आश्विनीका चित्र किताब र प्रदर्शनीमा- साहित्य/विविध - कान्तिपुर समाचार

आश्विनीका चित्र किताब र प्रदर्शनीमा

कान्तिपुर संवाददाता

काठमाडौँ — १० वर्षीया आश्विनी मानन्धरका कथा र चित्रमा सजिएको किताब ‘पिरामिडमा पाण्डा’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा उनको चित्र कथाको किताब 'पिरामिड र पाण्डा' सार्वजनिक गरिएको हो ।

आश्विनी काठमाडौंको छाउनीस्थित मैत्री स्कुलमा कक्षा ३ मा अध्ययनरत छिन् । उनले बुबा कार्टुनिस्ट रविन्द्र मानन्धरको प्रेरणाले चित्र कोर्न थालेकी हुन् । कथामा चीनको पाण्डा इजिप्ट घुम्न जाँदाको रमाइलो कुरालाई उनले कथा र चित्रमा उतारेकी छन् ।


किताब ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमणि हर्तम्छाली, पूर्वकुलपति केके कर्माचार्य, बाल वाङ्मयका तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधान, मैत्री स्कुलका प्रधानाध्यापक ओजेश बज्राचार्य, कार्टुनिस्ट अविन श्रेष्ठ लगायतले सार्वजनिक गरेका थिए ।


पुस्तक विमोचन कार्यक्रममा बोल्दै वरिष्ठ कार्टुनिस्ट अविन श्रेष्ठले बाल प्रतिभा घर घरमा हुने भएपनि त्यसलाई भविष्यमा एकनासले लगिरहन अभिभावक र घरको वातावरण महत्त्वपूर्ण हुने बताए ।


त्यस्तै, बाल इतिहासकार प्रमोद प्रधानले अहिलेको समयमा प्रविधिको प्रयोग व्यापक रूपमा बढेको तर बालबालिकाको हुर्काईमा अभिभावकहरुको भूमिका उदासिन रहेको औंल्याए । बाल प्रतिभाको मलजलका लागि अभिभावक नै पहिला जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो ।


‘पिरामिडमा पाण्डा’ १६ पृष्ठको रंगिन पुस्तक हो । विवेक सिर्जनशील प्रकाशनले बजारमा ल्याएको यस किताबको बजार मूल्य १५० रूपैयाँ रहेको छ ।


सोही अवसरमा आश्विनीका चित्रकलाहरु पनि प्रदर्शनीमा राखिएको छ । चित्रकलाहरु शनिबारसम्म प्रदर्शनीमा राखिने आश्विनीका बुबा रविन्द्र मानन्धरले बताए ।






प्रकाशित : फाल्गुन २६, २०७९ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्

अटोरिक्सा निकालिदिने भन्दै आफ्नै नाममा पास गर्ने महिला पक्राउ

सुरेश विकको जायजेथा जग्गा धितो राखेर अटोरिक्सा किनिदिने भन्दै आफ्नै नाममा जग्गा पास गरेको खुलेपछि शुक्रबार कावासोतीकी लीला खत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
नारायण शर्मा

पूर्वी नवलपरासी — जग्गा धितो राखेर अटो रिक्सा किन्न खोजेका पूर्वी नवलपरासीको कावासोतीका एक युवक ठगिएका छन् । धितो राखेर अटो निकालिदिने भन्दै जग्गा एक महिलाले झुक्याएर आफ्नो नाममा जग्गै पास गरेको खुल्न आएको हो । 

सुरेश विकको जायजेथा जग्गा धितो राखेर अटो खरिद गर्ने भन्दै आफ्नै नाममा जग्गा पास गरेको खुलेपछि शुक्रबार कावासोतीकी लीला खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । सुरेश दैनिक ज्यालामजदुरी गरेर गुजारा चलाउँदै आएका व्यक्ति हुन् । उनी निरक्षरसमेत छन् ।

कावासोती नगरपालिका वडा नम्बर–१६, डण्डा बस्ने सुरेशको जग्गा धितो राखेर अटो निकालिदिने भन्दै लीलाले ७ धुर जग्गा आफ्नै नाममा मालपोत कार्यालय कावासोतीवाट नामसारी गरेकी हुन् । ‘सम्पत्तिको नाममा मेरो ७ धुर जग्गा थियो, सबै आफ्नो नाममा पास गरिछन्,’ सुरेशले दुःखेसो पोखे ।

आफू बेरोजगार भएकाले चिनेजानेकैलाई भन्दा अटो निकाल्न सहज हुने भन्दै आफूले लीलासँग सहयोग मागेको उनी बताउँछन् ।‘बेरोजगार भएकाले अटो निकाल्ने भनेर चिनजानकी लीला खत्रीलाई कुरा राखेँ,’ सुरेशले भने, ‘मेरो नाममा रहेको जग्गा धितो राखेर अटो निकाल्ने कुरामा सहमति भयो । मालपोत कार्यालयमा अटो खरिद गर्न ऋण निकाल्न जग्गा धितो राख्न पर्ने भनेपछि म जग्गाधनी पुर्जा र नागरिकता लिएर मालपोत गएँ । मेरो जग्गा धितो राख्न पर्नेमा ती महिलाले आफनो नाममा नामसारी गरेकी रहिछन् । मैले पढ्न जानेको छैन, विश्वा गर्दा सर्वस्व गुम्यो ।’

मालपोत कार्यालय कावासोतीका अनुसार कित्ता नम्बर १४३४ को ७ धुर जग्गा फागुन २२ गते लिलाकुमारी खत्रिको नाममा नामसारी भएको देखिन्छ । आफूले अटो नपाएपछि सम्पर्क गर्न खोज्दा महिला सम्पर्कमै नआएपछि उनले गाउँले गुहारेका थिए । छरछिमेकी र गाउँले मिलेर मालपोत कार्यालयमा बुझदा जग्गा कुनै वित्तीय संस्थामा धितो नराखी सोझै ती महिलाको नाममा पास नै गरेको खुलेको स्थानय तेजबहादुर केसीले जानकारी दिए । आफूहरुले दिएको उजुरीकै आधारमा शुक्रबार ती महिला पक्राउ परेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सन्तोष पाठकले अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

प्रकाशित : फाल्गुन २६, २०७९ १८:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×