मेलबर्न — कडा सट प्रहार गर्न माहिर अर्यना साबालेन्का अस्ट्रेलियन ओपन टेनिसको उपाधि जित्ने अभियानमा अन्तिम १६ तर्फ प्रवेश गरेकी छन् । शीर्ष वरीयताका अरू महिला खेलाडीहरू पनि अगाडि बढेका छन् ।
पाँचौं वरीयताकी बेलारुसकी सबालेन्काले २६ औं वरीयताकी एलिस मर्टेन्सलाई ६–२, ६–३ ले पराजित गर्दै ओलम्पिक च्याम्पियन बेलिन्डा बेन्सिचसँगको भेट पक्का गरिन् । १३ औं वरीयताकी क्यारोलिन प्लिसकोभा र २३ औं वरीयताकी झाङ सुई पनि मेलबर्न पार्कमा छैटौं दिन सोझो सेटमा जित निकाल्दै चौथो चरणमा प्रवेश गरेका छन् ।
मिन्स्कमा जन्मिएकी साबालेन्का एकल स्पर्धामा पहिलोपल्ट ग्रान्ड स्लाम उपाधि जित्ने लक्ष्यमा अगाडि बढ्नेक्रममा मार्गरेट कोर्ट एरिनामा बेल्जियन खेलाडीविरुद्ध निकै राम्रो खेल प्रदर्शन गरिन् । तर, उनले रमाइलो गरेको बताइन् ।
‘फेवरेटको बारेमा, म फेवरेटको सूचीमा थिएँ, यसको मतलब म त्यहाँ हुनु वास्तवमै राम्रो हो,’ एक सेट पनि नगुमाएकी साबालेन्काले भनिन्, ‘तर, म आफैंमा केन्द्रित छु । मेरै खेलमा ध्यान दिएकी छु । मेरो सपना पूरा गर्नेमा विश्वस्त छु ।’
बेन्सिचले पनि मेलबर्नमा कुनै पनि सेट गुमाएकी छैनन् । १२ औं वरीयताकी स्वीस खेलाडीले वरीयताविहीन इटालियन खेलाडी क्यामिला जियोर्जीलाई ६–२, ७–५ ले पराजित गरेकी हुन् । ‘साबालेन्का निकै आक्रामक र बलिया खेलाडी हुन्,’ बेन्सिचले भनिन् ।
विश्वकै पूर्वनम्बर एक प्लिसकोभाले रुसकी भारभरा ग्राचेभाको चुनौती ६–४, ६–२ ले समाप्त पार्दै चौथो चरणको यात्रा तय गरेकी हुन् । चेक गणतन्त्रकी उनले अब चिनियाँ खेलाडी झाङको सामना गर्नेछिन् । झाङले अमेरिकी खेलाडी केटी भोलिनेसलाई ६–३, ६–२ ले हराएर तेस्रो चरण पार गरेकी हुन् । चेककै १७ वर्षीया लिन्डा फ्रुभित्रोभा पनि आफ्नै देशकी मार्केटा भोन्ड्रोसोभालाई तीन सेटको प्रतिस्पर्धामा पराजित गर्दै चौथो चरणमा प्रवेश गरेकी छन् । उनले अब क्रोएसियाकी डोन्ना भेकिचको सामना गर्नेछिन् ।
पुरुषतर्फ पाँचौं वरीयताका रुसी खेलाडी आन्द्रेय रुब्लेभले अन्तिम १६ मा होल्गर रुनविरुद्ध खेल्ने भएको छ । उनले मध्यरात बेलायती खेलाडी डान इभान्सलाई ६–४, ६–२, ६–३ ले हराएर तेस्रोपल्ट चौथो चरण यात्रा तय गरेका हुन् । नवौं वरीयताका रुनले खराब प्रदर्शनबाट फर्किंदै वरीयताविहीन फ्रान्सेली खेलाडी युगो हुम्बर्टको चुनौती ६–४, ६–२, ७–६ (७/५) ले पन्छाउँदै क्वाटरफाइनल प्रवेशको लागि रुब्लेभविरुद्ध प्रतिस्पर्धा गर्ने निश्चित गरेका हुन् ।
बेलायती एन्डी मरे भने स्पेनका रोबेर्टो बोटिस्टासँग संघर्षपूर्ण खेल खेल्दै तेस्रो चरणबाट बाहिरिए । उपाधि दाबेदार सर्बियाका नोभाक जोकोभिचले बुल्गेरियन प्रतिद्वन्द्वी ग्रिगोर डिमिट्रोभलाई ७–६ (९/७), ६–३, ६–४ ले हराएर अन्तिम १६ मा स्थान बनाए ।
प्रकाशित : माघ ७, २०७९ २०:४३