राखीको कवितासंग्रह ‘प्रमिथसको फिलिङ्गो’ सार्वजनिक- साहित्य/विविध - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राखीको कवितासंग्रह ‘प्रमिथसको फिलिङ्गो’ सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — कवि एवं गीतकार राखी गौचनको कवितासंग्रह ‘प्रमिथसको फिलिङ्गो’ सार्वजनिक गरिएको छ । शनिबार आयोजित एक कार्यक्रममा साहित्यकारहरू भूपाल राई, मनिषा गौचन, अमर गिरी र दीपक सापकोटाले कवितासंग्रह सार्वजनिक गरे ।

कार्यक्रममा बोल्दै कवि भूपाल राईले राखीका कवितामा भावनात्मक अनुभूतिको प्रधानता पाइने उल्लेख गरे । ‘यस संग्रहका कविताको केन्द्रमा जाँदा पनि निजी अभिव्यक्तिको स्वर बढी पाइन्छ । त्यसबाहेक समय र समाजलाई गरिएका सम्बोधन पनि सशक्त छ’, राईले भने ।

अर्का वक्ता अमर गिरीले राखीका कविताले समकालीन नेपाली समाजका विसंगतिप्रति प्रहार गर्न सफल रहेको बताए । गिरीले भने, ‘समग्रमा यी कविताहरू समाजप्रति, जीवनप्रति आशा देखाउने कविता हुन् । जसले समयलाई सचेत ढंगले सम्बोधन गरेको छ ।’

राखीका कविता पढ्दा जीवन–दर्शनको गहिरो तहमा पुगिने मनिषा गौचनले बताइन् । ‘यी कविता पोयटिक मेमोयर हुन् । यस संग्रहका कविताहरू प्रेमका विविध आयामलाई सरल तर गहन ढंगले अभिव्यक्त गर्न सफल भएको छ’, गौचनले भनिन् ।

कवि राखीले भने कला, विचार र भावको त्रिकोण मिलेपछि मात्र एउटा सुन्दर कविता बन्न सक्ने विश्वास व्यक्त गरेकी छिन् । ‘हरेक व्यक्तिमा कविता सन्निहित छ । कुनै पनि पदार्थप्रतिको नवीन आयाम र दृष्टिकोण नै कविता हो,’ पुस्तकको भूमिकामा उनले भनेकी छिन् ।

तेत्तीस थान कविता रहेको ‘प्रमिथसको फिलिङ्गो’ इन्डिगो इन्कले प्रकाशन गरेको हो । पुस्तकको मूल्य २ सय २९ रुपैयाँ रहेको छ ।

प्रकाशित : श्रावण ९, २०७९ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्

तीन महिनामा अपेक्षित मूल्यवृद्धि १४ प्रतिशत

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वसाधारणले आउँदा महिनाहरूमा मूल्यवृद्धि अझ तीब्र गतिमा बढ्ने अनुमान गरेको राष्ट्र बैंकको एक सर्वेक्षणले देखाएको छ । सर्वेक्षण अनुसार आउँदा तीन महिनामा मूल्य वृद्धिदर १४ प्रतिशत पुग्ने र एक वर्षमा १३.५ प्रतिशत पुग्ने सर्वसाधारणको अनुमान छ ।  राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको ‘मूल्यवृद्धि अनुमान सर्वेक्षण’ ले यस्तो देखाएको हो ।

प्रतिकात्मक तस्बिर

राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपेक्षित मूल्यवृद्धि सर्वेक्षणको नतिजा सार्वजनिक गरेको हो । उक्त सर्वेक्षण २०७९ असार २० देखि असार २७ (जुलाई ०४ देखि ११ जुलाई, २०२२) सम्म २८ सहरका ३१ बजार क्षेत्रका व्यक्तिहरुसँग अन्तर्वार्ता मार्फत सम्पन्न गरिएको थियो । प्रस्तुत परिणामहरू १ हजार १ सय ४१ शहरी व्यक्तिहरूको प्रतिक्रियामा आधारित रहेको राष्ट्र बैंकले जनाएको छ ।

‘सर्वेमा सहभागी उपभोक्ताले मूल्यवृद्धि १४ प्रतिशत रहेको महसुस गरेका छन् । निकट भविष्यमा पनि मूल्यवृद्धि समान नै रहने तर मध्यम अवधिमा घट्ने अपेक्षा छ,’ सर्वेक्षणमा भनिएको छ, ‘तीन महिनामा १४ प्रतिशत र एक वर्ष पछिको मध्य अपेक्षित मूल्यवृद्धि १३.५ प्रतिशत रहेको छ ।’ सर्वेक्षणले २०७८ चैतको तुलनामा तीन महिना पछिको मूल्यवृद्धि बढ्ने र एक वर्ष पछिको तुलनामा थोरै घटेको अनुमान गरेका छन् ।

सर्वेक्षणमा सहभागीमध्ये ९४.७ प्रतिशतले दिएको जवाफअनुसार तीन महिनामा मूल्य वृद्धि उच्च हुने छ । ‘गैर–खाद्य र सेवा तथा घरजग्गा (आवास) बाहेकका सम्पूर्ण उपभोग समूहहरूमा आगामी तीन महिनामा मूल्य वृद्धि उच्च हुने अनुमान गर्ने उत्तरदाताहरूको अंश २०७८ चैतको तुलनामा बढेको छ,’ सर्वेक्षणमा भनिएको छ । तरकारी र फलफूल तथा माछा, मासु, दूध, घिउ र तेल उपभोग समूह बाहेकका सबै समूहहरूमा एक वर्ष अगाडि मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश २०७८ चैतको तुलनामा घटेको राष्ट्र बैंकले जनाएको छ ।


प्रकाशित : श्रावण ९, २०७९ १३:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×