राष्ट्रिय कविता महोत्सवमा आत्रेयको कविता प्रथम- साहित्य/विविध - कान्तिपुर समाचार

राष्ट्रिय कविता महोत्सवमा आत्रेयको कविता प्रथम

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल प्रज्ञा प्रतिष्ठानको ६५ औं वार्षिकोत्सवमा आयोजित राष्ट्रिय कविता महोत्सवमा सुनसरीकी टीका आत्रेयको कविता प्रथम भएको छ । प्रतिष्ठानले बिहीबार गरेको कार्यक्रममा अन्तिम ३० जना कविको प्रतिस्पर्धामा आत्रेयको ‘संकल्प’ शीर्षकको कविता प्रथम भएको हो । धादिङका यात्रीप्रकाश पाण्डेको ‘आगोमा फूलेको देश’ द्वितीय भएको छ ।

भक्तपुरकी सीता तुम्खेवाको ‘चरिसो फूल’, सुनसरीका किरन सिवाको ‘बुबाको सिलाई मेसिन’ र अछामका कमलराज केसीको ‘सपना उम्रन्छ माटोमा’ शीर्षकका कविताले तृतीय स्थान हासिल गरे । प्रथम कविलाई स्वर्णपदकसहित ५० हजार रुपैयाँ, द्वितीयलाई रजत पदकसहित ४० हजार र तृतीय हुनेलाई कास्यपदकसहित ३० हजार रुपैयाँ प्रदान गरिनेछ ।

महोत्सवको उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाली भाषा, साहित्य र संस्कृतिको विकासका लागि प्रतिष्ठानले खेलेको भूमिकाको चर्चा गरे । ‘प्रतिष्ठानले नेपाली भाषा, कला, साहित्यलाई देश तथा विदेशमा पुर्‍याउन अग्रणी भूमिका खेलेको छ,’ प्रधानमन्त्री देउवाले भने, ‘२०६२/६३ सालको राजनीतिक परिवर्तनपछि छुट्टै प्रतिष्ठानका रूपमा खडा भएको यसले प्राज्ञिक गरिमाको उचाइलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्‍याएको छ ।’ उनले प्रतिष्ठानले गर्दै आएको भाषा, साहित्य र संस्कृतिको खोज, अनुसन्धान तथा प्रकाशन अनुकरणीय रहेको बताए ।


प्रकाशित : असार ९, २०७९ २२:१७
प्रतिक्रिया
पठाउनुहोस्

चुनावी गठबन्धनबारे ओली - '२०७४ मा आकस्मिक निर्णय भयो, भोलि पनि हुनसक्छ'

जयसिंह महरा

काठमाडौँ — प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जे पनि हुनसक्ने बताएका छन् । पार्टीबाट राष्ट्रिय सभामा सदस्य रहेकाहरूलाई भक्तपुरको बालकोटस्थित निवासमा बोलाएर ओलीले आगामी संघीय र प्रदेश निर्वाचनमा एक्लै जाने तयारी थाल्न र आकस्मिक निर्णय हुनसक्ने कुरालाई मध्यनजर गर्न पनि सुझाएको बैठकमा सहभागी सांसदहरूले बताएका छन् । 

राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता खिमलाल भट्टराईले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा एमालेले अहिलेको सत्तारुढ गठबन्धनसँग एक्लै लड्ने क्षमता विकास गरेर जानुपर्ने अध्यक्ष ओलीले भनेको जानकारी दिए ।

अध्यक्ष ओलीले आफूहरूसँग २०७४ सालमा माओवादी केन्द्रसँग भएको चुनावी गठबन्धन घोषणासँगै पार्टी एकताको घोषणाको घटना स्मरण गरेको पनि भट्टराईले बताए । 'अब पनि गठबन्धन हाम्रो विरुद्धमा छ, हामी एक्लै आगामी निर्वाचन फेस गर्ने गरी अगाडि बढ्नुपर्छ र विजय हासिल गर्नेगरी जानुपर्छ भन्ने कुरा उहाँले राख्नुभयो,' ओलीले राष्ट्रिय सभाका सांसदलाई भनेका कुरा उल्लेल गर्दै भट्टराईले थपे, 'गठबन्धन के हुन्छ त ? कसरी हामी अगाडि बढ्छौं ? भन्ने विषयमा उहाँले अहिलेसम्म केही भएको छैन तर हिजो (२०७४ को निर्वाचनमा) पनि घटनाक्रम अगाडि बढ्दै जाने सिलसिलामा आकस्मिक रूपमा निर्णय भएको थियो । नयाँ अवस्था निर्माण भएको थियो । यो कुरा राजनीतिक रूपमा भोलि पनि हुनसक्छ ।' आगामी निर्वाचनमा गठबन्धन गर्नेबारे भने आजको दिनसम्म केही नभएको ओलीले बताएको भट्टराईको भनाइ थियो ।

