कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

सुरेश प्राञ्जलीको उपन्यास ‘पानीघट्ट’ सार्वजनिक

काठमाडौँ — सुरेश प्राञ्जलीको उपन्यास ‘पानीघट्ट’ लोकार्पण गरिएको छ । सोमबार आयोजित कार्यक्रममा आप्रवासनविद् गणेश गुरुङ, लेखक एवम् अभिनेता खगेन्द्र लामिछाने, लोकगायिका  शर्मिला गुरुङ र लेखक सुरेश प्राञ्जलीले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन् ।

सुरेश प्राञ्जलीको उपन्यास ‘पानीघट्ट’ सार्वजनिक

कार्यक्रममा लेखक प्राञ्जलीसँग अभिनेता लामिछानेले पुस्तक एवम् यसको भाषिका आदिका विषयमा आधारित रहेर अन्तर्संवादसमेत गरेका थिए । आप्रवासनविद् गणेश गुरुङले उपन्यासमा नेपालको इतिहासको एउटा कालखण्डको एउटा भूगोलमा दुई विभिन्न जातिको बीचमा एकदम मार्मिक तवरले चित्रण गरिएको प्रेमकथालाई सूक्ष्म रुपमा चित्रण गरेको बताए । ‘उपन्यास पढें । पढ्दै गर्दा यसले साह्रै मन छोयो । सकिई त हाल्यो,’ उनले भने, ‘उपन्यास सकिइसक्दा पनि यति छिट्टै किन सकिए होला भन्ने भइरह्यो । एक किसिमको थकथकी लागिरह्यो ।’

लामिछानेले उपन्यास पढिरहँदा आफ्नै समाजका कथाव्यथा आफ्नै आँखाअगाडि आए जस्तो प्रतीत भएको बताए । ‘यो उपन्यास मलाई मेरै परिवेशको कथा, मेरै समाजको लाग्यो । आफ्नो गाउँको बारीको डिलमा बसेर तल्तिर, मास्तिर अनि पर्तिरका मान्छेहरुको जीवन हेरिरहे जस्तो पनि लाग्यो,’ उनले भने, ‘भाषिक दृष्टिले त मैले झनै अपनत्व महसुस गरें । साहै्र नोस्टाल्जिक भएँ ।’ तसर्थ पुस्तक पठनीय रहेको उनको भनाइ छ ।

पानीघट्टमा सुरेश प्राञ्जली भाषासँग मज्जाले खेलेको प्रकाशक फाइनप्रिन्टका अजित बरालले बताए । एउटा जोहरीले गरगहनामा जसरी काम गर्छ, त्यसरी नै सुरेशले भाषामा काम गरेको उनको भनाइ छ । ‘पहिलो पुस्तक राम्रो लेख्नेले दोस्रो पुस्तक राम्रो लेख्दैन भन्ने नेपालमा एउटा न्यारेटिभ जुन बनेको छ, जुन म मान्दिनँ । त्यो न्यारेटिभलाई सुरेशको नयाँ उपन्यासले भत्काउँछ भन्ने मलाई लाग्छ ।’

कार्यक्रममा लेखक प्राञ्जलीले आफूले सानैदेखि गुरुङ एवम् रोधी संस्कृतिका विषयमा पढ्न मन लागेको र त्यसको अभाव महसुस भएकाले आफैंले उपन्यास लेख्ने जमर्को गरेको बताए । साथै गुरुङ संस्कृतिलाई मूल धारको साहित्यमा ल्याउनुपर्छ भनेर पनि आफूले पानीघट्ट लेखेको उनको भनाइ छ । ‘रोधी संस्कृति, लाहुरे परम्परा आदि विषयमा लेखिएका पुस्तक एकदमै कम छन्,’ उनले भने, ‘त्यसैले पनि त्यो अभाव पूर्ति गर्न पानीघट्ट उपन्यास लेखेको हुँ ।’

यसअघि तुइनमा आफूले कर्णालीको जनजीवन र संस्कृतिलाई पस्किएको र अहिले गण्डकी भेगको कथा प्रस्तुत गरेको उनले जानकारी दिए ।

तीस र चालीसको दशकको गण्डकी भेगको ग्रामीण समाजमा एउटी महिलाले विवाहअघि र पछि बेहोर्नुपरेको कहरलाई ‘पानी’ र ‘घट्ट’को बिम्बात्मक चित्रमा उतारिएको उपन्यास कथ्य भाषाको मीठो प्रयोग र आञ्चलिक शब्दावलीको सुगन्धित हरकले पठनीय बनेको छ । पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो ।

प्रकाशित : असार ६, २०७९ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?