क्यान्सरमुक्त शुभेच्छाको अनुभव- ‘क्यान्सर, खानपान र म’- साहित्य/विविध - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्यान्सरमुक्त शुभेच्छाको अनुभव- ‘क्यान्सर, खानपान र म’

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् २०१६ तिर शुभेच्छा घिमिरेले नुहाउने क्रममा स्तनमा केही फरकपन जस्तो पाइन् । त्यसपछि जाँच गराउँदा दोस्रो स्टेजको स्तन क्यान्सर भइसकेको रहेछ । त्यसबेला उनी ३२ वर्षको थिइन् ।

६ वर्षअघिको त्यो क्षण सम्झँदै भन्छिन्, ‘साढे १ वर्ष उपचारमै बित्यो । शारीरिक रुपमा ठीक भए पनि मानसिक रुपमा ठीक हुन २–३ वर्ष नै लाग्यो । ठीक भएपछि यसको बारेमा बोल्नुपर्छ, जनचेतना फैलाउनुपर्छ भन्ने लाग्यो । आफ्नो रोगबारे बताउन र डाक्टरको पहुचँसम्म पुग्न धेरै गाह्रो मान्ने छन् । सचेतना होस् भन्ने उद्देश्यले पुस्तक लेख्ने आँट गरें ।’

क्यान्सरमुक्त बनेपछिको अनुभव समेटिएको शुभेच्छा घिमिरेको पुस्तक नेपाली अनुवाद ‘क्यान्सर, खानपान र म’ शुक्रबार राजधानीको एक कार्यक्रमबीच चलचित्र निर्देशक तथा लेखक यादव खरेल, अनुवादक तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक महेश पौडेल, जनस्वास्थ्यविद डा. अरुणा उप्रेती, श्वर–सरा घिमिरे प्रतिष्ठानकी अध्यक्ष प्रजिता कार्की तथा लेखक शुभेच्छा घिमिरेले विमोचन गरेका थिए ।

कार्यक्रममा आफ्नो पुस्तकका बारेमा बोल्दै शुभेच्छाले नेपाली समाजमा अझै पनि यौन तथा प्रजनन स्वास्थ्यका बारेमा खुलेर कुरा नगरिने बताइन् । ‘मलाई क्यान्सर हुँदा मभन्दा कम उमेरका महिलाहरु पनि उपचारमा थिए । आफ्नो शरीरको बारेमा, आफ्नो स्तनको बारेमा कुरा गरिँदैन । परिवारमा यस्ता खालका बहस हुन जरुरी छ ,’ उनले भनिन् ।

शुभेच्छा पहिलो पटक क्यान्सर देखिँदा उनी अक्सफोर्ड युनिभर्सिटीमा अध्ययरत थिइन् । क्यान्सर भएपछि पढाइ छुट्यो तर निको भएपछि उनले एमबीए पूरा गरिसकेकी छन् । डाक्टरले बच्चा पाउन सक्दैनौ होला भनेका थिए तर उनी अहिले २१ महिनाकी छोरीकी आमा बनेकी छन् । भन्छिन्, ‘आफन्त तथा श्रीमानको साथ पाएको छु । सकरात्मक सोच्छु । नछुटाइ प्राणायाम तथा व्यायाम गर्छु । घरकै खानेकुरामा जोड दिन्छु।’

पुस्तकबारे चर्चा गर्दै लेखक तथा निर्देशक यादव खरेलले नेपाली समाजमा भयावह रोगको रुपमा रहेको क्यान्सरबारे जनचेतना दिने यो कृति अमूल्य रहेको बताए । उनले भने, ‘यो किताब मृत्यु र जीवनको द्वन्द्वको कथा हो। ठूलो रोगमा सकरात्मक धारणा राखेर बस्ने मान्छे कमै हुन्छन्।’

पुस्तकका अनुवादक तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक महेश पौडेलले यो पुस्तकले मृत्यु र जीवन कस्तो देखिने रहेछ भन्ने कुराको बोध गराउने प्रतिक्रिया दिए। ‘आफ्नो जीवनमा आउने हरेक कुरालाई फेस गर्नुपर्ने रहेछ भनेर यो पुस्तकले सिकाउँछ । इच्छाशक्ति हुनुपर्छ भन्ने बताउँछ,’ उनले भने ।

जनस्वास्थ्यविद तथा पुस्तककी अनुवाद सहयोगी डा. अरुणा उप्रेतीले लेखकले आफूले मात्र नयाँ जीवन नपाएको बरु नयाँ मान्छेलाई पनि जीवन दिएको बताइन् । डा उप्रेतीले भनिन्, ‘क्यान्सर जितिसकेपछि सन्तान जन्माइन् । नेपालमा धेरै महिलाहरु स्तन तथा पाठेघर क्यान्सरबाट पीडित छन् । थुप्रै महिलाहरु उपचारको दायरामा आउन सकेका छैनन् । शुभेच्छा बाँच्ने जीजीविषाले यहाँसम्म आइपुगेकी छन् । उनका श्रीमान जस्तै सबै पुरुषहरु सहयोगी हुनुपर्छ ।’

