कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

मुक्तान थेबाको ‘मासिन्या’ कृति सार्वजनिक

काठमाडौँ — कवि मुक्तान थेबाको कवितासंग्रह ‘मासिन्या’ सार्वजनिक भएको छ । काठमाडौं नयाँबजार खुशिबुस्थित थेबाला बुक्स विथ कफि क्याफेमा शनिबार आयोजित कार्यक्रममा कवि थेबाका आस्याङआङी (मामामाइजु) रत्नमान र असलीमाया तामाङले कवितासंग्रह लोकार्पण गरेका हुन् ।

मुक्तान थेबाको ‘मासिन्या’ कृति सार्वजनिक

त्यसक्रममा मानवशास्त्री मुक्तसिंह तामाङ, स्रष्टाहरु भूपाल राई, प्रणिका कोयु, उज्ज्वल प्रसाईं, गुरुङ सुशान्त, फूलकुमार बोम्जनलगायत उपस्थित थिए ।

संग्रहमा आदिवासी जनजाति समुदाय तामाङलाई मासिन्याको रुपमा लिँदै तत्कालीन राज्य व्यवस्थाले गर्दै आएको थिचोमिचो, विभेद र उत्पीडन विरुद्धको आवाज उठान भएका छन् । ‘अँध्यारो–उज्यालो’, ‘गाई, गोरु, बहर, बाछा, बाछी’ र ‘आदिवासी पृथ्वी र चोरऔंले शासक’ गरी तीन खण्डमा विभाजित संग्रहमा ५३ वटा कविताहरु छन् । नेपाली कवितामा उन्मुक्त पुस्ता अभियानका अभियन्ता थेबाले कवितासंग्रहलाई आन्दोलनकै एक हिस्साको रुपमा रहेको बताए । ‘जंगबहादुरको मुलुकी ऐनले मासिन्याको रुपमा राखेर हामीमाथि लामो समय दमन र शोषण भयो,’ उनले भने,‘अहिले पनि त्यो उत्पीडनबाट बाहिर आउन सकेका छैनौं । विभिन्नरुपमा हामी शोषित र उत्पीडनमा परिरहेका छौं । त्यसैले यो संग्रह त्यसैको प्रतिरोध हो ।’

संग्रहकै सेरोफेरोमा रहेर मानवशास्त्री तामाङ, कोयु, प्रसाईं र सुशान्तले मासिन्या, यसको समाजशास्त्र र मानवशास्त्र, आदिवासी समुदायको सौन्दर्यशास्त्र, हिजो र आजसम्म आइपुग्दाको मासिन्या बहस, यसले छोएको राजनीतिक विषय र प्रभावबारे बहस गरिएको थियो । मानवशास्त्री तामाङले संग्रहले आदिवासी पहिचान, इतिहास र यथार्थतालाई अगाडि ल्याउन सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे । ‘विगतको इतिहास र यथार्थबाट प्रेरणा लिएर कलाका रुपमा सिर्जना भएको छ,' उनले भने,‘यसले शासन र शासकमा नयाँ चेत ल्याउन सक्छ । यो एकदम राम्रो कुरा हो ।’

कोयु, प्रसाईंले संग्रहले विगतका पक्षलाई केलाएर आक्रोशका सिर्जनाहरु मात्र आउनुभन्दा आदिवासी पहिचानको आन्दोलनले आजसम्म गरेको उपलब्धिका सकारात्मक पक्षहरु समेत समेट्नुपर्ने तर्क गरे ।

कोयुले पहिचानको कुरा प्रतिरोधकै रुपमा आए पनि समाज, सामाजिक परिवेश, परम्परागत सोचको गन्ध कुनैकुनै सिर्जनामा देखिएको दाबी गरिन् । थेबाको यसअघि मातृभाषामा पहिलो कवितासंग्रह ‘काइलिङ’, उन्मुक्त पुस्ता समूहबाट ‘आफर’, र ‘अखण्ड आलाप’ कृतिहरु सार्वजनिक भएका छन् ।


प्रकाशित : असार १२, २०७९ २२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?