२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

बाबुराम श्रेष्ठको कवितासंग्रह ‘बूढो समय’ सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — कवि बाबुराम श्रेष्ठ ‘यात्री’ को कवितासंग्रह ‘बूढो समय’ शनिबार सार्वजनिक भएको छ । काठमाडौंबाहिरका मान्छेको काठमाडौंमाथिको दृष्टिकोण, मान्छेका सम्बन्धहरू, वैदेशिक रोजगारीका पीडा, राजनीतिक अव्यवस्था, माओवादी युद्ध, गाउँका वृद्धहरूका कथाहरू उनका कवितामा अटाएका छन् ।

बाबुराम श्रेष्ठको कवितासंग्रह ‘बूढो समय’ सार्वजनिक

कवि रामगोपाल आशुतोषले सहजीकरण गरेको कार्यक्रममा लेखकहरू डा. कृष्णहरि बराल, सुरेश किरण, ज्ञानु अधिकारी र महेश पौडेलले किताबमा समावेश कविताहरूमाथि बहस गरे । कार्यक्रममा यस समयका कविता, नयाँ पुस्ताका लेखनका विषयमा पनि बहस गरिएको थियो ।

‘यी कविताले प्रगतिवादी धार समातेको छ’, कृष्णहरि बरालले भने, ‘नेपाली समाजका विविध क्षेत्रका प्रभावमाथिका यी कविताले वर्तमान समाजको आवाज बोलेको छ ।’

कवि सुरेश किरणले बाबुरामका कविता अत्यन्तै सरल र सरस भएको बताए । ‘यी कन्टेन्ट फ्रेस छन्, वाक्य निर्माण छोटा छन् र शब्द छनोट सुन्दर छ,’ उनले भने, ‘समकालीन कविले लेखिरहेका भाषासँग यी कविताका भाषा मेल खाँदैनन् ।’

बाबुरामका कविताहरूले भित्रैदेखि आनन्दित बनाउने बताइन् ज्ञानु अधिकारीले । ‘डुबेर पढ्दा यिनले आनन्द दिन्छन्’, उनले भनिन्, ‘कविको चेतना र अनुभूतिमा पस्दा यी कविता बुझ्नु कुनैबेला जटिल पनि लाग्न सक्छ ।’

महेश पौडेलले बाबुरामका कविता नयाँ बिम्ब, प्रतिक, भाव र अभिव्यञ्जनामा लेखिएको बताए । ‘कवितामा सहरभन्दा निकै टाढा ग्रामीण बस्तीका अनुभूति र कथा लेखिएका छन्,’ उनले भने, ‘कविको नयाँ भूगोलमा पस्दा कवि नै त्यहाँ भेटिन्छन् । कविले आफैंलाई कवितामा उतारेका छन् ।’

सिन्धुलीको मरिणका कवि बाबुरामको यसअघि ‘देश स्वप्न’ (०६३) कवितासंग्रह प्रकाशित थियो ।

प्रकाशित : श्रावण २२, २०७९ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?