‘वंशु गुरुङ’ स्मारिका लोकार्पण- साहित्य/विविध - कान्तिपुर समाचार

‘वंशु गुरुङ’ स्मारिका लोकार्पण

कान्तिपुर संवाददाता

सिन्धुली — सिकारी सरदार वंशु गुरुङ स्मृति प्रतिष्ठान, जस्पुर तनहुँले प्रकाशन गरेको स्मारिका ‘वंशु गुरुङ’ विमोचन गरिएको छ । २५५औं सिन्धुली गढी विजयोत्सवको अवसरमा सिन्धुलीगढीमा आयोजित समारोहमा कमलामाई नगरपालिकाका प्रमुख उज्वल पोखरेलले सो स्मारिका लोकार्पण गरेका हुन् ।

कार्यक्रममा उपप्रमुख मञ्जु देवकोटा, गढी र इतिहाससम्बन्धी खोज अनुसन्धान गर्दै आएका नेपाली सेनाका पूर्वसहायकरथी प्रेम बस्न्यात, साहित्यकार सुमलकुमार गुरुङ, अभियन्ता अमर लेम, पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरि घिमिरे, प्रतिष्ठानका अध्यक्ष क्या. लालजंग गुरुङलगायत प्रतिष्ठानका पदाधिकारीको उपस्थिति थियो ।

प्रतिष्ठानले प्रकाशन गरेको स्मारिकाले वंशु गुरुङलगायत सिन्धुलीगढी युद्धका वीरयोद्धाहरुको गरिमालाई उच्च बनाउन सघाउ पुर्‍याउने विश्वास कार्यक्रममा व्यक्त गरिएको थियो ।

प्रतिष्ठानले पहिलोपटक प्रकाशन गरेको स्मारिकामा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङलगायतले शुभकामना दिएका छन् । स्मारिकामा गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, कमलामाई नगरपाकिाका पहिलो अध्यक्ष खड्ग खत्री, प्रेम बस्न्यात, सुमलकुमार गुरुङ, राजकुमार दिक्पाललगायत लेखक तथा पत्रकारले स्मारिकामा इतिहास र वंशुका योगदानबारे लेखेका छन् ।

प्रकाशित : मंसिर १, २०७९ २१:५०
प्रतिक्रिया
पठाउनुहोस्

बीपीले पाएन दक्ष जनशक्ति, बेड अभाव उस्तै

आकस्मिक कक्षमै दैनिक अढाइ सय बिरामी आउने अस्पतालमा ८ सय ५० बेड, ४१ प्रतिशत दरबन्दी रिक्त
प्रदीप मेन्याङ्बो

सुनसरी — तीन साताअघिमात्र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ५० जना एसआर (एमडी तह) पूरा गरेका चिकित्सक आवश्यक भएको भन्दै विज्ञापन निकाल्यो । जसमा जम्मा ९ जनाले मात्र फारम भरे । त्यसैमा पनि अन्तिम समयमा ६ जना आएनन् ।

प्रतिष्ठानमा चिकित्सकको तलब अधिकतम १ लाख रुपैयाँ मात्र भएकाले पनि विशेषज्ञ तह पुरा गरेका चिकित्सक हत्तपत्त आउने नगरेको प्रतिष्ठानका विषेशज्ञ प्रा.डा. ज्ञानेन्द्र मल्लले बताए । उनले भने, ‘हामीलाई नर्स र एमडी तहका दक्ष जनशक्ति चाहिएको छ ।’

प्रतिष्ठानमा आएका बिरामीको प्रभावकारी उपचारका लागि ३ हजार २ सय २६ जना दरबन्दी स्वीकृत भएको तर १ हजार ८ सय ८० जनाको मात्र पदपूर्ति भएको महालेखा परीक्षकको प्रतिवेदनमा समेत उल्लेख छ । दरबन्दीअनुसार पदपूर्ति नभएकाले सेवा प्रवाहमा असर परेको पनि प्रतिवेदनले बर्सेनि औंल्याउँदै आएको छ । तीमध्ये चिकित्सकको दरबन्दी ७ सय ६८ मा ३ सय ६१ जना, नर्सको दरबन्दी ९ सय ५८ रहेकोमा ६ सय ९६ जना, प्यारामेडिक्सको २ सय ३० दरबन्दीमा १ सय ४८ जना मात्र पूर्ति भएको जनाएको छ । चिकित्सा शिक्षा अध्ययन, अनुसन्धान र बिरामी उपचार सेवामा चुस्त दुरुस्त सेवा प्रवाह गर्न रिक्त रहेको ४१ प्रतिशत दरबन्दी पदपूर्ति गरेर सेवाको गुणस्तरमा सुधार गर्न पनि प्रतिवेदनमा सुझाव दिइएको छ ।

प्रतिष्ठानले चिकित्साशास्त्रका एमबीबीएस, बीडीएस, पीजी, एमडी /एमएस, डीएम/एमसीएच तहसम्मका दक्ष र विशेषज्ञ, अति विषेशज्ञ सेवा दिने चिकित्सक, प्राविधिक उत्पादन गर्दै आएको छ । आफैंले उत्पादन गरेका चिकित्सकलाई प्रतिष्ठानमै रोकेर राख्न भने चिकित्सा शिक्षा ऐन बाधक बनेको छ । उच्च तहका पठनपाठनका लागि सरकारले शुल्क तिरिदिए वापत विद्यार्थीले प्रतिष्ठानको भौतिक उपकरण, मेडिकल उपकरण, होस्टल, पानी, विद्युत्, लाइब्रेरी प्रयोग गर्छन् ।

