एक रुपैयाँमै पुस्तक- साहित्य/विविध - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक रुपैयाँमै पुस्तक

सुशीला तामा‌ङ

काठमाडौँ — साझा प्रकाशनले पुल्चोकस्थित केन्द्रीय कार्यालयमा सुरु गरेको पुस्तक प्रदर्शनीमा एक रुपैयाँमै पुस्तक खरिद गर्न सकिन्छ । प्रदर्शनीमा वासुदेव शर्मा लुइँटेलको कवितासंग्रह ‘भीमसेनपाती’लाई पाठकले एक रुपैयाँमा खरिद गर्न सक्छन् ।

रुपायन प्रकाशन काठमाडौंद्वारा २०२७ सालमा प्रकाशित संग्रहको मूल्य पुस्तकमा एक रुपैयाँ रहे पनि हाल प्रकाशनले २ रुपैयाँ तोकेको छ । साझाले प्रदर्शनीमा २०४० सालभित्र प्रकाशित भएका पुस्तकहरूमा ५० प्रतिशत छुट दिएकाले छुटसहित पुस्तक एक रुपैयाँमै खरिद गर्न सकिन्छ ।संग्रहमा उल्लेख भए अनुसार लुइँटेलले ‘भीमसेनपाती’, फूलको रुख भए पनि यसको विशेषता, उपयोगितालाई लिएर प्रतीकात्मक रुपमा संग्रहको शीर्षकमा ढालेका छन् । संग्रहमा कृष्णचन्द्रसिंह प्रधानले लेखेको भूमिका अनुसार व्यंग्य र आत्मा बोकेको आधुनिक साहित्यमा ‘भीमसेनपाती’ स्वतन्त्र अस्तित्व बोकेको त्यस क्षण र घडीको कविता हो, जहाँ जीवनका यथार्थहरू हाँसो र व्यंग्यमा ओर्लेर कानेखुसी गर्छन् र एउटा सत्य उभ्याएर हामीलाई हामीसितै परिचय गराइदिन्छ ।’

प्रदर्शनीमा सबैभन्दा बढी मूल्य कायम गरिएको प्राध्यापक नीलमणि ढुंगानाको ‘संस्कृति नेपाली शब्दकोष’ पनि राखिएको छ । उक्त पुस्तकको मूल्य २८ सय रुपैयाँ रहेको छ । साझाका अनुसार प्रदर्शनीमा आफ्नै प्रकाशनका मात्र २१ सयभन्दा बढी पुस्तकहरू प्रदर्शनीमा छन् । साझा बाहेक प्रज्ञा प्रतिष्ठान तथा अन्य संस्थाहरूबाट प्रकाशित पुस्तकहरू समेत प्रदर्शनीमा राखिएका छन् ।

दसैं तथा तिहारको अवसर पारेर नेपाली साहित्यप्रेमी पाठक, अनुसन्धाता तथा स्रष्टाहरूका लागि पुस्तक प्रदर्शनी गरिएको साझाका महाप्रबन्धक प्रल्हाद पोख्रेलले बताए । उनका अनुसार कोरोना महामारी हुनुअघि साझाले पुस्तक प्रदर्शनीलाई निरन्तरता दिइरहे पनि महामारीका कारण रोकिएपछि पुनः सुरु गरिएको हो । महामारीपछि वैशाख महिनामा पनि भण्डारणमा रहेका पुस्तकहरू पाठकसमक्ष पुर्‍याउन साझाले केन्द्रीय कार्यालयसँगै, प्रज्ञा प्रतिष्ठान, भृकुटीमण्डप, विराटनगर, धरान, पोखरा, चितवन लगायत देशैभरका १४ शाखामा ८० प्रतिशतसम्म छुट दिएर पुस्तक प्रदर्शनी गरेको थियो ।

अहिलेको प्रदर्शनीमा भाषा, साहित्य, इतिहास, संस्कृति, धर्म, राजनीति, स्वास्थ्य, विज्ञान, शिक्षा, कृषि, यात्रा संस्मरण, जीवनी तथा बाल साहित्यका पुस्तकहरू समावेश गरिएको पोख्रेलले बताए। प्रदर्शनीमा २०५० सालभित्र प्रकाशित पुस्तकहरूमा ४० प्रतिशत, २०५१ सालपछि प्रकाशित पुस्तकहरू र अन्य प्रकाशनका पुस्तकहरूमा ३० प्रतिशत, सबै किसिमका शब्दकोशहरूमा २५ प्रतिशत र गरिमा २०७८ अघिका अंकहरूमा ८० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