राष्ट्रिय सभामा एमाले प्रमुख सचेतक देवेन्द्र दाहालले पनि ओलीले गठबन्धन गर्नैपर्छ र गर्नैहुन्न भनेर केही भन्न नहुने बताएको उल्लेख गरे । उनले भने, 'निर्वाचनको तयारी गर्नुपर्छ भन्नुभयो । वाम गठबन्धनकै बारेमा त धेरै छलफल भएन । आवश्यकताका आधारमा गर्ने कुरा हो । हुँदै हुँदैन भन्ने पनि होइन, हुन्छ भनेर किटान गरेर जाने कुरा पनि होइन भन्नुभयो,' ओलीले भनेका कुरा उल्लेख गर्दै दाहालले भने, 'आवश्यकताको आधारमा तल तल पनि गर्न सकिन्छ, आम रूपमा गर्ने भन्ने केही छैन । हुँदै हुँदैन भनेर ठोकुवा गर्ने पनि होइन भन्ने संकेत भयो ।'

ओलीले मुलुकमा एमालेले समाजवादीको र कांग्रेसले पुँजीवादीको नेतृत्व गरिरहेको बताएको नेता भट्टराईले जानकारी दिए । जनताले पनि एमाले समाजवादी भएकाले विश्वास गरिरहेको ओलीले दाबी गरेका थिए । उनले स्थानीय तह निर्वाचनपछि वाम गठबन्धनका लागि एमाले, माओवादी र एकीकृत समाजवादीका नेताहरूबीच छलफल भइरहेको हो कि भन्नेबारे केही उल्लेख नगरेको बताए । 'तर, राजनीतिक रूपमा हिजो पनि आकस्मिक रूपमै यस्ता घटना भएका थिए भनेदेखि राजनीतिमा यस्ता कुरा हुन सक्छन् भन्नुभयो,' भट्टराईले भने ।

स्थानीय तहको चुनावको वस्तुनिष्ठ समीक्षा गरेर जानुपर्ने धारणा ओलीबाट आएको सांसद दिलकुमारी रावलले जानकारी दिइन् । 'स्थानीय तह निर्वाचनमा गठबन्धन भएपनि जनमत एमालेसँग छ भन्नुभयो । अन्तरविरोधको वस्तुनिष्ठ र यथार्थतामा टेकेर समीक्षा गर्ने भन्ने कुरा आयो,' उनले भनिन् । ‌ओलीले स्थानीय तह निर्वाचनमा आन्तरिक समस्या र गठबन्धनका कारण पार्टीले सोचेजस्तो जित हासिल गर्न नसकेको बताएका थिए । 'परिणामको हिसाबले अलिकति हाम्रो सोचेजस्तो भएन, त्यसको पछाडि पार्टीको आन्तरिक अन्तरविरोध र गठबन्धन मुख्य कारक रह्यो,' ओलीले भनेको कुरा सांसदहरूले सुनाए ।

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन आगामी कार्तिक अन्तिम वा मंसिर पहिलो साता गर्ने सरकारको तयारी रहेको छ । निर्वाचन आयोगले सोहीअनुसार तयारी पनि गरिरहेको अवस्थामा राजनीतिक दलहरू कस्तो गठबन्धन बनाउने भन्ने विभिन्न कसरतमा लागेका छन् । अहिले सरकारमा रहेका दलहरू नै चुनावसम्म जाने कि एमालेसँग वाम गठबन्धन बनाउने भन्ने चर्चा राजनीतिक वृत्तमा चलिरहेका छन् ।

केही पहिले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष ओलीलाई बालकोट नै गएर भेटेका थिए । त्यस्तै, एमाले र माओवादीका दोस्रो तहका नेताहरू चुनावमा गठबन्धन निर्माण गर्न सकिन्छ भन्ने छलफलमा रहेको बताइएको छ भने एकीकृत समाजवादी र एमाले नेताहरू पनि चुनावमा मिलेर जान सकिन्छ भन्ने कसरतमा रहेका छन् । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा भने अहिलेको सत्ता गठबन्धनलाई प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनसम्म नै लैजाने कोसिसमा छन् । यो चुनावी राजनीतिक हलचलका बीच प्रमुख प्रतिपक्षी दलका नेता ओलीले २०७४ मा जस्तो आकस्मिक रूपमा चुनावी गठबन्धन हुनसक्नेतर्फ पार्टीबाट राष्ट्रिय सभामा रहेका सांसदहरूलाई संकेत गरेका हुन् ।

प्रकाशित : असार ९, २०७९ २१:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×