दुर्गादेवीलाई ‘गोधूलि विशेष पुरस्कार–२०७९’अर्पण

काठमाडौँ — आफ्नो भोगाइ र अनुभूतिलाई सिर्जनामा उतारेर समकालीन समाजलाई ऊर्जा प्रदान गर्ने स्रष्टा दुर्गादेवी नेपाललाई ‘गोधूलि विशेष पुरस्कार–२०७९’ प्रदान गरिएको छ । नेपालद्वारा लिखित आत्मकथा ‘बगेको खोला’लाई उच्च सम्मान गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो ।

सोमबार अनामनगर घट्टेकुलोस्थित नईगृहमा गोधूलि साहित्य प्रतिष्ठानले गरेको कार्यक्रममा नेपाललाई उक्त पुरस्कार प्रदान गरिएको हो । प्रा.डा. उषा ठाकुरले उनलाई ताम्रपत्रसहित नगद १० हजार रुपैयाँ हस्तान्तरण गरिन् ।
लामो समयदेखि अस्वस्थ रहेकी विराटनगर निवासी८५ वर्षीया उनलाई अस्वस्थताकै कारण उनी हाल बसोबास गरिरहेकै निवासमा प्रतिष्ठानले पुरस्कार अर्पण गरेको हो । स्वअध्ययनबाट नै उनले ‘उनैको माया’कवितासंग्रह समेत ल्याएकी छन् ।
नेपालको आत्मकथा ‘बगेको खोला’ र कविता संग्रह दुवैले मानवजीवन, संघर्ष, आत्मबल र कर्मप्रति विश्वास गर्न सिकाएको प्रा.डा. ठाकुरले बताइन् । ‘उहाँ जति बाहिर सुन्दर हुनुहुन्छ भित्री मनबाट पनिउत्तिकै अमृत समान उदार र परोपकारी हुनुहुन्छ,’ उनले भनिन्,‘नारीको विवाहपछिको संघर्ष, घर परिवार चलाउने आत्मबल हामीले उहाँबाट सिक्नपाएका छौं ।’
प्रतिष्ठानका संयोजक प्रकाश समीर र ठाकुरले नेपालको कृतिले सदैव सत्मार्ग र उत्प्रेरणा दिने धारणा व्यक्त गर्दै उनको सूस्वास्थ्य तथा दीर्घायूको कामना गरे ।
प्रकाशित : कार्तिक २१, २०७९ १८:३५