कलिङ फेस्टिभलमा दुई नेपाली लेखक पुरस्कृत हुँदै



नयाँ दिल्ली — नेपालका दुई जना लेखकहरु भारतको कलिङ लिटरेरी फेस्टिवल ‘केएलएफ बुक अवार्ड’ का लागि छानिएका छन् ।
साहित्यकार रञ्जना निरौला र लेखक सुमित शर्मा उक्त अवार्डका लागि चुनिएको आयोजक संस्थाले जनाएको छ । भुवनेश्वरमा आगामी फेब्रुअरीमा हुने कलिङ लिटरेरी फेस्टिवल समारोहमा लेखकहरु पुरस्कृत हुनेछन् ।


साहित्यकार निरौलाको निबन्धसंग्रह ‘अनुभूतिको अवतरण’ तथा शर्माको ‘वेक अप अली वेक अप नाऊ’ पुस्तक उक्त अवार्डका लागि छनोटमा परेको हो । आयोजक संस्थाका निर्देशक रश्मी रञ्जन परिदाले विभिन्न विद्याका पुस्तकहरुबाट नेपाल र भारतका लेखकहरुको छनोट गरिएको बताए ।
भुवनेश्वरमा बर्सेनि कलिङ साहित्य महोत्सव हुँदै आएको छ । यसै वर्षबाट काठमाडौंमा पनि उक्त महोत्सवको आयोजना थालिएको छ । गत अक्टुबरको १५ र १६ तारीखमा काठमाडौंमा महोत्सव आयोजना भएको थियो । आगामी वर्ष सेप्टेम्बर १ देखि ३ मा काठमाडौंमा महोत्सव गरिने निर्देशक परिदाले बताए ।
फेब्रुअरीको २४, २५ र २६ तारीखमा भुवनेश्वरमा हुने महोत्सवमा भारतका लेखकहरु पनि सम्मानित हुँदैछन् ।
प्रकाशित : माघ ८, २०७९ १३:५८