१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

सहिद रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

कान्तिपुर संवाददाता

काठमाडौँ — किरात राई यायोक्खाले २००७ सालको राजनीतिक परिवर्तनमा ज्यानको आहुति दिएका सहिद रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ । यायोक्खाको ११औं राष्ट्रिय महाधिवेशनपछि शुक्रबार २१ बुँदे घोषणापत्र जारी गर्दै उक्त माग राखेको हो । 

सहिद रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

‘राज्यले जननायक सहिद रामप्रसाद राईलाई राजनैतिकआन्दोलनमा उहाँको योगदानको उच्च मूल्यांकन गर्दै अविलम्ब राष्ट्रिय विभूति घोषणा गर्न जोडदार माग गर्दछौं,’ घोषणापत्र जारी गर्दै यायोक्खाका महासचिव भिम राईले भने, ‘जसले देश कुनै अर्को देशको छायाबाट मुक्त हुनुपर्छ र संघीय गणतन्त्र नेपाल बन्नुपर्छ भनेर सात दशकअघि घोषणा गरेका थिए ।’

राईले ००७ सालको राणा शासनविरुद्ध भएको सशस्त्र आन्दोलनपूर्व माझकिरातबाट जनमुक्ति सेनाको नेतृत्व गरेका थिए । इतिहास अध्यता भोगीराज चाम्लिङकाअनुसार राई नेतृत्व फिल्ड कमान्डिङमा भोजपुर, दिक्तेल र ओखलढुंगा कब्जा जमाएर राणा शासकलाई परास्त गरेका थिए ।

००७ सालको आन्दोलनको सफलतासँगै राणा, कांग्रेस र राजाबीच त्रिपक्षीय दिल्ली सम्झौता भएको थियो । तर, उक्त सम्झौतालाई रामप्रसाद राईको नेतृत्व टोलीले पूर्ण प्रजातन्त्र र भारतको छाया्मुक्त गर्नुपर्छ भन्दै विद्रोह गरेका थिए । फलस्वरूप‘सिंहदबार कब्जा’को प्रयास गरेका थिए ।

‘राजा त्रिभुवनले पनि धोखा दिएकाले गणतन्त्रतर्फ अघि बढ्नु पर्ने आवाज उठाएर स्वराज अर्थात् संघीय स्वायत्त शासन हुनुपर्ने घोषणा गरेका थिए,’अध्यता चाम्लिङ भन्छन्, ‘वर्तमान संघीय स्वशासनको उद्घोषण उनै रामप्रसाद राईले ००७ सालपछि बिजारोपण गरेका थिए । त्यही आधारमा उनी (रामप्रसाद राई) राष्ट्रिय विभूति घोषणायोग्य जननायक हुन् ।’ रामप्रसाद राईको जन्म भोजपुरको बासिखोरामा भएको थियो । क्रान्तिका क्रममा उनको मृत्यु सिंहदरबारभित्र वा चीनतर्फ जाँदा षडयन्त्रपूर्वक मारिए भन्ने तथ्य बाहिर आएको छैन ।

यसैगरी प्रदेश–१ को नाम ‘किरात प्रदेश’हुनुपर्ने यायोक्खाले भनेको छ । ‘आगामी मंसिर ४ गते हुने निर्वाचनमा १ नम्बर प्रदेशको नाम किरात प्रदेश राख्ने घोषणापत्र ल्याउन राजनीति दलहरुलाई आह्वान गर्दछौं,’ घोषणापत्रमा छ, ‘किरात प्रदेश नाम राख्न पहल गर्ने संगठनका उम्मेदवारलाई सहयोग गर्नेछौं ।’

यायोक्खाले किरात राई जातिभित्र २६ वटा भाषा विद्यमान रहेको र प्रदेश–१ को सरकारी कामकाजको भाषाअन्तर्गत कम्तीमा २ वटालाई सरकारी कामकाजको भाषा बनाउन माग गरेको छ । अरुलाई भाषालाई पालिका र वडापालिकाको सरकारी कामकाजको भाषा बनाउन भनेको छ ।

यायोक्खाको एघारौं राष्ट्रिय महाधिवेशनबाट जीवन हाताचो राईको नेतृत्वमा ५६ सदस्यीय कार्यसमिति चयन गरेको छ । कोटेश्वरमा आयोजित घोषणापत्र सार्वजनिक समारोहमा उपाध्यक्ष राकेश राई, उपाध्यक्ष जनक राई, पूर्वअध्यक्ष तिलक राईलगायत विचार राखेका थिए ।

प्रकाशित : आश्विन १४, २०७९ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अतिरिक्त भत्ता स्वत: नपाए त्रिवि ठप्प पार्ने कर्मचारीहरूको धम्कीलाई के भन्नुहुन्छ ?