‘बगेको खोला’ लाई ‘गोधूलि पुरस्कार’- साहित्य/विविध - कान्तिपुर समाचार

‘बगेको खोला’ लाई ‘गोधूलि पुरस्कार’

कान्तिपुर संवाददाता

काठमाडौँ — दुर्गादेवी नेपालको ‘बगेको खोला’ लाई २०७९ सालको ‘गोधूलि पुरस्कार’ प्रदान गरिने भएको छ । गोधूलि साहित्य प्रतिष्ठानका अध्यक्ष गंगालिगलको अध्यक्षतामा हालै बसेको बैठकअनुसार प्रतिष्ठानद्वारा प्रदान गरिने १० हजार रूपैयाँ राशि र ताम्रपत्रसहित पुरस्कार विशेष कृतिका रुपमा ‘बगेको खोला’ लाई प्रदान गर्ने निर्णय गरिएको हो । 

विराटनगर निवासी ८५ वर्षीया दुर्गादेवी नेपालको बसोबास अहिले काठमाडौंमा नै रहेको छ । केही वर्षदेखि विभिन्न रोगले ग्रस्त उनी हाल घरमै आराम गरिरहेकी छन् ।

प्रकाशित : कार्तिक २१, २०७९ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्

बाह्रैमास बाढीको पिरलो

महाकाली र जोगबुडा नदीले घेरिएको कुतियाकभरका बासिन्दा उम्मेदवारहरुलाई हरेक पटक बाढी रोकथाम र सीमा समस्या समाधानको माग राख्न छाड्दैनन् 
भवानी भट्ट

कञ्चनपुर — पुरन सुनार गुजरातको एक होटलमा काम गर्थे । कोरोना संक्रमणका बेला घर फर्किएका उनी त्यसयता गाउँमै तरकारी खेती गरिरहेका छन् । तर गतवर्षदेखि उनले तरकारी खेती पनि राम्ररी गर्न सकेका छैनन् । महाकाली नदीको भीषण बाढीले जग्गामा बालुवा ल्याएर बगर बनाएपछि खेती गर्न गाह्रो भएको हो । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१० कुतियाकभरका ३५ वर्षीय सुनारलाई एकातिर बाढीको चिन्ता हुन्छ भने अर्कोतिर बेला–बेलामा भारतीय सुरक्षाकर्मीले दिने दुःखको पिरलो छ । 

कञ्चनपुरको दोधारा–चाँदनी–१० को कुतियाकभर बस्ती । तस्बिर : भवानी/कान्तिपुर


कुतियाकभर महाकाली र जोगबुडा नदीको दोभानमा पर्छ । महाकालीमा बाढी आएका बेला जोगबुडा नदी थुनिएर कुतियाकभर डुबानमा पर्छ । गत वर्ष कात्तिकमा पनि त्यही भयो । महाकालीमा भीषण बाढी आउँदा बहाव थुनिएर जोगबुडाको बाढी बस्तीमा पस्यो । ४० घर डुबानमा परे । भाग्ने ठाउँसमेत रहेन । सुरक्षाकर्मीले र्‍याफ्टिङ बोटबाट उद्धार गरेर उनीहरूको ज्यान जोगाए । त्यतिबेला वृद्धवृद्धा र गर्भवतीको ज्यान जोगाउन निकै मुस्किल भएको स्थानीय बताउँछन् । ‘महाकालीपारि दोधारा–चाँदनी दुर्गम भन्छन्, दोधारा–चाँदनीबाट पनि हामी दुर्गम भएका छौं,’ सुनारले भने, ‘यहाँ बर्खामा मात्रै होइन हिउँदमा समेत नदीले कटान गरिरहेको छ ।’ उनका अनुसार वर्षामा बाढी प्राकृतिक रूपमै आउने भए पनि अरू बेला जोगबुडा नदीमा भारतीय पक्षले शारदा नहरको पानी छाड्दा हिउँदमा समेत डुबान–कटान हुने गरेको छ । जसका कारण कुतियाकभर बाह्रै महिना जोखिममा रहने गरेको उनी बताउँछन् ।

तीनतिर महाकाली र जोगबुडा नदीले घेरिएको कुतियाकभरमा ४० परिवारको बसोबास छ । कुतियाकभरमा पश्चिम–दक्षिणतर्फ भारत छ । उत्तरप्रदेशको पिलिभित जिल्लाको बंगाली बस्तीसँगै जोडिएको छ, कुतियाकभर । यहाँका अधिकांश घरको आँगन दसगजासँगै जोडिएको छ । हिँडडुल गर्ने बाटो पनि त्यही दशगजा हो । यही कारण बेला–बेलामा सीमा क्षेत्रमा विवाद पनि हुने गरेको छ ।

मत माग्दै घरदैलोमा पुग्ने उम्मेदवार तथा राजनीतिक दलका नेतासँग यहाँका बासिन्दाले नदी किनारमा तटबन्ध र सीमामा सहज आवागमनको माग गर्दै आएका छन् । यो अहिलेको मात्रै माग होइन । हरेक निर्वाचनमा जनताको माग र नेताको आश्वासन यही बन्ने गरेको छ । तर त्रासमा बाँच्नुपर्ने अवस्था अझै अन्त्य नभएको उनीहरू बताउँछन् । ‘पोहोर त घरमा खम्बा समातेर ज्यान जोगायौं, अन्न र लुगाकपडादेखि गाईभैंसी सबै बगाएर लग्यो,’ स्थानीय वसन्ती सुनारले भनिन्, ‘सधैं यो त्रासमा बाँच्नुभन्दा हामीलाई अन्यत्रै स्थानान्तरण गरिदिनुपर्‍यो ।’ कटान र डुबान रोकथामका लागि तटबन्ध निर्माण गर्न नसके उचित स्थानमा बस्ती नै सार्न उचित हुने उनको भनाइ छ ।

