भाषाशास्त्री राईको नयाँ कृति- साहित्य/विविध - कान्तिपुर समाचार

भाषाशास्त्री राईको नयाँ कृति

गणेश राई

काठमाडौँ — भाषावैज्ञानिक नोवलकिशोर राईको ‘बान्तावा भाषाको वर्णनात्मक अध्ययन’ (ए डिस्क्रिप्टिभव स्टडी अफ बान्तावा) प्रकाशित भएको छ । पुस्तक त्रिभुवन विश्वविद्यालय नेपाल र एसियाली अध्ययन केन्द्र (सिनास)ले प्रकाशित गरेको हो । किरात राई जातिभित्र २६ वटा भाषा छन् । त्यसमध्ये बान्तावा भाषा एक हो । 

भाषावैज्ञानिक अध्ययन भएको बान्तावा भाषाको पहिलो शोधग्रन्थ हो । बान्तावा भाषामा हतुवाली, आमचोके र दिल्पाली भाषिका छन् । बान्तावा र अंग्रेजी भाषामा प्रकाशित कृति पाँचथर क्षेत्रको दिल्पाली भाषिकालाई लिएर यो शोध गरिएको हो ।

राईले भारतको डेक्कन कलेज, पुना विश्वविद्यालयबाट सन् १९८५ मा भाषाविज्ञान विषयमा विद्यावारिधि उपाधि हासिल गरेका थिए । उक्त विद्यावारिधि शोधलाई पुस्तकका रूपमा प्रकाशन गरिएको सिनासका कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्कीले बताए । यो कृतिलाई भाषावैज्ञानिक अध्ययन तथा किरात राई भाषामध्ये पहिलो कृतिका रूपमा लिइन्छ ।

समुदायका केही अगुवाले राई जातिको एउटै ‘राई भाषा’ बनाउने अभियान थालेको स्थितिमा भाषावैज्ञानिक राईले अस्वीकार गरेपछि राई समूहमा बोलिने २६ वटा भाषा सहअस्तित्वमा रहेका छन् ।‘बान्तावा भाषाको व्याकरणीक कोटीका बारेमा विस्तृत चर्चा गरिएको छ,’ प्रकाशन प्राविधिक संयोजक पदम राईले भने, ‘बान्तावा व्याकरणको हरेक पक्षको व्याख्या, विश्लेषण रहेका छन् । बान्तावा भाषा उच्चारण संकेत रोमन लिपिमै राखिएका छन् ।’ यसैगरी राई जातिको संक्षिप्त परिचय र राईभित्र विभिन्न भाषाबारे चर्चा गरिएका छन् ।

पाँचथरको हिकुनाम्बा रविमा जन्मिएका राईले आफ्नो जन्मथलोमा बोलिने बान्तावा मातृभाषामा विद्यावारिधि शोध गरेका थिए । २०२९ सालमा सहायक प्राध्यापकको रुपमा त्रिभुवन विश्वविद्यालय प्रवेश गरेका उनी २०५९ मा प्राध्यापकमा पदोन्नति भई सेवानिवृत भएका हुन् । प्राध्यापक राईको ‘बान्तावा सिकौं’, ‘बान्तावा व्याकरण’ र ‘अ बेसिक बान्तावा कोर्स’ कृति प्रकाशित छन् ।

प्रकाशित : कार्तिक २०, २०७९ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्

पुरानै चुनावी मुद्दासँगै अन्तर्घातको चिन्ता

कमल पन्थी

बर्दिया — दुईपटक प्रतिनिधिसभा सदस्य र ६ महिनाभन्दा बढी सिँचाइमन्त्री भएका सञ्जयकुमार गौतम यसपटक पनि बर्दियामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार भएका छन् । हुन त उनी बर्दियामा हुँदा सदरमुकाम गुलरियामा केन्द्रित नभई बेलाबेलामा आफ्नो चुनाव क्षेत्रबाहेक जिल्लाका अधिकांश मतदाताका घर पुग्ने गरेका छन् ।


०७४ को संसदीय निर्वाचनमा तात्कालीन नेकपा एमालेका नेता बामदेव गौतमलाई पराजित गरेर राष्ट्रिय राजनीतिमा चर्चा बटुलेका थिए । जिल्ला सभापतिदेखि हाल केन्द्रीय सदस्यसमेत भएका गौतम विगतमा पार्टीभित्र लोकप्रिय नेता हुन् ।

