुवाघाटमा २०६७ सालमा थालिएको पुल अलपत्र बनेपछि झोलुंगे पुलको भरमा आउजाउ गर्दै अत्यावश्यक वस्तु वारपार गर्नुपर्ने बाध्यता थियो ।

दुई वर्षदेखि षडानन्द र खाँदबारी नगरपालिकाको बीचमा रहेको अरुण नदीको सतीघाटमा फेरी सञ्चालनमा आएपछि उत्तरी क्षेत्रमा पर्ने दिङ्लावासीलाई सजिलो भएको हो । षडानन्द नगरपालिकाको ३५ लाख र प्रदेश तथा संघीय सरकारको ६८ लाख गरी १ करोड ३ लाख बजेटमा फेरी सञ्चालनमा आएको नगरपालिकाले जनाएको छ ।

फेरीले एकै पटकमा चार वटासम्म सवारी साधन तार्ने गर्छ । फैरीबाट दैनिक ५० वटाजति सानाठूला सवारी साधन तार्ने गरिएको छ । पक्की पुल निर्माण अन्योल बनेपछि फेरीबाट सवारी तथा ढुवानी साधन साथै दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री, कृषि तथा नगदेबाली ओसारपसारमा सहज बनेको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र उदास बताउँछन् ।

‘फेरी सञ्चालन भएको स्थान नजिकै झोलुङ्गे पुल रहे पनि विगतमा अत्यावश्यक वस्तु ओसारपसार गर्न समस्या थियो,’ उनले भने, ‘फेरीले कम्तीमा हिउँद याममा भए पनि राहत दिएको छ ।’


फेरी सञ्चालनपछि षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका लगायत भोजपुर उत्तरी क्षेत्रका कम्तीमा ७० हजार स्थानीयवासी लाभांवित बनेको स्थानीय जनप्रतिनिधिहरूको भनाइ छ । तर, फेरी १२ महिनाभर उपयोगी बन्न नसक्दा वर्षायाममा कष्ट भोग्नुपर्ने स्थानीय तीर्थ चापागाईँ बताउँछन् । उनी भन्छन्, ‘फेरी अल्पकालीन समाधान मात्र रहेकोले दीर्घकालीन समाधानका लागि अरुणमा मोटरेबल पुल अनिवार्य छ ।’ लम्सुवाघाटमा २०६७ सालमा निर्माण थालिएको पुल अन्योल अवस्थामा छाडिएपछि पुलको अन्य विकल्प हुनुपर्ने उनको भनाइ छ ।


वर्षमा कम्तीमा सात महिना भए पनि फेरी मार्फत स्थानीयवासीले राहत पाउने गरेको षडानन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भण्डारीले बताए । लम्सुवाघाटको निर्माणाधीन पुल नबन्ने भएपछि अरुण नदीको कात्तीकेघाटमा पनि निर्माण सुरु गरिएको उनले बताए । उक्त पुल आगामी एक वर्षभित्र निर्माण सम्पन्न हुने उनको भनाइ छ । यस्तै, तुम्लिङटार र फालिकोट जोड्ने अरुण नदीको तुर्केघाटमा पनि मोटरेबल पुल निर्माणको लागि टेन्डर आह्वान गरिएको भट्टराईले जानकारी दिए । तर उक्त स्थानमा पाँच र तीन महिना पहिले टेन्डर आह्वान गरिए पनि पुल निर्माणका लागि कुनै टेन्डर नपर्दा ढिलाइ भएको उनको तर्क छ ।


प्रकाशित : फाल्गुन २९, २०७९ १६:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×