राईको कवितासंग्रह ‘यारी’ सार्वजनिक

काठमाडौँ — भूपाल राईको कवितासंग्रह ‘यारी’ सार्वजनिक भएको छ । थापागाउँस्थित मण्डला थिएटरमा शनिबार राईसहित कविहरु बिमल निभा, विप्लव ढकाल, बिमला तुम्खेवा, केवल बिनाबी र रिमा केसीले संग्रहमा भएका केही कविताहरु वाचनसँगै कृति लोकार्पण गरे । 

राईको कवितासंग्रह ‘यारी’ सार्वजनिक

समारोहमा परम्परागत शैलीभन्दा केही फरक रुपमा कविहरुकै जमातमा संग्रहलाई सार्वजनिकीकरण गरिएको थियो । संग्रहलाई कवि राईले ‘सार्वजनिक’ र ‘यारी’ गरी दुई खण्डमा विभाजन गरेका छन् । समुदाय, समय र राज्यसँग लडिरहेको समाजलाई उनले ‘सार्वजनिक’ र ‘यारी’ लाई नितान्त निजी खण्डका रुपमा अलग्गै राखेका छन् । कवि राईका अनुसार ‘यारी’ किराती सांस्कृतिक मान्यता अनुसार जोखना खुट्याउने शब्द हो । ‘यारी’ शब्दले आफ्नो जीवनमा विशेष अर्थ राख्ने बताउँदै राईले यही शब्दप्रेमले पात्रहरु आरोपित गर्दै संग्रहका रुपमा आएको सुनाए ।

‘परम्परागत समीक्षा वा टिप्पणी भन्दा समकालीन कविताका पाठकहरु नै समीक्षक हुन्’, उनले भने,‘कवितामा यो ठिक छ या छैन भन्ने अधिकार पाठकको हुन्छ ।’ कविता लेख्ने मान्छे समाजको प्रवक्ता भएको जिकिर गर्दै उनले कविले जे बोल्छ समाजकै कुराहरु समेटिने सुनाए । उनका अनुसार कविले बोलिसकेको कुरा बाहिर छापिएर आएपछि समाजको हुन्छ । कविले बोलेका कुराहरु नै समाजको अभिन्न अंग र विषय हुने उनले ठहर गरे ।

राईको यसअघि ‘सुम्निमाको तस्बिर’, ‘दाजै कविता गाउँमै छ’, ‘सीमान्त सौन्दर्य’, ‘आगोले जन्मोत्सव मनाउँदैन’ जस्ता कवितासंग्रहहरु र ‘विम्ब’ लगायतका गीति एल्बमहरु प्रकाशित छन् ।


प्रकाशित : आश्विन ८, २०७९ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?