कर्णेल उजिरसिंह र भगवती जात्राबारेको पुस्तक सार्वजनिक

माधव अर्याल

पाल्पा — इस्ट इन्डिया कम्पनीको अंग्रेज फौजले आधुनिक हातहतियारसहित नेपालका पाँच स्थानबाट आक्रमण गर्‍यो । विक्रम सम्वत् १८७१/७२ को नेपाल–अंग्रेज युद्धमा चार स्थानमा पराजित भयो । तर पाल्पाली र इष्ट इन्डियाको फौजबीच लडाई भएको नुवाकोट–बुटवल क्षेत्रको युद्धमा भने अंग्रेज फौज पराजित भयो ।

कर्णेल उजिरसिंह र भगवती जात्राबारेको पुस्तक सार्वजनिक

दुई वर्षसम्म चलेको यो युद्धमा नुवाकोटबाट बुटवलतर्फ झरेको पाल्पाली फौजलाई परास्त गर्न चाहान्थ्यो । पाल्पाली फौजको नेतृत्व कर्णेल उजिरसिंह थापाले गरेका थिए । उनै थापाले युद्धमा जानुअघि तानसेनमा रहेको भगवती देवीको मन्दिर अगाडि अंग्रेज सेनालाई हराउने शक्ति देउ, फर्केर आएपछि तिम्रो सिन्दुर जात्रा गर्दै महिमा फैलाउने छु भनी भाकल गरेको कुरालाई इतिहासविज्ञ निर्मल श्रेष्ठले पुस्तकमा उतारेका छन् ।

इतिहासविज्ञ श्रेष्ठको पुस्तकका अनुसार सोही भाकल अनुसार नै नेपाली फौजले अंग्रेजलाई पराजित गरेको थियो । थापाले युद्ध जितेर फर्केपछि तीन तले प्यागोडा शैलीको मन्दिर बनाएर १८७६ देखि सिन्दुर जात्रा चलाएका हुन् । इतिहासविद् एवं लेखक श्रेष्ठद्वारा लिखित ‘समर सौन्दर्यका नायक कर्णेल उजिरसिंह थापा, नेपाल अंग्रेजयुद्ध र महिषासुरमर्दिनी श्री ७ रणउजिरेश्वरी भगवतीजात्रा’ नामक पुस्तक प्रकाशन गरेका हुन् ।

झन्डै ५ सय १५ पृष्ठ रहेको पुस्तकमा कर्णेल उजिरसिंह र भगवतीजात्रा लगायत नेपाल–अंग्रेज युद्धका विषयमा लेखिएको छ । १७ च्याप्टर रहेको पुस्तक उजिरसिंह, बगाले थापाको वंशावली, बृहत् नेपाल अभियान अघिको नेपाल, सेनाको पल्टनका विषयवस्तु, बृहत् नेपाल निर्माण अभियान (एकीकरण), इष्ट इन्डिय या कम्पनी, यसको बिस्तारवादी नीति, नेपाल–अंग्रेज युद्ध, सुगौली सन्धि, भगवती मन्दिर स्थापना, जात्रा, बालकन्या भगवतीका विषयमा उल्लेख गरिएको छ । विजयस्तम्भ, पुराना मुद्राको जानकारीका साथै सिंहालोकन र फोटो संकलन गरिएको इतिहासविज्ञ श्रेष्ठले बताए ।

तानसेनमा आयोजित कार्यक्रममा पुस्तक लेखकका नातिनीहरू श्रीयांशी खनाल र यशस्वी श्रेष्ठले विमोचन गरे । पुस्तकमा नेपालको इतिहास, कर्णेल उजिरसिंह थापाको योगदान तथा भगवती जात्राको बारेमा विस्तृत विषयवस्तु समेटिएको छ । ‘पुस्तक पठनीय र ऐतिहासिक दस्तावेजको रुपमा पाए,’ धवल पुस्तकालयका महासचिव राजेशकुमार अर्यालले भने, ‘यो पुस्तक पढेपछि यस क्षेत्रको इतिहास नै भेटिन्छ ।’ पुस्तकको समीक्षा गर्दै उनले मझधारमा रहेर नेपालको इतिहासलाई यथार्थपरक रुपमा प्रस्तुत गरेको बताए । धेरै इतिहासकारहरूले एकपक्षीय मात्र विषय समेट्ने गरेपनि श्रेष्ठले सत्यतथ्य केलाएको बताए ।

तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले पुस्तकले नेपाल–अंग्रेज युद्धका साथै किन भगवती जात्रा मनाइएको छ भन्ने यथार्थपरक इतिहास चित्रण गरेको बताए । ‘निरन्तरको मिहिनेत पुस्तकको आकार तयार भएको रहेछ,’ उनले भने, ‘आम पाल्पाली र नगरबासी मात्र होइन नेपाली सबैले पढ्नुपर्ने पुस्तक तयार भएको छ ।’

प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले भगवती जात्रा र कर्णेल उजिरसिंहको थापाका विषयमात्र नभएर अन्य इतिहाससमेत पुस्तमा रहेको बताए । ‘यो केबल पुस्तकमात्र छैन इतिहासको यथार्थपरक चित्रण गरिएको छ,’ उनले भने ।

भगवती मन्दिर व्यवस्थापन समितिका सचिव भीमसेन कार्कीले १० वर्षको मिहिनेतको फल निकै मिठोलागेको बताए । ‘इतिहास जान्न चाहनेहरुका लागि महत्वपूर्ण सामग्री बनेको छ,’ उनले भने, कर्णेल उजिरसिंहको महिमासहित भगवती जात्राको विषय स्पष्ट उल्लेख छ ।’ पुस्तक लेखनअघि लेखकले लामो अध्ययन् र अनु्सन्धान देखिने उनले बताए ।

नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष रेखीराम रानाले प्रकाशित पुस्तक इतिहास सम्बन्धी रुचि राख्ने लेखक र पत्रकारका लागि उपयोगी दस्तावेज भएको बताए । भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले लेखकले इतिहासलाई पुस्तकमा उतारेको बताए । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले धेरैमा जानकारी नभएको विषवस्तु पुस्तकमा समेटिएको बताए ।

प्रकाशित : मंसिर १९, २०७९ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?