१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

'कमरेडको जनै' कवितासंग्रह सार्वजनिक

काठमाडौँ — युवाकवि सुविन न्यौपाने 'कान्जिभाइ'को पहिलो कवितासंग्रह 'कमरेडको जनै' सार्वजनिक भएको छ । प्रज्ञा प्रतिष्ठानमा शुक्रबार कवि श्रवण मुकारुङ, बिन्दु शर्मा, मानुषी भट्टराई र नेता विश्वप्रकाश शर्माले संग्रह सार्वजनिक गरे ।

'कमरेडको जनै' कवितासंग्रह सार्वजनिक

कार्यक्रममा बोल्दै लेखक मानुषी भट्टराईले सामान्यजस्तो लाग्ने पात्र-प्रवृत्तिलाई समेत कवि कान्जिभाइले असाधारण ढंगले पस्किएको बताइन् । भुइँमान्छेको प्रतिनिधित्व गर्न सक्ने कविता भएको बताउने मानुषिले भनिन्, 'कमरेडको जनैभित्रका कविताले हरेक राजनीतिकर्मीलाई कसका लागि राजनीति गरिएको छ भनेर सोच्न बाध्य गराउने छ ।'

समीक्षक बिन्दु शर्माले भने सार्वभौम अभिव्यक्ति र समकालीन चेतका आधारमा कविले कविता रचना गरेको उल्लेख गरिन् ।

कवि श्रवण मुकारुङले कविताको विषयवस्तु समान भए पनि कविको शिल्प र शैली नितान्त मौलिक हुनुपर्नेमा जोड दिए ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कवि-लेखकले नेतृत्ववर्गलाई सधैं सचेत राख्न धारिला सिर्जना गरिरहनुपर्ने बताए । 'देश बन्नु भनेको बाटो र बिजुली बन्नुमात्र होइन, ठूला भवन र सहर बन्नुमात्र होइन । संस्कृति, सभ्यता र कलामा समुन्नत हुनुचाहिँ देश बन्नु हो,' नेता शर्माले भने ।

कार्यक्रममा सन्तोष भट्ट र निर्भीकजंग रायमाझीले संग्रह भित्रबाट कविता वाचन गरेका थिए । इन्डिगो इन्कले प्रकाशन गरेको 'कमरेडको जनै' भित्र ४७ थान कविता संग्रहित छन् ।

प्रकाशित : भाद्र ३, २०७९ २१:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?