१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

महाकवि सिद्धिदासको जन्म जयन्तीमा गजल वाचन

काठमाडौँ — नेपाल भाषाका महाकवि सिद्धिदास महाजुको १ सय ५५ औं जन्म जयन्तीको अवसरमा आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा गजल वाचन गरिएको छ । नेपाल भाषाको गजल विधामा सिद्धिदासलाई नै पहिलो लेखक मानिन्छ र उनकै गजलबाट यो परम्परा सुरु भएको मानिन्छ ।

महाकवि सिद्धिदासको जन्म जयन्तीमा गजल वाचन

‘सिद्धिदास महाजुको व्यक्तित्व र कृतित्व’ विषयक कार्यक्रममा अगिव बनेपाली, बद्री वेदना, अमृतमान शाक्य, भुषणप्रसाद श्रेष्ठ, सञ्जय शर्मा, रासा, सुशील राजोपाध्याय र तुयु पुंले आ–आफ्नो गजल वाचन गरेका थिए । कार्यक्रमका अवसरमा राजेन्द्रप्रसाद पुताले ‘महाकवि सिद्धिदास र नेपाल भाषाय् गजल’ विषयमा आफ्नो कार्यपत्र पनि प्रस्तुत गरेका थिए ।

नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा विभागद्वारा आयोजित त्यस कार्यक्रममा नेपाल भाषा साहित्यमा सिद्धिदासको योगदानबारे पनि चर्चा गरिएको थियो । यस विभागकी प्रमुख लक्ष्मी मालीले नेपाल भाषामा कविताको वास्तविक परम्परा सिद्धिदासबाट सुरु भएको बताइन् । उनले नेपाल भाषा साहित्यका चार खम्बामध्ये एक मानिएका सिद्धिदास युगान्तकारी साहित्यकार रहेको बताएकी थिइन् ।

सिद्धिदासको जन्म नेपाल संवत् ९८७ मा भएको थियो । उनलाई नेपाल भाषाको पद्य गुरु मानिन्छ । उनीसँगै नेपाल भाषाको पद्य विधामा पुनरुत्थान सुरु भएको पनि मानिन्छ । नेपाल संवत् १०४० मा उनको पहिलो गजल प्रकाशित भएको इतिहास छ । त्यससँगै नेपाल भाषा साहित्यमा गजल परम्परा सुरु भएको थियो ।

प्रकाशित : आश्विन २, २०७९ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?