गौरादहमा उनिएको भीरगौंडीको माला - साहित्य/विविध - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गौरादहमा उनिएको भीरगौंडीको माला 

कान्तिपुर संवाददाता

काठमाडौँ — ओत लाग्ने छानो र टेक्ने जमिन जुटाउनै एउटा जीवन खर्च गर्नुपर्ने भूमिहीन सन्थाल जातिमाथि शनिबार काठमाडौंमा विमर्श गरियो ।

सुदूरपूर्वी नेपालको सीमान्तकृत सन्थाल जातिको सामाजिक परिवेशमा लेखिएको उपन्यास ‘आतोओडा’ शनिबार काठमाडौंको मण्डला थिएटरमा विमोचन भएको छ । किताबले सन्थालहरुको जीवनसंघर्ष, दुःखको कथा भन्छ र उपन्यासका पात्र सन्थाल भाषामै संवाद गर्छन् ।

आख्यानकार नारायण ढकाल, महेशविक्रम शाह, समालोचक विन्दु शर्मा र उपन्यासकी लेखक जानुका खतिवडाले किताब संयुक्त रुपमा विमोचन गरे ।

‘आतोओडा’ अर्थात् गाउँबस्ती । सन्थालका गाउँबस्ती, उनीहरुका सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक अवस्था र मनोविज्ञानको विभिन्न पक्षमा केन्द्रित उपन्यासका पात्रहरुको सम्झना गरिन् लेखक जानुका खतिवडाले । उनको सम्झनामा आइरहेका थिए, गौरादहका सीमान्तकृत सन्थाल फूलमुनी, बुधिन, तुरसा, लुखी । खतिवडाले उपन्यासमा तिनैको जीवन कथा, सन्थाल गाउँबस्तीको भाषा, लवाइखवाइ र दैनिक व्यवहार लेखेकी छन् ।

‘म गौरादहमा भीरगौंडीको माला उन्न चाहन्थें, त्यसैले सन्थालको कथातिर लागें’, खतिवडाले भनिन् । भीरगौंडीको अर्थ हुन्छ, मकैका जस्ता पात र बोट हुने, सेता दाना फल्ने एक जातको बोट, जसलाई वनजुनेलो भनिन्छ ।

सन्थाल समुदायका लक्खी हेमरमहरुले नागरिकता नपाएको स्मरण उनले गरिन् । उनले सम्झिन् एक महिला, एक शिक्षिका, जो सन्थाल भाषामा सन्चालन भइरहेको स्कुल बन्द भएपछि पान दोकानमा सिमित भएकी थिइन् । ‘अधिकांश सन्थालहरुले जीवनभरि नागरिकता नपाएको दुःखले मलाई उपन्यास लेखायो’, उनले भनिन्, ‘झापा विद्रोहमा साथ दिने सन्थालरुलाई आज पहिचान र अधिकारविहिन बनाइएको छ ।’

झापा विद्रोहका सारथी सन्थालका जीवन, उनीहरुका दुःखको सम्झना काठमाडौंमा गरिरहेका थिए लेखक नारायण ढकाल । ढकालले नक्सलवादी आन्दोलनका संस्थापक जंगल सन्थालको पनि सम्झना गरे । ‘यो किताब पढेपछि केही प्रश्न उब्जिन्छन् । सन्थालहरु हामीसित किन यात्रा गरिरेहका छ्रैनन् ? झापा विद्रोहमा सघाउने ती सन्थाल अहिले राजनीतिको केन्द्रमा कहाँ छन् ? ती कसरी किनारामा पारिए ? झापा विद्रोह गर्ने हाम्रा कमरेडहरुलाई यो प्रश्न छ,’ ढकालले भने ।

‘आतोओडा’मा भुइँमान्छेका कथा लेखिएको बताए महेशविक्रम शाहले । ‘यो उपन्यासमा पुरुष पात्रभन्दा नारी पात्र सशक्त रुपमा आएका छन्, उपन्यासको शक्ति यसमा छ । सन्थाललाई राज्यले कुन हदसम्म ठगेको छ भन्ने कुरा उपन्यासमा वर्णित् सन्थालको दुःख र जीवनले भन्छ’, शाहले भने ।

सन्थाल पात्रहरुको दुर्गति, उनीहरुको तनावले किताब पढ्दा पढ्दै स्तब्ध बनेको बताइन् विन्दु शर्माले । ‘निकै ठाउँ रोकिएँ र रोकिँदै पढिरहेँ’, उनले भनिन्, ‘यो नेपाली उपन्यासको फूलबारीमा फुलेको सुन्दर फूल हो । समाज विकासको गतिमा नसमेटिएका समुदायको संघर्षको गाथा बनेको छ उपन्यास । उपन्यास वर्तमान राजनीतिक व्यवस्थाको छाया हो ।’ कलम प्रकाशनद्वारा प्रकाशित यो उपन्यासको मूल्य ३३५ रुपैयाँ रहेको छ ।

प्रकाशित : पुस ३०, २०७९ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्

धनकुटा महोत्सवको तयारी अन्तिम चरणमा

कान्तिपुर संवाददाता

धनकुटा — माघ ६ देखि ११ सम्म हुने प्रादेशिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं पाँचौं धनकुटा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । ‘कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, स्वरोजगार, उद्योग व्यापार समुन्नत प्रदेशको आर्थिक विकासको आधार’ महोत्सवको नारा हो ।

महोत्सवमा एकीकृत व्यापार रणनीतिमा समावेश अलैंची, अदुवा, अल्लो, ओलन, अकबरे लगायतका १९ प्रकारका कृषिजन्य उत्पादित वस्तुको प्रदर्शनी गरिने उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिए ।

महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल र समापन प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीबाट हुनेछ । महोत्सवको १ सय ८० स्टलमध्ये १ सय ३७ स्टलमा कृषि प्रदर्शनी गरिने आयोजकले जनाएको छ । हरेक दिन राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारबाट सांगीतिक प्रस्तुति दिइनेछ ।


प्रकाशित : पुस ३०, २०७९ १९:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×