‘अक्षर अक्षरमा देश’लाई लेखक कृति पुरस्कार- साहित्य/विविध - कान्तिपुर समाचार

‘अक्षर अक्षरमा देश’लाई लेखक कृति पुरस्कार

कान्तिपुर संवाददाता

पोखरा — साहित्यकार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ यस वर्षको लेखक कृति पुरस्कारबाट पुरस्कृत भएको छ ।

नेपाली लेखक संघ, कास्कीले शनिबार पोखरामा समीपलाई पुरस्कृत गरेको हो । पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ । संघले साहित्यकार प्राध्यापक डा. भूपति ढकाल ‘कमल’ लाई सम्मान समेत गरेको छ ।

पुरस्कार अर्पण तथा स्रष्टा सम्मान समारोहमा संघका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठले मुक्तकलाई हेपिहाल्नुपर्ने, मिचिहाल्नुपर्ने वा लेख्दैमा हिनताबोध गरिहाल्नुपर्ने विधाका रुपमा लिन नहुने बताए । उनले संघले २० लाख रुपैयाँको अक्षयकोष बनाएर राष्ट्रिय लेखक संघ पुरस्कार प्रदान गर्ने तयारीमा रहेको सुनाए । वैशाख १६ लाई लेखक दिवसका रुपमा मनाउन संघले पहल गरिरहेको जानकारी उनले दिए ।

पुरस्कृत स्रष्टा दीपक समीपले मुक्तक विधा पुरस्कृत भएकोमा खुसी व्यक्त गरे । सम्मानित स्रष्टा ढकालले लेखकले सधैं सत्तालाई खबरदारी गर्नुपर्ने विचार राखे । संघका गण्डकी प्रदेश अध्यक्ष एवं कृति छनोट समितिका संयोजक ईश्वरमणि अधिकारीले पुरस्कृत तथा सम्मानित स्रष्टाको व्यक्तित्वको चर्चा गरे । गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाएर साहित्यकर्म गरिरहेका स्रष्टालाई हरेक वर्ष पुरस्कृत गर्ने नेपाली लेखक संघ, कास्कीका अध्यक्ष सञ्जीव पौडेलले बताए ।

प्रकाशित : माघ २१, २०७९ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्

शुक्रबारदेखि अवरुद्ध कर्णाली राजमार्ग अझै खुलेन

तुलाराम पाण्डे

कालीकोट — शुक्रबार बेलुकादेखि अवरुद्ध गरिएको कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत-जुम्ला सडक अझै खुल्न सकेको छैन । हुम्ला र बाजुराको सिमानामा सामान झारेर नेपालगञ्ज जाँदै गरेको भे १ ख ३५१८ नम्बरको ट्रकले शुक्रबार बेलुका कर्णाली राजमार्गको दैलेख सिमखण्डमा ठक्कर दिँदा आठबिस नगरपालिका ४ का ५५ वर्षीय तिलक माझीको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका हुन् ।


शनिबार दिनभर नगरपालिकाको सहजीकरणमा स्थानीय र व्यसायीबीच क्षतिपूर्तिको लागि छलफल भए पनि निष्कर्षमा पुग्न नसक्दा सडक खुल्न सकेको छैन ।

स्थानीयले १४ लाख माग गरेको र व्यवसायीले नियमानुसारको क्षतिपूर्ति मात्र दिने अडान लिएपछि विवाद चुलिएको प्रहरीले जनाएको छ । ब्यवसायी नियमानुसारको ५ लाख रुपैयाँ दिन सहमत छन् । एक प्रहरी अधिकारीले भने स्थानीयले १४ लाख मागेकाले शनिबार दिनभर पनि सडक खुल्न सकेको छैन ।

सडक अवरुद्ध हुँदा सुर्खेत नेपालगञ्जबाट कालीकोट, जुम्ला, मुगु, हुम्ला, बाजुरा जाने र माथिबाट तलतिर जाने १ हजार बढी यात्रु बाटोमा अलपत्र छन् । प्रहरीले गाडी तोडफोड हुनसक्ने जनाउँदै दैलेखको पाल्ताडा र राकम खिड्कीज्यूला क्षेत्रमा गाडी रोकेको यात्रुहरूको गुनासो छ ।

शुक्रवारदेखि सडक अवरुद्ध हुँदा यात्रुवाहक र मालवाहक गरी ३ सयभन्दा बढी गाडी बाटोमै अलपत्र परेका छन् । अवरुद्ध सडक खुलाउन दैलेख प्रहरीले प्रयास गरिरहेको भए पनि स्थानीयहरू आक्रेशित भएकाले सम्भव नभएको कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले बताए । उनका अनुसार पीडित पक्षसँग क्षतिपूर्तिका लागि अन्तिम प्रयास भइरहेकाले शनिबार रातिसम्म सडक खुल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित : माघ २१, २०७९ १९:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×