कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तयार भयो ‘प्रज्ञा नेपाल भाषा-नेपाली-अंग्रेजी शब्दकोश’

काठमाडौँ — नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘प्रज्ञा नेपालभाषा–नेपाली–अंग्रेजी शब्दकोश’ प्रकाशनको तयारी गरेको छ । निर्माण समितिले प्रतिष्ठानका प्राज्ञ योगेन्द्रप्रसाद यादव र निमित्त सदस्यसचिव हेमनाथ पौडेललाई आइतबार उक्त कोशको पाण्डुलिपि बुझाएको हो । 

तयार भयो ‘प्रज्ञा नेपाल भाषा-नेपाली-अंग्रेजी शब्दकोश’

नेपालभाषा (नेवारी) शब्दकोश निर्माण संयोजक भाषाशास्त्री प्रा. तेजरत्न कंसाकार, कार्यकारी सम्पादक प्रा. ओमकारेश्वर श्रेष्ठ तथा सम्पादक सुरेशकिरण मानन्धर र रमेशकाजी स्थापित छन् । नेपाल भाषाको १० हजारभन्दा बढी मूल शब्दप्रविष्टि रहेको छ । त्यसलाई नेपाली र अंग्रेजीमा अनुवादसमेत रहेको छ । यसैगरी नेपाली–नेपालभाषा शब्दसूची, अंग्रेजी–नेपालभाषा शब्दसूचीसमेत समेटिएका छन् ।

यस शब्दकोशको निर्माणमा भाषावैज्ञानिक दृष्टिकोण नेपाल भाषामा प्रकाशित यो कोश महत्त्वपूर्ण रहेको जनाइएको छ । शब्दकोशमा सामग्री व्यवस्थापन र विश्लेषण गर्न एसआईएल इन्टरनेसनलद्वारा तयार पारिएको ‘टुलबक्स’ नामक सफ्टवेयरको प्रयोग गरिएको र यसले प्रयोगकर्तालाई सहज तुल्याउने बताइएको छ ।

मुलुकमा आएको राजनीतिक परिवर्तन, परिवेशसमेत समेटेर प्रकाशन गरिएको प्रतिष्ठानका भाषा (व्याकरण) विभागका प्रमुखसमेत रहेका प्राज्ञ यादवले जानकारी दिएका छन् । ‘यो कोश छपाउने निर्णय भइसकेको छ र डिजाइनसमेत गरिएकाले तत्काल छपाइका लागि प्रेसमा जान्छ,’ उनले भने । प्रतिष्ठानले चार दशकअघि ‘नेवारी शब्दकोश’ प्रकाशित गरेको थियो ।

नेपालभाषा मुलुकमा बोलिने मातृभाषामध्ये चिनियाँ-तिब्बती भाषापरिवारको तिब्बती-बर्मेली उपभाषापरिवारअन्तर्गत एउटा प्रमुख भाषा हो । प्राचीन र समृद्ध लेख्य परम्परा रहेको यस भाषामा शब्दकोश र व्याकरणका पर्याप्त पाठ्यसामग्रीहरू अभिलेखीकरणको रूपमा भाषा संरक्षण र सम्वर्द्धनका निमित्त विद्यमान छन् ।

‘वर्तमान परिप्रेक्ष्यमा शिक्षा, बसाइँसराई, विभिन्न भाषिक समुदायहरूबीच अन्तरक्रिया र विचारको आदान–प्रदान, विद्युतीय आमसञ्चार, समाजिक सञ्जाल, वैश्वीकरण आदि विभिन्न कारणले गर्दा अन्य भाषिक समुदायहरू जस्तै नेपाल भाषाभाषिक समुदाय पनि स्वभावत: बहुभाषिक हुन पुगेको देखिन्छ,’ प्रतिष्ठानले तीन भाषामा तयारी गरिएको कोशबारे भनेको छ, ‘मातृभाषा, सरकारी कामकाजको भाषा, सामुदायिक विद्यालयको शिक्षाको माध्यम भाषा र सम्पर्क भाषाको रूपमा नेपाली तथा वैज्ञानिक–प्राविधिक विषयको अध्ययन–अनुसन्धानलाई उपयोग तुल्याइएको छ ।’ नेपाल भाषा विद्यालय तहदेखि विश्वविद्यालयसम्म पठनपाठन हुँदै आएको छ भने विद्यावारिधि उपाधि लिनसक्ने व्यवस्था छ ।

प्रकाशित : मंसिर १८, २०७९ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?