पद्मश्री विजेता लेखक लामा दमकमा



दमक — भारतीय लेखक एवं साहित्यका लागि प्रतिष्ठित पद्मश्री विजेता सानु लामाले नेपाली भाषाको विस्तार तथा साहित्यिक आदानप्रदानले नेपाल, भारतसहित विश्वभरका नेपालीका शिर उचो बनाउने काम गरेको बताएका छन् ।


दमकमा आयोजित एक साहित्यिक समारोहमा सिक्किमेली कवि, लेखकको टोली लिएर सहभागी हुन आएका लामाले सिक्किममा रहेका नेपालीहरू पनि नेपालबाटै गएको र नेपाली भाषीको प्रभाव तथा पहुँचकै कारण भारतमा नेपाली भाषाले संवैधानिक मान्यता पाएको बताए । ८४ वर्षीय लेखक लामाले सिक्किममा समेत नेपाली भाषाले सरकारी कामकाजको भाषिक मान्यता पाइसकेको बताए । नेपाली भाषा साहित्यमा गरेको योगदानका लागि सन् २००५ मा लामाले पद्मश्री पाएका थिए । उनले ‘मृगतृष्णा’ कथा संग्रहका लागि सन् १९९३ मा साहित्य अकादमी पुरस्कार पाएका थिए ।
दमकस्थित सेर्गेम प्रकाशन गृहको आयोजनामा शनिबार सम्पन्न समारोहमा समालोचक डा. गोविन्दराज भट्टराईले लेखक सानु लामाजस्ता साहित्यिक स्रष्टाका कारण भाषा साहित्यको प्रवद्र्धन तथा उन्नयन भइरहेको टिप्पणी गरे । ‘राजनीतिक भूगोल वा सिमानाभन्दा पर साहित्यले हामीलाई कसरी एकअर्कामा जोड्नसक्छ भन्ने उदाहरण समेत हुनुहुन्छ सानु लामा’, भट्टराईले भने‚ ‘हामीले दार्जिलिङ, सिक्किम, आसामसहितका भारतका नेपालीभाषी क्षेत्रबाट यसैगरी साहित्यिक स्रष्टाहरूलाई निम्तो गर्ने र साहित्यिक जमघट गर्ने अभियान थालेका छौँ, यो क्रमलाई निरन्तरता दिनेछौँ ।’