स्थानीय तहको निर्वाचनपछि पार्टी भित्रको किचलोका कारण उनलाई अहिले टाढिएका कार्यकर्ता र नेतालाई नजिक ल्याउने प्रयासमा निकै कसरत गर्नु परेको छ । उनले नाका, किसानका मुद्दा, बेरोजगारीको समस्यालगायत पुरानै चुनावी मुद्दा अघि सारेको पूर्वशिक्षक सुधाखर मिश्रा बताउँछन् । पुरानै मुद्दा कति पूरा भए/नभएको लेखाजोखा मतदाताले गर्ने उनको भनाइ छ । गौतमले उत्तर–दक्षिण सडक निर्माण, बबई तटबन्धका लागि बबई, भादा, ओराही नदी नियन्त्रण व्यवस्था कार्यालय स्थापनालगायत विकास निर्माणको काम गरेको दाबी गरे । उनले यो निर्वाचन जितेमा पहिलो काम नै नाका स्थापनाका लागि पहल गर्ने, जब्दीघाटमा नयाँ पुल निर्माण गर्ने र किसानका समस्या समाधानका लागि पहल गर्ने बताए ।

सत्ता गठबन्धनबाट बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका गौतमका विश्वासपात्र नेविसंघका पूर्वजिल्ला अध्यक्ष सुभाष पोखरेलले पार्टी परित्याग गरी क्षेत्र नम्बर १ (१)बाट प्रदेशसभा सदस्यमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका छन् । ०४६ साल फागुन ७ गते पहिलो जनआन्दोलनको समयमा उनले पञ्चायतविरुद्धसमेत प्रदर्शन गरे । उनलाई व्यवस्थाको विरोधमा जुलुस निकालेको भन्दै लामो समय थुनामा राखी मुद्दा चलाइएको थियो । पार्टीले पटकपटक कुनै स्थान नदिएका कारण रुष्ट भई पार्टी छाडेको उनी बताउँछन् । पोखरेलले पार्टीले बीपीको सिद्धान्त त्यागेकाले कांग्रेस त्यागेको बताउँछन् । पोखरेललाई कांग्रेसले सहयोग गर्ने आशंका माओवादी कार्यकर्ताको छ । माओवादीका एक जिल्लास्तरीय नेताले पोखरेललाई कांग्रेसले सहयोग गर्ने आशंका रहेको बताए । उनले उम्मेदवारी दिएकै क्षेत्रमा नेकपा माओवादी केन्द्रबाट बारबर्दियाका पूर्वउपप्रमुख अञ्जु दहितले उम्मेदवारी दिएकी छन् ।

बारबर्दिया नगरपालिकाका पूर्वमेयर दुर्गाबहादुर थारुले पोखरेल ०४६ सालको जन आन्दोलनताका कांग्रेसको लोकप्रिय नेता भएकाले आफूहरूले नजिकबाटे नियालेको बताए । गठबन्धनमा भने धोका नहुने विश्वास उनको छ ।

क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका एमालेका उम्मेदवार लक्ष्मणराज ज्ञवालीलाई जिल्लाका प्राय: सबैले शालीन व्यक्तिको रुपमा चिन्छन् । पञ्चायतविरोधी आन्दोलनमा करिब ६ वर्ष जेल सजाय भोगेका उनी गुलरियास्थित घर बेचेर अन्यत्र बस्दै आएका छन् ।

जिल्ला छाडेका ज्ञवालीलाई उम्मेदवार बनाएकोमा पार्टीभित्रै पनि विभिन्न व्यक्तिहरू असन्तुष्ट छन् । एमालेबाट समानुपातिक सांसद बनिसकेकी बिना ज्ञवाली उम्मेदवार ज्ञवाली शालीन, क्षमतावान् र विकासप्रेमी व्यक्तित्व भएको बताउँछिन् । उम्मेदवार ज्ञवालीले एमालेको सरकार बने जिल्लाको समस्याका रुपमा रहेको नदी कटान, बाढी रोकथाम, किसानका समस्या, विकास निर्माणलगायत अधुरो योजना पूरा गर्ने बताउँछन् ।

