कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

तङसिङमाथि तर्कना

कान्तिपुर संवाददाता

काँकडभिट्टा — दार्जिलिङका कवि राजा पुनियानी शनिबार सखारै मेची तरेर आइपुगे सीमान्त सहर काँकडभिट्टा । यी जन्ड कविलाई रिडर्स झापाले निम्त्याएको थियो, उनकै नयाँ कविता संगालो ‘तङसिङ’ माथि परिचर्चाका खातिर ।

तङसिङमाथि तर्कना

सहजकर्ता दामोदर ढुंगेलले परिवर्तन थिएटरको प्रेक्षालयमा कवि राजासँगै कविहरु प्रकाश थाम्सुहाङ र मायामितु न्यौपानेसँग करिव एक घण्टा ‘ईको पोइट्री’ तङसिङमाथि तर्कना गरे । ‘मैले लेख्छु भनेर लेखेको कृति हैन यो,’ राजाको सुरुआती उत्तर थियो, ‘यो एउटा सुखद दुर्घटना हो ।’

मान्छेमा माथि कविता लेख्दा लेख्दै थाकेका राजा अचेल औजारमाथि कविता लेख्दैछन् । हम्मर, झम्फल, गैती, हँसिया, हथौडा, कैंचीमाथि लेखिएको कविताको संगालो पनि चाँडै बजारमा ल्याउने राजाको तरखर छ ।

अघिल्लो वर्षको कोभिड महामारीका बेला कोभिडसँगै जुध्दै एक दिने उनले सोचे, ‘मरिन्छ कि के हो ?’ त्यसपछि उनले मर्नुअघि कम्तिमा पर्यावरणबारे कृति प्रकाशित गरेर मरौ भन्ने ठाने, अनि जन्मियो तङसिङ । लिम्बूका भान्जा यिनलाई सानैदेखि लिम्बू संस्कृतिले तान्यो । मुन्धुमको सौन्दर्यले खिच्यो । तङसिङ, माङगेना, आदि लिम्बू मिथकीय शब्दप्रति यिनको लगाव बढ्दै गयो ।

अन्तत: प्रकृति पूजक लिम्बूको सांस्कृतिक बिम्ब तङसिङलाई यिनले पर्यावरणबारे लेखिएको आफ्नो कृतिको शीर्षक बनाइदिए । ‘विनाशको तीव्र गतिमा रहेको पृथ्वी अनि प्राणी जगत्‌को दु:खलाई कवितामा समेट्ने चेष्टा गरेको छु’, हस्तक्षेपी कवि राजाले थपे ।

कवि, पत्रकार मायामितु न्यौपानेलाई लाग्यो, तङसिङ प्रकृति जोगाउन गरिएको एक खाले हस्तक्षेप नै हो । ‘कविले कवितामार्फत प्रेम गरेको देखिन्छ तर त्यो प्रेम हस्तक्षेपकारी छ ।’

प्रकृतिमाथि मानव निर्मित संकटप्रति तङसिङले तीखो व्यंग्य वाण प्रहार गरेको कवि प्रकाश थाम्सुहाङको मत छ । ‘प्रकृतिको दोहनप्रति कविको गहिरो चिन्ता छ यो स्वाभाविक पनि हो’, थाम्सुहाङ प्रतिप्रश्न गर्छन्, ‘तर, सबै मुद्दाको चिन्ता लिने ठेक्का कविहरुको मात्रै हो त ?’

प्रकाशित : श्रावण २९, २०७९ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?