साहित्यकार ढुंगानालाई ‘पवित्रा–श्रीकृष्ण स्मृति सम्मान’

काठमाडौँ — साहित्यकार भुवन ढुंगानालाई ‘पवित्रा–श्रीकृष्ण स्मृति सम्मान’ अर्पण गरिएको छ । संस्थापक राधा कार्कीले आफ्ना माता–पिताको नाममा स्थापना गरिएको सो सम्मान तथा पुरस्कार ढुंगानालाई हालै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीद्वारा प्रदान गरिएको हो । उप्रेतीले ढुंगानालाई माला, खादा र सम्मानपत्रसहित २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरे ।

दिवंगत माता–पिताको सम्झनामा सम्मान तथा पुरस्कार स्थापना गरिएको संस्थापक राधा कार्कीले बताइन् । ‘भुवन मेडमको प्रेरणाले नै म यो स्थानमा छु’ उनले भनिन्, ‘उहाँले लेख्नुपर्छ, लेख, राम्रो काम गर भन्नुभयो, त्यसै प्रेरणाले मैले लेख्न थालेकी हुँ ।’ आफूलाई सधैं आशीर्वाद दिने मान्छेलाई सम्मान गर्न पाउँदा खुसी लागेको पनि उनले सुनाइन् ।
कुलपति उप्रेतीले प्राज्ञ परिषद् सदस्य रहेकी ढुंगानालाई आफूले सम्मान अर्पण गर्न पाउँदा खुसी व्यक्त गरे । आफ्ना बा–आमालाई सम्झेर कार्कीले यो सम्मान अर्पण गरेकोमा उनले धन्यवादसमेत दिए ।