'पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ'मा वासु शशीका प्रतिनिधि कविता- साहित्य/विविध - कान्तिपुर समाचार

'पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ'मा वासु शशीका प्रतिनिधि कविता

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रसिद्ध कवि वासु शशीका प्रतिनिधि कविताहरूको सङ्ग्रह 'पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ' सार्वजनिक भएको छ ।

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा प्रसिद्ध कवि एवम् गीतकार कालीप्रसाद रिजाल, यादव खरेल, गायक-सङ्गीतकार गणेश रसिक, वासु शशीकी पत्नी जुलुम वैध, कवि मोमिला र समालोचक राजकुमार बानियाँले कृतिको लोकार्पण गरेका हुन् ।

'वासु शशी मानवतावादी कवि हुन् र कवितामै जीवन व्यतीत गरे,' कृतिमाथि बोल्दै कालीप्रसाद रिजालले भने, 'कवितामा बाँच्ने थोरै कविहरूमध्ये वासु शशी एक हुनुहुन्थ्यो ।'

वासु शशीको कथा 'लोभीपापी'मा पहिलो हास्यव्यङ्ग्य चलचित्र निर्माण र निर्देशन गरेका यादव खरेलले उनको सरल जीवन र काव्यिक बहुआयामको चर्चा गरे । 'कविता लेखेर पाउने जति चर्चा नपाए पनि उनी आफ्नो समयका सर्वाधिक शक्तिशाली कवि हुन्', खरेलले भने ।

त्यस्तै, गणेश रसिकले वासु शशीका गीतको चर्चा गरे । 'गीतकारले लेखेका गीतमा केवल तुकबन्धी मात्रै हुन्छ, कविका गीतमा विम्ब-प्रतीकलाई उचित प्रयोग गरिएको हुन्छ, जुन वासु शशीका गीतमा पाइन्छ ।'

कृतिगत समीक्षा गर्दै कवि मोमिलाले भनिन्, 'मानवीयता, राजानीतिक र सामयिक व्यङ्ग्य, प्रेम र जीवन-जगतका मसिना विषयलाई कविता बनाएका शशीका कविताले अबको पुस्तालाई काव्यिक चेत प्रदान गर्नेछन् ।'

त्यसै गरी, कृतिका सम्पादक राजकुमार बानियाँले वासु शशी लेखनाथ, देवकोटा, सम, भूपि, रिमालहरूको लहरका कवि भएको र नयाँ पुस्ताले उनका कविता पढ्न नपाएकोमा आफूले यो कृति ल्याउन प्रयास गरेको बताए ।

वासु शशी स्मृति परिषद्‌ले आयोजना गरेको कार्यक्रममा परिषद्‍का सचिव कवि प्रधुम्न जोशीले यो कृतिबाट शशीलाई नयाँ पुस्ताले अध्ययन गर्ने अवसर प्राप्त गर्ने बताए ।

शशीका ८ वटा कृतिबाट समालोचक राजकुमार बानियाँले चयन गरेका ११८ वटा कविताहरू यस सङ्ग्रहमा समावेश गरिएका छन् । पुस्तकलाई बुकहिलले क्लासिक सेरिज अन्तर्गत 'हार्डकभर'मा सार्वजनिक गरेको हो । २६४ पृष्ठको किताबको मूल्य ५५५ रहेको छ ।

प्रकाशित : जेष्ठ २८, २०७९ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्

गण्डकीलाई कम बजेट

कान्तिपुर संवाददाता

पोखरा — संघीय सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि गण्डकी प्रदेशलाई १६ अर्ब ५४ करोड ३२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जुन अन्य प्रदेशको तुलनामा सबैभन्दा कम हो । 

वाग्मती प्रदेशलाई सबैभन्दा बढी २० अर्ब ३२ करोड ६६ लाख रुपैयाँ विनियोजन भएको छ । गण्डकीलाई समानीकरण अनुदानतर्फ ७ अर्ब ९२ करोड ७९ लाख रुपैयाँ बजेट छ । यस्तै ससर्त अनुदान ६ अर्ब ९१ करोड ८३ लाख, विशेष अनुदान ८६ करोड, समपूरक अनुदान ८३ करोड ७० लाख रुपैयाँ राखिएको छ ।

गण्डकीका ११ जिल्लाका लागि केन्द्रबाट अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत सो रकमबापतको बजेट आएको हो । अघिल्लो आर्थिक वर्षमा प्रदेशलाई १३ अर्ब २ करोड ९७ लाख रुपैयाँ विनियोजन गरिएको थियो । समपूरक अनुदान अघिल्लो आर्थिक वर्षभन्दा ३ करोड ६६ लाख कम हो । अघिल्लो वर्ष पनि गण्डकी प्रदेशले ७ प्रदेशमा सबैभन्दा कम अनुदान पाएको थियो । बजेटले गण्डकी प्रदेशमा पूर्वाधारलाई जोड दिएको छ ।

गण्डकीमा विभिन्न क्षेत्रमा समेटिएको बजेटले संस्कृति जगेर्नालाई पनि जोड दिइएको छ भने कृषि उत्पादनलाई पनि प्राथमिकता दिएको छ । गण्डकी प्रदेश सरकारले प्राथमिकतामा राखेको हिमाली जिल्लामा स्याउ उत्पादन र प्रशोधन केन्द्र बनाउने कार्यक्रमलाई संघीय सरकारले पनि प्राथमिकता दिएको छ । गण्डकीलाई सडक मानवमुक्त सडक बनाउन संघले पनि पहल गरेको छ । निजी क्षेत्रको लगानीमा चितवन–रामपुर–पोखरा द्रुत मार्ग निर्माण गरिने भएको छ ।

मुस्ताङको कोरलामा सुक्खा बन्दरगाह निर्माणको सम्भाव्यता अध्ययन गरिने भएको छ । पोखरामा रहेको गुरुङ मौलिक संस्कृति संरक्षण गुरुयोजना कार्यक्रमलाई सहयोग गर्ने र मुक्तिनाथ–उपल्लो मुस्ताङ जोड्ने सडक स्तरोन्नतिका साथै वीरेठाँटी–मुक्तिनाथ केबलकार पूर्वाधार तयार गर्न निजी क्षेत्रलाई सहजीकरण गर्ने बजेट वक्तव्यमा उल्लेख गरेको छ ।

बागलुङको बलेवा विमानस्थलको स्तरोन्नति गर्ने भएको छ । विमानस्थल पूर्वाधारका लागि १२ अर्व २४ करोड विनियोजन भएको छ ।

प्रकाशित : जेष्ठ २८, २०७९ ११:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×