उनीहरुले सरकारबाट अधिकतम मासिक ४५ हजार रुपैयाँ पाउँछन् । जब कोर्स पूरा भएर पास आउट हुन्छन् तब ‘सरकारी कोटाको छात्रवृत्तिमा पढेको’ भनेर स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानलाई एक जना पनि जनशक्ति दिंदैन । प्रतिष्ठानका अस्पताल निर्देशक डा. जगतनारायण प्रसादका अनुसार आफंैले पढाएर दक्ष र विषेशज्ञ चिकित्सक बनाएर तयार पारेका डाक्टरलाई राख्न सकिरहेका छैनौं । ‘सरकारले लगिहाल्छ, अन्यत्र जिल्लामा खटाउछ,’ उनले भने, ‘तर बीपी प्रतिष्ठान पनि ठूलो अस्पताल हो, यहाँ पनि जनशक्ति चाहिन्छ भन्ने कुरा बुझाउन गाह्रो भो ।’

बिरामीको चापअनुसार चिकित्सक अभाव भएपछि गत असोज २ मा स्वास्थ्य मन्त्रालयलाई प्रतिष्ठानले तत्काल १७ विशेषज्ञ चिकित्सकलाई प्रतिष्ठानमै राख्न पत्राचार गरेको थियो । स्वास्थ्य मन्त्रालयलाई लेखेको पत्रअनुसार प्रतिष्ठानका लागि आवश्यक सिनियर रेजिडेन्ट, लेक्चरर पदमा करार सेवाअन्तर्गत पदपूर्तिका लागि पटकपटक सार्वजनिक सूचना (विज्ञापन) गर्दा पनि कसैले फर्म नभरे पछि अस्पतालको विभिन्न वार्ड र ओपीडी सेवामा कठिनाइ भएको जानकारी दिएको थियो । सरकारी छात्रवृत्तिमा एमडी/एमएस/एमडीएस तह पूरा गरेबापत् सरकारी संस्थामा २ वर्ष अनिवार्य काम गर्नुपर्ने प्रावधानअनुसार ३३ विशेषज्ञ चिकित्सकहरुलाई प्रतिष्ठानमै खटाउन पत्राचारसमेत गरिएको थियो । तत्काल ती जनशक्ति आवश्यक परेको भनेर चिकित्सकहरुको नामै किटेर स्वास्थ्य मन्त्रालयसँग प्रतिष्ठानले अनुरोध गरेको थियो । प्रतिष्ठानका सहप्रवक्ता डा. चूडामणि पोखरेलका अनुसार पूर्वका सबैजसो स्वास्थ्य संस्थाले सामान्य बिरामीलाई समेत बीपीमा पठाइदिने गरेकाले पनि चाप बढेको छ ।’ प्रतिष्ठानमा दैनिक ३५ सय देखि ४ हजार सेवाग्राही उपचारका लागि आउँछन् । प्रतिष्ठानमा हाल ८ सय ५० को हाराहारीमा बेड छन् ।

मोरङको उर्लाबारीबाट मिर्गौलाका बिरामी रुद्र लिम्बू गत सोमबार उपचारका लागि बीपी प्रतिष्ठान आएका थिए । इमर्जेन्सी विभागमा कन्सल्ट्यान्ट कलिङ डाक्टरले सबै जाँच गरेपछि पुर्जीमा रोगीको ‘हिस्ट्री’ लेखेर उनलाई मेडिसिन विभागको (मिर्गौलाको दीर्घरोगी, सीकेडी) वार्डमा भर्ना गर्नू भनेर नर्सलाई निर्देशन दिए । वार्डमा बेड पाउन भने उनलाई तीन दिन लाग्यो ।

प्रतिष्ठानमै राम्रो उपचार हुने सुनेकाले उनले बेड पर्खिने भनेर इमर्जेन्सी कक्षको भुइँमै बसे । प्रतिष्ठानको इमर्जेन्सी कक्षमा उनीजस्तै अन्य जिल्लाबाट आएका दर्जनौं बिरामीहरु बेड पाउने पालो कुरेर करिडरमा बस्दै पीडा पोखिरहेका भेटिन्छन् । तर यहाँ सेवाग्राहीको चापअनुसार बेड र विज्ञको अभाव छ । प्रतिष्ठानको इमर्जेन्सी कक्षको क्षमता हाल १ सय १० जनाको छ । प्रतिष्ठानका विषेशज्ञ प्रा.डा. मल्लले भने, ‘इमर्जेन्सी कक्ष र वार्डहरुमा बेड अभाव त छँदै छ, दक्ष जनशक्तिको पनि अभाव छ ।’ उनका अनुसार इमर्जेन्सी कक्षमा आएकामध्ये ७० प्रतिशतलाई त डिस्चार्ज गरी घर पठाइन्छ तर बाँकी ३० प्रतिशतलाई भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ । विशेषगरी हाडजोर्नी, मेडिसिन, सर्जरी, विशिष्ट सेवा दिइरहेका पल्मो, ग्यास्ट्रो, कार्डियो र न्युरो युनिटमा पर्याप्त बेडको व्यवस्था नहुँदा बिरामीहरु इमर्जेन्सीमा अड्केर बस्न बाध्य छन् । आकस्मिक कक्षमा दैनिक सरदर २ सय ५० बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

प्रकाशित : मंसिर १, २०७९ २१:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×