कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

राईको ‘तेप्लायु’लाई विमल कृति पुरस्कार प्रदान

प्रदीप मेन्याङ्बो

सुनसरी — धरानस्थित कवि विमल गुरुङ पुस्तकालयद्वारा स्थापित ‘कवि विमल गुरुङ कृति पुरस्कार’ युद्ध साहित्यमा आधारित ‘तेप्लायु’ कविता संग्रहका कवि काङमाङ नरेश राईलाई प्रदान गरिएको छ । पुरस्कार राशि २ लाख ५१ रुपैयाँ र ताम्रपत्र रहेको छ ।

राईको ‘तेप्लायु’लाई विमल कृति पुरस्कार प्रदान

उनलाई गुरुङको ५१ औं जन्म जयन्ती तथा ३१ औं राष्ट्रिय कविता महोत्वसमा अग्रज कवि जसराज किराती, पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङ, प्राज्ञ शशि लुमुम्बु, प्राडा टंक न्यौपाने र पुस्तकालयका संस्थापक सदस्य तथा स्व. कवि विमल गुरुङकी बहिनी शान्ति गुरुङले नगद र ताम्रपत्रसहित सम्मान गरेका थिए ।

अग्रज कवि किरातीले धरानमा पूर्व गोर्खा लाहुरे पूर्णबहादुर गुरुङले आफ्ना एक्ला छोरा विमलको स्मृतिमा स्थापित विमल गुरुङ कृति पुरस्कार पहिलो पटक युद्ध साहित्यका प्रवर्तक लाहुरे कृतिकार नरेश काङमाङ राईको कविता संग्रह तेप्लायुले पाउनु संयोग भएको बताए । उनले भने, ‘नयाँ पुस्ताका लाहुरेहरु चेतना, विचार र सिद्धान्तसहित कृति निकाल्न सक्षम छन् भन्ने गतिलो उदाहरण हो तेप्लायु र कवि नरेश ।’

कृतिकार काङमाङले आफूले पाएको पुरस्कार राशि सबै पहिचान पुरस्कारको कोषमा जम्मा गर्ने घोषणा गरे । उनले भने, ‘मैले पाएको विमल कृति पुरस्कारको राशि सबै म पहिचान पुरस्कारको कोषमा जम्मा गर्ने घोषणा यहीँबाट गरेँ ।’ पुरस्कृत कवि नरेश पहिचान पुरस्कारका संस्थापक हुन् ।

समारोहको दोश्रो चरणमा आयोजित राष्ट्रिय कविता महोत्सवमा हाल काठमाडौं बस्दै आएकी तेह्रथुम छथ्थरकी कवि सीता तुम्खेवा प्रथम हुँदै नगद २१ हजार र प्रमाणपत्र हात पारिन् । उनले ‘रातो रुमाल’ शीर्षकको कविता सुनाएकी थिइन् । मोरङको मिक्लाजुङका गगन योक्पाङ्देनले ‘पवन हलवाईको दिन चर्या’ शीर्षको कविता सुनाउँदै द्वितीय भए । उनले नगद १८ हजार रुपैयाँ हात पारे ।

काठमाडौंकी कवि राधिका कल्पितले ‘पोष्टमोडर्न सिनेमा’ सुनाउँदै तृतीय भइन् । उनले नगद १५ हजार र रोल्पाका कवि युग सर्वनामले ‘आकाश र भोका चिरिबिरी’ सुनाउँदै सान्तवना पाए । युग सर्वनामले नगद १० हजार पाए । कविताको निर्णायकहरुमा देवान किराती, चन्द्र गुरुङलगायत थिए ।

प्रकाशित : कार्तिक २०, २०७९ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?