कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

थुम्केलीको ‘लोककलाकार जीवनी’ पुस्तक सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — कलाकार तथा कलालेखक देवेन्द्र थुम्केलीद्वारा लिखित ‘लोककलाकार जीवनी’ पुस्तक सार्वजनिक भएको छ । मंगलबार नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा प्रतिष्ठानका लोककला विभाग प्रमुख मिथिलादेवी यादव, राजनीतिज्ञ एवं भाषाविद् गोपाल ठाकुर, नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष केशव राज खनाल लगायतको उपस्थितिमा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले पुस्तकको विमोचन गरेका हुन् ।

थुम्केलीको ‘लोककलाकार जीवनी’ पुस्तक सार्वजनिक

प्रतिष्ठानको लोककला विभागले प्रकाशन गरेको उक्त कृतिमा नेपालमा प्रचलित विभिन्न लोककलामा काम गर्ने एक दर्जनभन्दा बढी कलाकारको जीवनी समेटिएको छ । पुस्तकका लेखक थुम्केलीले पुस्तकमा नेवार, अवधी, मिथिला, थारू र राजवंशी लोककलामा काम गर्ने कलाकारबारे लेखिएको बताए । उनले नेपाली लोककला क्षेत्रमा विशिष्ट कलाकार धेरै भए पनि एउटा पुस्तकमा सबैलाई स्थान दिन नसकिएको बताउँदै आगामी संस्करणमा लोककलाकारका बारेमा कलम चलाउने प्रतिबद्धता व्यक्त गरे ।

कुलपति कर्माचार्यले पुस्तकले नेपालका लोककलाकारलाई चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राख्दै लोककला र कलाकारको जीवनयात्रालाई चर्चा गरिएको पुस्तकले नेपाली कलाको बहुआयामिकतालाई प्रकाश पार्ने बताए । उनले भने, ‘आगामी दिनमा प्रतिष्ठान एवं अन्य लेखकले पनि लोककला र कलाकारका बारेमा अझै व्यापक ढंगले लेख्नुपर्ने आवश्यकता बढेर गएको छ ।’

राजनीतिज्ञ एवं भाषाविद् ठाकुरले समाजलाई सभ्य र पहिचान दिलाउन कला र संस्कृतिले भूमिका खेल्ने भएकाले राज्यले यसको महत्त्वलाई बुझेर जनस्तरमा विकास भएका कलाको संरक्षण, प्रवर्द्धन तथा राष्ट्रियकरण गर्न विशेष ध्यान दिनुपर्नेमा बताए । उनले कलाकारले ईश्वर बनाउने तर त्यही कलाकारलाई उपेक्षा गर्ने मनोवृत्ति राम्रो नभएको जिकीर समेत गरे । लोककला विभाग प्रमुख यादवले लोककलाको वैभवको प्रबर्द्धनका लागि हरेक समुदायमा अभ्यास भइरहेको लोककलाबारे पुस्तक लेख्न सकिने बताइन् ।

पुस्तकमा शारदा चित्रकार, जीतबहादुर रायमाझी ‘मैथिल’, जुलुमलाल चित्रकार, सूर्यबहादुर चित्रकार, श्यामानन्द ठकुरी, अजीतकुमार साह, मिथिलादेवी यादव, एससी समुन, सीतादेवी कर्ण, लक्ष्मण मण्डल, पवनकुमार राजवंशी, पुनमकुमारी दास र मित्थु थारूको जीवनीसहित कलाकृतिको चर्चा गरिएको छ ।

प्रकाशित : श्रावण २५, २०७९ १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?