क्षेत्र नम्बर १ बाट भने पहिलोपटक सञ्चारकर्मी ठाकुरसिंह थारु प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार भएका छन् । थारुबाहुल्य बर्दियामा उनले सबै समुदायका पहिचानको मुद्दा अघि सारेका छन् । सुशासन, आत्मसम्मान र समृद्धिको चुनावी मुद्दा रहेको छ । उनले भ्रष्टाचार न्यूनीकरण, युवा बेरोजगारलाई विदेशमा जानबाट रोक लगाई मुलुकमा रोजगारीको पहल गर्ने चुनावी मुद्दालाई प्राथमिकतामा राखेका छन् ।

क्षेत्र नम्बर २ मा गठबन्धनबाट उम्मेदवारी दिएका सुरेश पन्थ कोरोनाकालमा बर्दियावासीलाई पुर्‍याएको सहयोगका लागि चर्चित व्यक्ति हुन् । उनले स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत सर्वसाधरणमा लाखौं मूल्य पर्ने स्वास्थ्य सामग्री नि:शुल्क वितरण गरेका थिए । उनले सामाजिक क्षेत्रमा खुलेर सहयोग गर्दै आएका छन् । पार्टीभित्र भने नेतृत्वले उनलाई उम्मेदवारी बनाएकोमा केहीको असन्तुष्टि रहेको छ । पार्टीभित्र असन्तुष्ट भए पनि उनको साथ भने चुनावी मैदानमा कसैले उनको साथ छाडेका छैनन् । यसपालि पन्थले युवा बेरोजगारलाई जिल्लामै रोजगारी दिने केही योजना अघि सारेका छन् । बाढी र कटानग्रस्त कर्णाली नदी नियन्त्रणका लागि युद्धस्तरमा काम गर्न सरकारबाट बजेट ल्याउने प्रतिबद्धता जनाएका छन् ।

एमालेबाट उम्मेदवारी दिएका पंकज सिंह राठौर शिक्षण पेशा र निजी व्यवसायमा आबद्ध छन् । पहिलोपटक संसदीय यात्रामा उम्मेदवारी दिएका उनले नदी नियन्त्रण, वन्यजन्तु समस्या समाधान, शिक्षा, स्वास्थ्य, किसानका समस्यालगायत विषयमा चुनावी मुद्दा अघि सारेका छन् ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र (राप्रपा)का उम्मेदवार विनय रावल कांग्रेसका पूर्वमहासमिति सदस्य हुन् । उनले केही महिनाअघि कांग्रेस त्याग गरी राप्रपामा प्रवेश गरेका थिए । उनले बर्दियाको सबैभन्दा बढी समस्याका रुपमा रहेको बाढी, नदी कटान र मानव–वन्यजन्तुबीचको द्वन्द्व समाधान गर्ने बताउँछन् । यसबाहेक स्वास्थ्य, शिक्षा, रोजगारी, किसानलाई समयमा मलखाँददेखि पर्यटन उद्योगलाई बढावा दिनेखालका चुनावी मुद्दालाई अघि सारेको उनले बताए ।

नागरिक उन्मुक्ति पार्टीका ६७ वर्षीय लालवीर चौधरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार भएका छन् । उनी पार्टी अध्यक्ष रेशमलाल चौधरीका बुबासमेत हुन् । कैलाली टिकापुर नगरपालिका– १ ब्लक नम्बर २९ घर भएका लालवीरले ०७२ सालमा भएको घटनामा निर्दोष बन्दीको रिहाइको मुद्दालाई अघि सारेका छन् । छोरा रेशमलगायत माथि लगाइएका झुठा मुद्दा खारेज गर्नुपर्ने उनी बताउँछन् । पहिचान, आत्मसम्मानलगायत जिल्लामा रहेको समस्या समाधान गर्ने चुनावी मुद्दा रहेको छ । मेरो घर कैलाली टिकापुरमात्र होइन, जन्मघर र जग्गा बर्दियाको गेरुवा गाउँपालिकामा रहेको छ,’ उनले भने, ‘अन्य समुदायका ठूलाबडाको घर नेपालगन्ज, काठमाडांैलगायत ठाउँमा छ तर उनीहरूको घरको विषयलाई लिएर भने चर्चा हुँदैन ।’

प्रकाशित : कार्तिक २०, २०७९ १६:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×