‘बौद्ध कथा’ र ‘मञ्जुश्रीको नेपालयात्रा’ पुस्तक लोकार्पण- साहित्य/विविध - कान्तिपुर समाचार

‘बौद्ध कथा’ र ‘मञ्जुश्रीको नेपालयात्रा’ पुस्तक लोकार्पण

कान्तिपुर संवाददाता

काठमाडौँ — बौद्ध साहित्यका दुई कृति ‘बौद्ध कथा’ र ‘मञ्जुश्रीको नेपालयात्रा’ को लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार आयोजित कार्यक्रमबीच दुई बौद्ध कृति सार्वजनिक गरिएको हो । लुम्बिनी बौद्ध विश्वविद्यालयले प्रकाशित गरेको ‘बौद्ध कथा’ मा २५ कथा समावेश गरिएका छन् ।


विश्वविद्यालयको बौद्ध अध्ययन संकायले बौद्ध कथा साहित्य प्रतियोगिताको आयोजना गरेर त्यसबाट उत्कृष्ट मानिएका कथा यस पुस्तकमा समावेश गरिएका छन् । बौद्ध वाङ्मयमा कथा साहित्यको विशिष्ट स्थान रहेको छ । विश्वविद्यालयले नेपाली भाषामा बौद्ध साहित्य विकासकै लागि प्रतियोगिता आयोजना गरेर त्यसको संग्रह निकालेको हो ।

यसमा प्रतियोगितामा पहिलो भएको तारानिधि भट्टराईको ‘सहअस्तित्व’, दोस्रो भएको अर्चना शाक्यको ‘प्रतिविम्ब’ र तेस्रो भएको जनक कार्कीको द्वादशनिदान समावेश छन् । लुम्बिनी सम्यक फाउन्डेसनले प्रकाशन गरेको ‘मञ्जुश्रीको नेपालयात्रा’ को पटकथा भने विश्वविद्यालयकै डिन मानिकरत्न शाक्यले लेखेका हुन् ।

काठमाडौं उपत्यका महामञ्जुश्रीको दर्शनबाट प्रभावित मानिन्छ । मञ्जुश्रीले नै काठमाडौं उपत्यकाकालाई बस्तीयोग्य बनाएको विश्वास गरिन्छ । तिनै मञ्जुश्रीलाई केन्द्रमा राखेर पटकथा प्रस्तुत गरिएको हो । कार्यक्रमका अवसरमा डिन शाक्यले नेपाली भाषामा बौद्ध साहित्यको अभिवृद्धिका लागि विश्वविद्यालय भविष्यमा अझ सक्रिय रहने कार्यक्रम रहेको बताएका थिए ।


प्रकाशित : आश्विन १६, २०७९ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्

अमलटारीमा आन्तरिक पर्यटकको घुइँचो

नारायण शर्मा

पूर्वी नवलपरासी — दसैंको अवसरमा पूर्वी नवलपरासीको अमलटारी घुम्न आउने आन्तरिक पर्यटकहरू बढेका छन् । पछिल्लो दुई साताको अवधिमा करिब ३ सयभन्दा बढी आन्तरिक पर्यटकले यहाँको भ्रमण गरेका छन् ।

‘नेपालीहरूको घुम्ने र रमाउने बानी बढेको देखिन्छ‚’ अमलटारीका होटल व्यवसायी जितनारायण थनेत भन्छन्‚ ‘पछिल्लो समय जंगल घुम्ने पर्यटकहरूको संख्या ह्वात्तै बढेको छ । असोजयता यहाँ आउनेहरू सबै नेपाली हुन् ।’

होमस्टे सञ्चालक र आसपासका होटल व्यवसायीले आन्तरिक पर्यटक बढाउन दसैं छुटको अफर दिएका छन् । अफरका कारण समूह-समूह बनेर आउनेहरूको संख्या बढेको छ ।

अमलटारी होमस्टेका अध्यक्ष एवं कावासोती नगरपालिकाका पूर्वउपमेयर प्रेमशंकर मर्दनियाका अनुसार आन्तरिक पर्यटक आकर्षित गर्न दसैं अफर दिइएको छ । कोठा र खानपानमा प्रतिव्यक्ति एक सय रुपैयाँ छुट दिइएको छ ।

जंगल सफारीमा आकर्षित गर्न एकपटक गाडीमा जंगल घुमेको ९ हजार लिइँदै आएकोमा यसपटक भने ८ हजार रुपैयाँमात्र लिने गरिएको छ । एउटा जिपमा एकैपल्ट १० जनासम्म घुम्न सक्छन् ।

‘मोटरसाइकलका यात्रु बढी खर्चालु’

होमस्टे र आसपासका होटलमा आउने आन्तरिक पर्यटकहरूमा गाडीमा आउनेहरूभन्दा मोटरसाइकलमा आउनेहरू बढी खर्चालु हुने गरेको जेएस होटल सञ्चालक जितनारायण थनेत बताउँछन् । गाडीमा चढेर आउने पर्यटकभन्दा मोटरसाइकलमा आउनेहरू बढी खर्चालु हुने गरेको र उनीहरूको बसाइ अवधि पनि २, ३ रातको हुने गरेको उनी बताउँछन् । अमलटारीमा भारतीय र तेस्रो मुलुकका पर्यटकहरू पनि उत्तिकै आउने गरेका छन् ।

पर्यटकहरूले यहाँको सांस्कृतिक भवनमा रात्रि थारु नाच हेर्ने र रमाउने गर्छन्; यस्तो नाचको आनन्द लिनेहरूको संख्या पनि बढ्दो छ ।

होमस्टे बाहिरका होटल व्यवसायीले पनि दसैं अफर भन्दै रुममा ५० प्रतिशतसम्म छुटको घोषणा गरेका छन् ।

प्रकाशित : आश्विन १६, २०७९ १२:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×