प्रदर्शनीमा बाल साहित्य र जीवनीका पुस्तकहरूप्रति पाठकको रोजाइमा रहेको उनको भनाइ छ । उनले भने, ‘प्रदर्शनीले पाठकको आवश्यकता पूर्तिसँगै साझालाई पनि केही आर्थिक लाभ भएको छ । पाठकलाई कस्ता प्रकारका पुस्तकहरू चाहिने रहेछ भन्ने कुरा पनि प्रदर्शनीबाट थाहा भएको छ ।’ साझाले नयाँ लेखकहरूसँग समन्वय गरेर नयाँ पुस्तकहरू पनि प्रकाशन सुरु गरेको उनले बताए । ‘साझाको आफ्नै समस्याहरूले हामीले लेखकलाई रोयल्टी दिन नसकेको हामी स्वीकार्छौं, तर नयाँ लेखकहरूलाई भने स्वयं लेखकले नै ५ सय वटा पुस्तकहरू खरिद गर्ने सर्तसहित सुरुमै रोयल्टी दिएर पुस्तक प्रकाशन गर्न थालेका छौं’, उनले भने ।

साहित्यिक पुस्तक, पाठ्यपुस्तक निर्माण तथा प्रकाशन, पुस्तक बिक्री तथा वितरणमा साझालाई सरकार मातहतको अग्रणी संस्थाका रुपमा लिइन्छ । पछिल्ला दशकमा राजनीतिक हस्तक्षेपले धराशायी बन्दै आर्थिक संकटमा परेको साझा पुनः तग्रिने अवस्थामा प्रयासरत छ । साझाले २०७५ मंसिरदेखि बन्द गरेको गरिमा पत्रिकाको साउन महिनादेखि पुनः प्रकाशन थालनी गरेको छ । पुस्तक प्रकाशन, पुनः प्रकाशन, पाठ्यक्रम निर्माण जस्ता सबै कार्यलाई बिस्तारै निरन्तरता दिएर साझालाई अगाडि बढाउने प्रयास जारी रहेको पोख्रेलले बताए ।

भदौ १९ गते सुरु गरिएको यही शुक्रबारसम्म जारी रहनेछ । पोख्रेलका अनुसार पाठकहरूको मागलाई ध्यानमा राख्दै पुस्तक प्रदर्शनीलाई समेत व्यवस्थित र सहज बनाउन साझाले योजनाहरू बनाउँदै छ ।

प्रकाशित : भाद्र २९, २०७९ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्

 झापामा ‘हिउँको पृथ्वी यात्रा’ 

पर्वत पोर्तेल

काठमाडौँ — गत १२ जेठमा भारतको कालिम्पोङको नाट्य उत्सवमा पहिलो पटक प्रदर्शन भएको ‘हिउँको पृथ्वी यात्रा’ नदीको कथा भन्दै यतिवेला देश दौडाहामा छ ।

यसअघि राजधानीका ५ विभिन्न स्थानसहित शिल्पी थिएटरमा ३३ शो गरिएको थियो । त्यसभन्दा पहिले भरतपुर, धनुषा र सुनसरी जिल्लामा १२ पटक नाटक देखाइएको थियो ।

नाटक ‘हिउँको पृथ्वी यात्रा’ अहिले झापामा प्रदर्शन भइरहेको छ । दोश्रो देश दौडाहा भदौ १६ देखि देखि सुरु भएको हो । तनहुँ, पोखरा, वुटवल, विराटनगर हुँदै यतिवेला झापामा नाटक प्रदर्शन भइरहेको छ । यहाँ स्थानीय परिवर्तन थिएटरको संयोजनमा ६ वटा शो गरिनेछ ।

घिमिरे युवराज र अमजद प्रवेजको लेखन/ निर्देशन रहेको नाटकले हिमालबाट बग्दै बग्दै आएका नदीले आफ्नो कथा कहन्छन् । पवित्रा खड्का, संगीता उरााव, झकेन्द्र बिसी, ज्योति पोखरेल, रविन परियार, गोविन्द ओली, हिमाल भुजेल, सुशीला लोहार, ज्याक बराललगायत कलाकारको उम्दा अभिनय रहेको नाटकको शक्तिशाली पक्ष संगीत हो । अनुप तिमिल्सिना र स्मारिका फुँयालको मिठो स्वरले नाटक बेजोड बनेको छ ।

आगामी नोभेम्वरमा भारतको असममा आयोजना हुने अन्तर्राष्ट्रिय नाट्य उत्सवमा पनि प्रदर्शन गरिने निर्देशक घिमिरेले जनाए ।




प्रकाशित : भाद्र २९, २०७९ १८:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×