कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘नेपालीलाई भाषाले जोड्छ’

पर्वत पोर्तेल

कोलकाता, भारत — भारत–नेपाल जनमैत्री सांस्कृतिक संघले आयोजना गरेको चौथो नेपाली अन्तर्राष्ट्रिय साहित्य सम्मेलनको अन्तिम दिन सिक्किम विश्वविद्यालयकी डिन डा. कविता लामा भन्दै थिइन्, ‘विश्वका नेपालीलाई जोड्ने एउटै माध्यम भाषा हो ।’

‘नेपालीलाई भाषाले जोड्छ’

नेपाली साहित्यको केन्द्र विगतमा दार्जिलिङ रहेको र त्यो केन्द्र अहिले भत्किएको उनको भनाइ छ । ‘दार्जिलिङले साहित्यिक पहिचान लगभग गुमाइसकेको छ,’ उनले भनिन् । आइतबार नेपाल र भारतका विभिन्न विद्वान्विदुषीले नेपाली भाषा, विश्व साहित्य, नारीवाद जस्ता विषयमा अवधारणा पत्र पेस गरे । अवधारणा पत्रपछि गम्भीर बहस छाड्दै दुईदिने साहित्य सम्मेलन कोलकाताको कला मन्दिरमा सम्पन्न भएको छ । दीनबन्धु कलेज कोलकाताका हिन्दी विभाग प्रमुख डा. सत्यप्रकाश तिवारीले नेपाली कवि युद्धप्रसाद मिश्र र भारतका समकालीन कवि नागार्जुनबारे चर्चा गरे ।

प्राध्यापक सुरेन्द्र केसीले नेपाल र भारतबीचको सामाजिक, सांस्कृतिक, साहित्यिक बनावटबारे चर्चा गरे । ‘उपनिवेशवादले भारतलाई र सामन्तवादले नेपाललाई जोड्ने काम गर्‍यो,’ उनले भने । भारतको स्वतन्त्रता संग्राममा नेपाली गोर्खाबारे असमका प्राध्यापक डा. पुरुषोत्तम भण्डारीले धारणा राखे । सन् १८९१ देखि करिब एक हजार गोर्खा सैनिकले ज्यान गुमाएको बताउँदै उनले भारतले नेपाली गोर्खाको योगदानको उच्च कदर नगरेको सुनाए । डा. रेनुका सोलुले नेपाली साहित्य र नारीवाद, आशा उपाध्यायले बुद्धिजीवी र सावित्री कक्षपतिले कोलकाताका नेपालीबारे चर्चा गरेका थिए ।

कार्यक्रममा नेपाली, हिन्दी, बंगाली, उर्दु र अंग्रेजी भाषामा नेपाल र भारतका दर्जनभन्दा बढी कविले रचना सुनाए । जरिना जरिन, अमिताभ चक्रवर्ती, अमित मुखर्जी, सञ्जीव गुरुङ, विकाश कार्की, रमा शर्मा, धनराज थापा, गोपाल भित्रीकोटी, निमा निष्कर्ष र आशा उपाध्याय बराल (कोलकाता), दीपा राई र रवि रोदन (सिक्किम), शमशेर अली, सुकराज दियाली, विमर्श गुरुङ (दार्जिलिङ), नीरु पराजुली (असम), भवानी अधिकारी (मणिपुर) र विलोम शर्मा (पञ्जाब), अशेष मल्ल, रामप्रसाद ज्ञवाली, शैलेन्दु प्रकाश नेपाल, दिव्य गिरी (नेपाल) ले रचना सुनाए ।

प्रकाशित : भाद्र २८, २०७९ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?