‘इन्जा खोजी पत्रकारिता’ पुरस्कार बुढाथोकीलाई

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले यस वर्षको उत्कृष्ट ‘इन्जा खोजी पत्रकारिता’ पुरस्कार पत्रकार गजेन्द्र बुढाथोकीलाई प्रदान गरेको छ ।

अन्तर्राष्ट्रिय कम्पनी कोकाकोलाले नेपालमा कर छली गरेको विषयलाई पत्रकारिताको माध्यमबाट सूचना सम्प्रेषण गरी राज्यलाई सात अर्ब रुपैयाँ राजस्व असुल गर्न सहयोगी भूमिका निर्वाह गरेकाले पत्रकार बुढाथोकीलाई सो सम्मान प्रदान गरिएको हो ।

‘इन्जा खोजी पत्रकारिता’ पुरस्कार बुढाथोकीलाई

काठमाडौंमा शनिबार आयोजित इन्जाको पाँचौँ वार्षिकोत्सव समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नगद एक लाख रुपैयाँ राशि र सम्मानपत्रद्वारा पत्रकार बुढाथोकीलाई सम्मान गरेका हुन् ।

त्यसैगरी मन्त्री कार्कीले ‘इन्जा ग्रामीण पत्रकारिता’ पुरस्कार पत्रकारद्वय दीपा कर्ण र सरोज ढुंगानालाई, ‘इन्जा बौद्धिक पत्रकारिता’ पुरस्कार उपप्राध्यापक देवराज अर्याल र पत्रकार कपिल काफ्लेलाई जनही ५० हजार रुपैयाँ नगद र कदरपत्र प्रदान गरी सम्मान गरे । मन्त्री कार्कीले आजै वरिष्ठ पत्रकारद्वय हरि लम्साल र गोपालचन्द्र शर्मा तथा सञ्चारिका समूहकी निवर्तमान अध्यक्ष नीतु पण्डितलाई पनि कदरपत्रद्वारा सम्मान गरे ।

टक्सार मासिकका प्रधानसम्पादक बुढाथोकीलगायतका पत्रकारहरुलाई सम्मान गर्दै मन्त्री कार्कीले इन्जाले गाह्रो, साह्रो र अप्ठेरोमा परेका पत्रकारलाई सम्मान गर्ने परम्पराको सुरुआत गरेकामा खुसी व्यक्त गरे । उनले नेपाली पत्रकारिता आवाजविहीनहरुको आवाजलाई बाहिर ल्याउने सशक्त माध्यम बन्नुपर्नेमा जोड दिए ।

इन्जा संसारभर छरिएर रहेका नेपाली भाषी पत्रकारहरुले स्थापना गरेको संस्था हो । इन्जाको प्रधान कार्यालय अमेरिकामा छ । इन्जा अमेरिकाका अध्यक्ष गुणराज लुइँटेलले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै विभिन्न अप्ठेरोमा परेका नेपाली पत्रकारलाई सम्मान गर्न पाएकामा खुसी व्यक्त गरे ।

नेपाल पत्रकार महासंघका सभापति विपुल पोखरेलले अप्ठेरामा परेका पत्रकारहरुलाई सहयोग गर्न नेपाल पत्रकार महासंघ इन्जासँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।

प्रकाशित : श्रावण १४, २०७९ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?