१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

मनाइयो संस्कृत दिवस

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्वको सबैभन्दा समृद्ध संस्कृत साहित्यलाई नेपाली भाषामा अनुवादसहित यसको विस्तारलाई प्राथमिकता दिनुपर्ने विज्ञले बताएका छन् । नेपाल शिक्षण परिषद्, पद्मकन्या क्याम्पस र स्वामि विवेकानन्द सांस्कृतिक केन्द्रको संयुक्त आयोजनामा ५१औं संस्कृत दिवसमा उक्त विचार व्यक्त गरेका हुन् । 

मनाइयो संस्कृत दिवस

संस्कृतका विद्वान योगी नरहरिनाथ, नयराज पन्तलगायतले यो दिवस मनाउने परम्पराको थालनी गरेका थिए । शताब्दीऔंदेखि विकसित संस्कृत साहित्यको अध्ययन, अध्यापन, अनुसन्धान, प्रकाशन कार्यलाई निरन्तर राख्न राज्यको पहल आवश्यक रहेको समेत बताए ।

भारतीय दूतावासअन्तर्गत स्वामि विवेकानन्द सांस्कृतिक केन्द्रकी निर्देशक आशावरी वापटले संस्कृतलाई जीवित राख्न संस्कृत साहित्यको पठनपाठन महत्वपूर्ण हुने बताइन् । ‘मुलुकका जुनसुकै भाषाको संरक्षण र व्यवस्थापनका निम्ति सकारात्मक सोंचको जरुरी हुन्छ,’ निर्देशक वापटले भनिन्, ‘विश्व साहित्यमा सर्वोत्कृष्ट संस्कृत साहित्यलाई पठनपाठन महत्वपूर्ण छ ।’

राष्ट्रिय समावेशी आयोगका अध्यक्ष रामकृष्ण तिमल्सेनाले संस्कृत साहित्य नेपाली समाजबाट टुट्न दिन नहुने बताए । ‘संस्कृतलाई कर्मकाण्डमा सीमित गरियो,’ संस्कृत अनुवाद र पुन:रावृत्तिले मात्र नहुने उल्लेख गर्दै उनले भने, ‘खस–आर्य बाहेककालाई संस्कृत ज्ञान लिनबाट बन्चित गरिएकाले यसको लोकप्रियतामाथि आँच आएको हो । संस्कृतमा भएका उत्कृष्ट ज्ञानलाई पहिल्याउन जरुरी छ । नयाँ साहित्य सिर्जना हुन जरुरी छ ।’

प्राध्यापक काशीनाथ न्यौपानेले संस्कृत लोकभाषा, जनभाषाका रूपमा समृद्ध रहेको विश्वमा यसको महत्व अतुलनीय रहेको उल्लेख गरे । ‘पूर्वी दर्शनलाई लिएर युरोप, अमेरिकाका विश्वविद्यालयमा संस्कृतको अध्ययन अनुसन्धान हुन्छ,’ उनले भने, ‘तर हाम्रो मुलुकले प्राथमिकता दिन नसक्नु कमजोरी हो ।’

वासुदेवकृष्ण शास्त्रीले संस्कृत अध्ययनमा पुन:जागरण ल्याउन अब ‘संस्कृत आन्दोलन’ सुरु हुनुपर्ने बताए । त्यसैगरी पद्मकन्या क्याम्पस संस्कृत विभागीय प्रमुख ज्ञाननिष्ठ ज्ञवाली, संस्कृत अध्ययनरत जापानी अध्यता योसिको, पोल्याण्डका छात्र टम हेनरीलगायतले संस्कृत शिक्षा र श्लोकको चर्चा गरेका थिए ।

प्रकाशित : श्रावण २७, २०७९ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?