पुरातत्वविद् रामनिवासको स्मरण

काठमाडौँ — कपिलवस्तुका पुरातात्विक सम्पदाको अध्ययन र अनुसन्धान तथा संस्कृति, पुरातत्व विषयका अध्येता, पुरातत्वविद् प्रा.डा.रामनिवास पाण्डेयको स्मरण गरिएको छ ।

पुरातत्वविद् रामनिवासको स्मरण

पाण्डेयको १९ औं स्मृति दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा बुधबार आयोजना गरिएको कार्यक्रममा संस्कृति, पुरातत्व क्षेत्रमा उनले पुर्‍याएको योगदानबारे परिचर्चा गरिएको थियो । पाण्डेयले त्रिभुवन विश्वविद्यालयको संस्कृति विभागमा प्रमुख हुँदा महत्त्वपूर्ण योगदान पुर्‍याएको प्रतिष्ठानका निवर्तमान कुलपति गंगाप्रसाद उप्रेती, निमित्त कुलपति डा. जगमान गुरुङ, निमित्त सदस्य सचिव प्रा.डा. हेमनाथ पौडेल लगायतकाले स्मरण गरे । पाण्डेयको स्मरणमा ‘कपिलवस्तुका पुरातात्विक उपलब्धिहरू’ विषयक विचार–गोष्ठी समेत गरिएको थियो ।

निवर्तमान कुलपति उप्रेतीले पाण्डेयले अवधी भाषा र संस्कृतिको प्रवर्द्धनमा विशेष भूमिका रहेको बताए । नेपालले विश्वलाई दर्शन र सभ्यताको ज्ञान दिएपनि प्रचार प्रसार गर्न नसक्दा ती दक्षिण एसियाका भनी स्थापित भएको उनले बताए । ‘हिमवत्खण्डले विश्वमा नेपालको आकर्षण बढ्यो, धेरै विदेशी आए, पुरातात्विक अन्वेषण सुरु भयो’, उनले भने,‘नेपालको गरिमाका विषयमा विश्वको ध्यानाकर्षण समेत भयो ।’

निमित्त कुलपति गुरुङले त्रिभुवन विश्वविद्यालयको संस्कृति विभागसँग मिलेर पाण्डेयका विषयमा अझै अध्ययन अनुसन्धान गरिने प्रतिबद्धता जाहेर गरे । प्रमाणका आधारमा प्राचीन कपिलवस्तु तिलौराकोटमै रहेको भन्ने प्रमाणित गर्न पाण्डेयको भूमिका महत्त्वपूर्ण रहेको उनले ठहर गरे । इशापूर्व एक हजार ३ सय वर्ष पहिलेको अवशेष कपिलवस्तुको उत्खननका बेला फेला परेकाले यसलाई पुष्टि गर्ने उनले सुनाए ।

त्रिभुवन विश्वविद्यालयमा बौद्ध दर्शन अध्ययनको सुरुवात समेत पाण्डेयले नै गराएका थिए । त्रिवि संस्कृति विभागका पूर्व प्रमुख प्रा.डा. प्रेमकुमार खत्रीले पाण्डेयले अनुसन्धानलाई अध्ययनमा जोडेकाले पुरातत्व एवम् संस्कृतिको महत्त्व बढेर गएको सुनाए । उनका अनुसार पाण्डेय जुनसुकै पुरातात्विक स्थलमा पुग्दा पनि त्यससँग सम्बन्धित सामग्री सङ्कलन गरेर ल्याउँथे र ती सामग्रीलाई भिन्न–भिन्न पोका बनाएर राख्थे । एउटा पोकाबाट एउटा पुस्तक बन्ने आफूलाई पाण्डेयले सुनाएको खत्रीले जनाए ।

अवधी सांस्कृतिक परिषद्का सल्लाहकार तपानाथ शुक्लाले पाण्डेयले पुरातत्व क्षेत्रमा जत्तिकै योगदान अवधी भाषा र संस्कृतिको विकासमा पनि गरेको बताए । कपिलवस्तुलाई पुरातात्विक स्थलका रुपमा स्थापित गर्न पाण्डेयले खेलेको भूमिका स्मरण गर्दै उनले भने, ‘कपिलवस्तुको सीमापारि विश्वविद्यालय, विमानस्थल लगायत संरचनाको विकास भइसक्दा पनि नेपालतिरको भागमा गौतम बुद्धको जन्मस्थलका रुपमा चिनाउन उल्लेखनीय काम हुन सकेको छैन ।’

प्रकाशित : मंसिर १६, २०७९ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?