‘पल्पसा क्याफे’ को नाट्य रूपान्तरण पुस्तकमा

काठमाडौँ — नेपाली साहित्यमा चर्चित नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ नाटकमा रूपान्तरण भई पुस्तकका रूपमा सार्वजनिक भएको छ ।

‘पल्पसा क्याफे’ को नाट्य रूपान्तरण पुस्तकमा

थापागाउँस्थित मण्डला थिएटरमा जारी नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९(निटफेस्ट २०२२) को छैटौं दिन बुधबार उपन्यासलाई नाट्य रूपान्तरण गरेका सुरज सुवेदी, निर्देशक विमल सुवेदी, कलाकार संगीता थापालगायतकाले पुस्तकको लोकार्पण गरे ।

१ सय १२ पृष्ठको पब्लिकेशन नेपालयको प्रकाशित यो पहिलो नाट्य पुस्तक हो । उपन्यासलाई सुवेदीको नाट्य रूपान्तरणमा केही महिनाअघि थिएटर भिलेजको आयोजनामा मण्डला नाटकघरमा मञ्चन गरिएको थियो । नाटकलाई आम दर्शकले निकै रुचाएका थिए ।

विमोचनका क्रममा कवि नवराज पराजुली र नाट्य रुपान्तरक सुवेदीले पुस्तक अंशलाई वाचनसमेत गरेका थिए । ‘मैले उपन्यासको कथावस्तुमै रहँदारहँदै पनि आºनो कल्पनाशीलतालाई प्रयोग गरेको छु,’ सुवेदीले भने, ‘कतिपय पात्रको भूमिकालाई रिभर्ससमेत गरेको छु ।’ उनका अनुसार झन्डै दुई दशकअघिको उन्यासको कथालाई वर्तमान परिवेशमा प्रस्तुत गर्दा र उपन्यासलाई नै नाटकमा रूपान्तरण गर्दा पुस्तक उपन्यास जस्तै भने छैन । उपन्यासलाई नाट्य रूपान्तरण गर्दा मूल लेखक वाग्लेले आफूलाई पूर्ण स्वतन्त्रता दिएको उनले सुनाए ।

उपन्यासले द्वन्द्वकालीन समयलाई प्रतिनिधित्व गरेको भएता पनि नाट्य रूपान्तरणमा युद्धका कथा मात्र नभई त्यसका असरहरूलाई पनि समेट्ने प्रयत्न गरिएको छ ।

उपन्यास ‘पल्पसा क्याफे’ले २०६१ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो । त्यसको अंग्रेजी अनुवादलाई पब्लिकेशन नेपालय र भारतबाट पनि ‘र्‍यान्डम हाउस’ ले १२ वर्षअघि प्रकाशन गरेको थियो । उक्त उपन्यास कोरियन, फ्रेन्च र सिंहाली भाषामा अनुवाद भइसकेको छ ।

सुवेदीले यस पुस्तकलाई नाटकका रुपमा रुपान्तरण गरेका थिए । सुवेदी भन्छन्, ‘उपन्यासले भन्न खोजेको कुरालाई अहिलेसम्म पनि खोजिरहने काम यो नाटकले गरेको छ । त्यसैले यो पल्पसाले १५ वर्षमा तय गरेको यात्रामा आधारित नाटक हो ।’

प्रकाशित : मंसिर १५, २०७९ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?