कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बुढ्यौलीमा तीन पुस्तक

पुस्तकमा गुरूङ जातिको भाषा, परम्परा, संस्कार र संस्कृति
आश गुरुङ

लमजुङ — गुरुङ पुरोहित प्राज्ञ इन्द्रबहादुर गुरुङले ८८ वर्षको उमेरमा ३ पुस्तक एकैपटक सार्वजनिक गरेका छन् । गुरुङ भाषा र संस्कृतिका विज्ञ उनले प्रेरणा, गुरुङ पर्यावरण गीत र शिव धर्म नामक किताब लेखेका हुन् । लमजुङको क्व्होलासोंथर–९ गिलुङका गुरुङले यसअघि थुप्रै किताब लेखिसकेका छन् ।

बुढ्यौलीमा तीन पुस्तक

बुढ्यौली उमेरमा पनि लेखनमा सक्रिय उनले पछिल्लो समय लेखेको प्रेरणामा विश्वभरका ७५ व्यक्तिका प्रेरणा समावेश गरिएको छ । गुरुङ पर्यावरण गीतमा लेकमा जात्रा जाँदा, लेकाली गोठ तथा कन्दरामा गाइने पौराणिक गीत समावेश छन् । शिव धर्ममा उनले सपनाको देखेको शिवबारे व्याख्या गरिएको छ । गुरुङ पर्यावरण गीत प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको छ । दुई पुस्तक भने परिवारले नै प्रकाशन गरेको ज्वाइँ सुरेन्द्रमान घलेले बताए ।

लेखक प्राज्ञ गुरुङले भाषा र संस्कृति जोगाउन विद्यालयमै भाषागत पढाइ हुनुपर्ने भन्दै आए पनि अहिलेसम्म पूरा नभएको गुनासो गरे । ‘भाषा र संस्कार भएन भने जातीय अस्तित्व हराउँछ, पहिचान हराउँछ । पहिचान हराए भने भोलि मान्छे नै हराउने अवस्था आउँछ,’ उनले भने, ‘भाषा र संस्कृतिले समाज जोडेको हुन्छ । यसलाई बचाए मात्रै हामी बाँच्छौं ।’ उनले आफ्ना पुस्तकमा गुरुङ जातिको भाषा, परम्परा, संस्कार र संस्कृतिलाई उजागर गरेको बताए ।

पञ्चायतकालमा तत्कालीन जिल्ला विकास समिति लमजुङका उपसभापति रहेका गुरुङ सामाजिक व्यक्तित्व हुन् । यसअघि पैंडी (पुरोहित) कार्य गर्दै आएका उनले जीवनको उत्तरार्द्ध ६० वर्षको उमेरदेखि लेखन र अध्ययनमा लागेका थिए । १९९१ भदौ ३१ मा गिलुङमा जन्मिएका उनले तमु (गुरुङ) सांस्कृतिक दिग्दर्शन, फलित बुद्ध–बोन्वो क्यालेन्डर, तो ताँ सों फु, सेर्गा क्वे, तमु चि, गुरुङ–नेपाली शब्दकोष, गुरुङ गाउँको नाम, तमु राज्य व्यवस्थाको मूल आधार नालसभा, इन्द्रबहादुर गुरुङ अनुभव र अनुभूतिलागयत दर्जन पुस्तक प्रकाशित छन् । उनले भूगोलविद् डा. हर्क गुरुङको प्रेरणाबाट गुरुङ भाषा, संस्कार र संस्कृतिको विषयमा लेख्न र अध्ययन अनुसन्धानमा लागेको बताए ।

पोखरामा बिहीबार ३ वटै पुस्तकको एकसाथ विमोचन गर्दै प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले जानेबुझेका कुरा लेखेमा यसले अरुलाई फाइदा दिने बताए । ‘मनका कुरा मनमै राख्यो भने पाप लाग्छ । हामीले लेखेका कुरा भोलि काम लाग्छ,’ उनले भने । उनले इन्द्रबहादुर एउटा पाठशाला रहेको बताए । ‘भोलिका दिनमा इन्द्रबहादुर गुरुङको विषयमा कसैले पीएचडी गर्न सक्छ,’ उनले भने ।

संविधानसभाका सभासद् सदस्य जमीन्द्रमान घलेले गुरुङ समुदाय अध्ययन अनुसन्धानमा पछि पर्दा यसले इतिहास, परम्परा, भाषा, संस्कार र संस्कृतिमा प्रभाव पारेको बताए । लमजुङको क्व्होलासोंथार गाउँपालिकाका पूर्वअध्यक्ष प्रेमबहादुर घलेले गुरुङ समुदायका भाषा र संस्कृति लोप हुने अवस्थामा पुगेको बताए । ‘हाम्रा भाषा र संस्कार संस्कृति लोप हुने अवस्थामा छ । संस्कार संस्कृतिलाई लेखेर राख्ने काम नहुँदा लोप हुने अवस्थामा छ । यसलाई बचाउन आवश्यक छ,’ उनले भने ।

प्रकाशित : आश्विन ९, २०७९ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?