कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

‘याक्थुङ साम्जिक मुन्धुम’लाई एक लाखको पुरस्कार

काठमाडौँ — लिम्बू जातिको धार्मिक ग्रन्थ ‘याक्थुङ साम्जिक मुन्धुम’‘रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार’ प्रदान गरिएको छ । किरात याक्थुङ चुम्लुङको ३४औं वार्षिकोत्सवका अवसरमा १ लाख रुपैयाँ राशिको उक्त पुरस्कार स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङ, चुम्लुङका अध्यक्ष प्रेम यक्तेनले हस्तान्तरण गरेका हुन् । 

‘याक्थुङ साम्जिक मुन्धुम’लाई एक लाखको पुरस्कार

इतिहास तथा संस्कृतिविद् मञ्जुलकुमार याक्थुम्बाले हजुरआमा र आमाको नाममा स्थापना गरेको पुरस्कार कोषबाट हरेक दुई वर्षमा पुरस्कार प्रदान गरिँदै आएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले यसैसाता राजधानीमा उक्त मुन्धुम सार्वजनिक गरेको मुन्धुम धार्मिक अनुष्ठान तथा जन्मदेखि मृत्यु पर्यन्तसम्मको संस्कार तथा आध्यात्मिक दर्शन समेटिएका छन् । ‘सृष्टिकालदेखि अहिलेसम्म पुर्खाले भनि आएका विश्वासका कथा अनि जीवन बाँच्ने आधारहरू नै मुन्धुम हो,’ काइँलाले भने, ‘सृष्टिभन्दा पहिले उत्पत्ति भएको हो । हाम्रो साम्जिक मुन्धुम आध्यात्मिक दर्शनका कुरा हुन्, जुन हाम्रा साम्बा, येबाले भन्दै आएका छन् । हामीले त्यसको अनुशरण गर्दै आएका छौं । यसमा सामाजिक, आध्यात्मिक, राजनीतिकलगायत पक्ष जोडिएका छन् ।’

मुन्धुमको संकलन कार्य येबा पूर्णप्रसाद तबेबुङ, येबा खड्कबहादुर इधिङ्गो, साम्बा बुद्धिराज मादेन र युमा भक्तिदेवी फुरुम्बोले गरेका हुन् । लिम्बुवानको तमोरखोला क्षेत्रलाई आधार मानेर मुन्धुम संकलन गरिएको जनाइएको छ ।

लिम्बु जाति, भाषा, मुन्धुमबारे इमानसिंह चेम्जोङबाट लेखन तथा प्रकाशन आरम्भ भएको मानिन्छ । लिम्बु जातिको हालसम्म ६५ वटा मुन्धुम प्रकाशित छन् । त्यसमा ‘याक्थुङ साम्जिक मुन्धुम’ सबैभन्दा बृहत् मानिएको छ । लिम्बु जातिले मान्दै, सुन्दै र भन्दै आएका विश्वब्रह्माण्डको सृष्टिदेखि विगत दुई सय वर्ष अघिसम्मका मुन्धुम रहेका छन् । जन्मदेखि मृत्युपर्यन्तका सबै कर्मसंस्कार, विधि र सामग्रीसहित प्रकाशित छ ।

करिब दुई हजार पानाको मुन्धुम लिम्बु भाषा सिरिजङ्गा लिपि, देवनागरी र नेपाली भाषा, त्यसैगरी लिम्बु भाषालाई भाषाशास्त्रीय अध्ययनलाई लिएर आईपीए (इन्टरनेसनल फोनेटिक अल्फाबेट)मा समेत अनुवाद गरिएको छ । सोधुङ्गे लेप्मुहाङ फेदाङ्माजानपा संघ झापाले प्रकाशित गरेको मुन्धुमको सम्पादन र अनुवाद डीबी आङबुङले गरेका हुन् ।


प्रकाशित : भाद्र १९, २०७९ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?