कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

‘नेपाली भाषा–साहित्य अस्तित्वको संकटमा’

अनिश भट्टराई

गण्डकी — अर्थशास्त्री अच्युत वाग्लेले नेपाल लिटरेचर फेस्टिभलको विद्वत् प्रवचनमा भने, ‘बेहिचकिचाहट भन्नैपर्छ, नेपाली भाषा र सार्थक नेपाली साहित्य दुवै अस्तित्वको चरम संकटमा छन् ।’ साहित्यकै मेलामा नेपाली साहित्यकै अस्तित्व मेटिन लागेको विरोधाभासतर्फ उनले इंगित गरे ।

‘नेपाली भाषा–साहित्य अस्तित्वको संकटमा’

‘लोकगीतका देउडा, कौडा, हुड्का, टप्पा अथवा रोधी र ख्यालीका गेडीबीचको फरक खुट्याउन अहिलेको कति प्रतिशत सुपठित भनिएको युवा पुस्ता सक्षम होला र चासो राख्ला ?’ उनको प्रश्न थियो, ‘सारंगी गितारबाट प्रभावित वाद्ययन्त्र हो कि पूर्णतः मौलिक हो ? नेपाली संस्कृति र सभ्यताका यी तत्त्वहरूमाथि वर्तमान र भविष्यको पुस्ताले गर्व गरेको छ कि बेवास्ता ?’ यी प्रश्न राख्दै गर्दा नेपाली साहित्यको औचित्य पनि क्षयोन्मुख रहेको उनको चिन्ता थियो ।

नेपालको वर्तमान शिक्षा प्रणालीले अंग्रेजी भाषामा हुने अध्ययन अध्यापनलाई गुणस्तरीयको मानक मानेपछि अहिलेको अवस्था सिर्जित भएको उनको धारणा थियो ।

बिहीबारबाट पोखरामा सुरु फेस्टिभलमा वाग्लेले ‘नेपाल २०९०’ शीर्षकमा विद्वत् प्रवचन राखेका थिए । जसमा उनले नेपाली साहित्य, संस्कृति, समाज, सपना–सम्भावना, सहरीकरण, समृद्धिलगायतबारे धारणा राखेका थिए ।

फेस्टिभलको पहिलो दिन ‘घरबाट स्कुलसम्म’ शीर्षकमा मीनाक्षी दाहाल र दिनकर नेपाल सवालजवाफ गरे । दाहालले एकै विद्यालयमा पनि वर्गअनुसार कक्षाकोठामा शिक्षा लिनुपरेको अवस्था रहेको उजागर गरिन् । यसरी विद्यालयले नै वर्गीय उत्पादन गरिरहेको उनको दाबी थियो । विद्यालयले नै विभेद र वर्गीकरण गरिरहेको भन्दै उनले त्यसतर्फ नियामक निकायले ध्यान दिनुपर्ने आवश्यकता औंल्याइन् ।

फेस्टिभलमै वरिष्ठ संगीतकार गोपाल योञ्जनका गीतको प्रस्तुति राखिएको थियो । कवि नवराज पराजुलीले योञ्जनका कृति वाचन गरेका थिए भने उज्ज्वल सागर, बानिका प्रधानलगायतले योञ्जनका गीत गाए । सोही कार्यक्रममा योञ्जनका गीत संग्रह ‘गोपालय’ सार्वजनिक गरियो । फेस्टिभलको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराका लागि यो दुर्लभ अवसर भएको बताए ।

प्रकाशित : पुस ८, २०७९ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?