कुतियाकभर जोगबुडा नदीपारि छ । आउजाउ गर्नका लागि जोगबुडामा झोलुंगे पुल हालिएको छ । तर बर्खामा दुवैतर्फ बाढी भरिएर पुलमा पुग्नै नसकिने हुन्छ । बाढी आएका बेला ज्यान जोगाउन सीमा क्षेत्रको बंगाली बस्तीको अग्लो ठाउँमा जानुपर्ने स्थानीय बताउँछन् । कुतियाकभरका बासिन्दा किनमेलदेखि औषधोपचारका लागि सीमापारि भारतीय बजारमा निर्भर छन् । तर सीमामा आउजाउ गर्दा भारतीय सुरक्षाकर्मीले बेला–बेलामा दुःख दिने गरेको उनीहरूको गुनासो छ । कैयौं पटक एसएसबी बस्तीमै पसेर धम्क्याउने गरेको उनीहरूले दुखेसो पोख्ने गरेका छन् । दशगजाको बाटो भएर धान, गहुँ तथा तरकारी ढुवानी गर्दासमेत दुःख दिने गरेको सुनार बताउँछिन् । ‘एसएसबीलाई सोधेर मात्रै धान–गहुँ ल्याउन पाइन्छ, नत्र ल्याउन दिँदैनन,’ उनले भनिन्, ‘बर्खामा नदी किनारको बाटोमा हिँडडुल गर्नै सकिन्न, दशगजाको बाटोमा एसएसबीले हिँड्न दिँदैन ।’ कुतियाकभरमा अधिकांश दलित समुदायको बसोबास छ । यहाँका हरेक घरबाट युवाहरू रोजगारीका लागि दिल्ली, गुजरात र मुम्बई लगायतका भारतीय सहरमा पसेका छन् । अधिकांश युवा होटल लाइनमा काम गरिरहेको पुरन सुनार बताउँछन् । पुरन पनि ५ वर्ष गुजरातमा होटलमै काम गरेर घर फर्किएका हुन् । ‘हाम्रो मुख्य समस्या नदी कटान र डुबान तथा सीमाकै हो,’ स्थानीय शेरबहादुर टमटा भन्छन्, ‘यो माग जसले पूरा गर्ने प्रतिबद्धता र योजना ल्याउँछ उसैलाई भोट दिन्छौं ।’ उक्त बस्तीमा एक सयभन्दा बढी मतदाता छन् । बस्तीका सबै मतदाता मतदानका लागि एकजुट हुन्छन् ।

गाउँको मुद्दा सम्बोधन हुने आश्वासन वा प्रतिबद्धताकै आधारमा मतदान गर्दै आएका छन् । कुतियाकभर तरकारी खेतीका लागि परिचित छ । यहाँ भन्टा, परवल, तरुल, मुलालगायत अन्य बेमौसमी तरकारीसमेत उत्पादन हुन्छ । अधिकांशले सीमावर्ती बजार खटीमा पुगेर तरकारी बिक्री गर्दै आएका छन् । तर कतिपयले मोटरसाइकलमा बोकेर महेन्द्रनगर पुर्‍याउँछन् । भारततर्फ लैजान पनि एसएसबीले दुःख दिने भएकाले उनीहरू २५ किलोमिटर मोटरसाइकलमा ढुवानी गरेर महेन्द्रनगर पुर्‍याउने गर्छन् । ‘गाउँमै वा नगरपालिकाभित्र उपयुक्त ठाउँमा तरकारी संकलन केन्द्र राख्नुपर्ने पनि हाम्रो माग छ,’ कुतियाकभरबाट तरकारी बोकेर महेन्द्रनगर पुग्ने गरेको खड्के बुढा भन्छन्, ‘भोट माग्न आउँदा सबै हुन्छ भन्छन्, तर त्यसपछि कोही वास्ता गर्दैनन् ।’

दोधारा–चाँदनी परवल खेतीका लागि परिचित छ । एकदशकअघिसम्म यहाँको परवल दिल्लीसम्म पुग्थ्यो । एउटै परिवारले ८/१० क्विन्टलसम्म परवल बिक्री गर्थे । व्यापारीहरू ट्रक लिएर सीमासम्मै पुग्थे । तर भारतले क्वारेन्टिन परीक्षणका बहानामा नेपाली परवल रोकेपछि कृषकहरूले उक्त खेती नै छाडे । अहिले थोरै परिवारले मात्रै परवल खेती गर्छन् । बिस्तारै नेपालतर्फ पनि बजार बढ्न थालेका कारण परवल खेतीतर्फको आकर्षण पुनः बढ्न सक्ने देखिन्छ । त्यही भएर तरकारी हाटबजारदेखि संकलन केन्द्र स्थापनाको माग हुन थालेको हो । जोगबुडा र महाकाली नदीको बीचमा रहेको दोधारा–चाँदनी टापु नगरपालिकाका रूपमा छ । जोगबुडापारि पनि भारतसँगै आँगन जोडिएका अन्य बस्तीहरू नदी कटान र डुबानको समस्या छन् । कुतियाकभरसँगै ३ नम्बर वडाको बडुवाल टोल, ७ को कञ्चनभोज र ८ को सुन्दरनगर बस्तीहरू भारतसँगै जोडिएका छन् ।

प्रकाशित : कार्तिक २१, २०७९ ११:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×