प्रतिष्ठानकी अध्यक्ष प्रजिता कार्कीले नेपालीमा अनुवाद भएपछि नेपालीभाषी पाठकहरुका लागि पुस्तकको महत्व बढ्ने भन्दै लेखकको क्यान्सरमुक्त बनेको अनुभव र नेपाली भान्सामा प्रयोग हुने मसला, तरकारी, खानपानसँगै जीवनशैलीका असाध्यै गहकिला पक्षहरुलाई उजागर गरेको बताइन् ।

शुभेच्छाले दाहिने भागको स्तन प्रत्यारोपण गराएकी छन् । छोरी जन्मेपछि स्तनपान गराउँदाको अनुभव र आफ्नो नयाँ स्तन शरीरलाई स्वीकार्न कति समय लागेको थियो भन्नेबारे लेखक शुभेच्छाले बताइन् । लेखक घिमिरे भन्छिन्, ‘आफ्नै शरीर हो कि होइन भनेर धेरै पछि स्वीकारेँ । कहिलेकाहीँ आफ्नै शरीर हेरेर झसंग जस्तो हुन्छु तर जति समय बित्दै जान्छ सम्झना रहन्छ तर दु:ख हराउने रहेछ ।’

घिमिरेद्वारा अंग्रेजी भाषामा सन् २०२० मा लेखिएको ‘क्यान्सर, करी एन्ड मी’को नेपाली अनुवाद महेश पौड्यालाले गरेका हुन् भने सम्पादन संयोजन डा अरुणा उप्रेती र युवराज नयाँघरेले गरेका हुन् । पुस्तकलाई तीन खण्डबाट पढ्न सहज हुन्छ । खण्ड १ मा लेखकले आफ्नो क्यान्सर यात्राको बारेमा लेखिकी छन् भने दोस्रो खण्डमा नेपाली भान्सामा पाइने जडिबुटी र त्यसले आफ्नो स्वास्थ्यमा पारेको प्रभावका बारेमा समेटेकी छन् । त्यसैगरी तेस्रो खण्डमा आफू निको भइसकेपछिको जीवनशैली र सचेतनामूलक कुराहरु समेटेकी छन् ।

प्रकाशित : जेष्ठ २०, २०७९ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्

संसद्‌मा फेरि एमालेको अवरोध, यौन हिंसा कानुन संशोधन विधेयकमाथिको छलफल रोकियो

जयसिंह महरा

काठमाडौँ — प्रतिनिधिसभामा यौन हिंसासम्बन्धी केही ऐन संशोधन विधेयक, २०७९ माथिको छलफल चलिरहेको बेला प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसद्को कारबाहीमा अवरोध गरेको छ । विधेयकबारे विचार गरियोस् भन्ने प्रस्तावमाथि सामान्य सैद्धान्तिक छलफलमा चलिरहेको र पार्टीकै सांसदले सहभागिता जनाइरहेको बेला एमालेले संसद् बैठक अवरोध गरेको हो । 

प्रतिनिधिसभा बैठकमा विधेयक प्राप्त नभएको सभामुख सापकोटालाई जानकारी गराउँदै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ ।

प्रतिनिधिसभाको शुक्रबारको दोस्रो बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव राखेका थिए । विधेयकको सैद्धान्तिक पक्षमा सुरुमा कांग्रेस सचेतक पुष्पा भुसाल, त्यसपछि एमाले सांसदहरू बिन्दा पाण्डे र आशा विकले धारणा राखेका थिए । चौथो नम्बरमा कांग्रेसकी डीला संग्रौलाले विधेयकको सैद्धान्तिक पक्षमा आफ्नो धारणा राखेकी थिइन् ।

एमाले सांसद विमला विकले विधेयकमाथि आफ्ना धारणा राखिरहेको बेला एमालेकी सचेतक शान्ता चौधरीले सिटबाट उभिएर सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएकी थिइन् । उनले विधेयक प्राप्त नभएकाले बैठकको कारबाही रोक्न माग गरिन् । सभामुख सापकोटाले 'जेठ १७ गते वितरण गर्नको लागि पिजन होलमा राखिएको छ हेर्नुहोला, सचिवालयबाट जानकारी आएको छ' भन्दै बैठकको कारबाही अगाडि बढाउन खोजेका थिए । त्यो आग्रह पनि नमानेर एमाले सांसदले सिटबाट उभिएर बैठकको कारबाही अवरोध गरेका थिए ।

त्यसपछि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ नै सिटबाट उभिएर भने, 'मैले नै उठ्नुपर्ने स्थिति भयो ।' उनले संसद्मा विधेयकमाथि छलफल सुनिसकेपछि विधेयकका कतिपय प्रावधानबारे हेरौं भनेर सरासर 'पिजन होल' हेर्न गएको तर नपाएको बताए । संसद् सचिवालयका कर्मचारीहरूलाई सोध्दा उक्त विधेयक नआएको जानकारी गराएको नेम्वाङको भनाइ थियो । केही सांसदले विधेयक पाएको र केहीले नपाएको उनको भनाइ थियो । त्यसपछि सभामुख सापकोटाले सचिवालयका कर्मचारीसँग सल्लाह गरेर भने, 'आजको कार्यसूचीमा रहेको बाँकी कार्यक्रम हटाइएको जानकारी गराउँछु ।'

यौन हिंसासम्बन्धी विधेयक जेठ १६ मा प्रतिनिधिसभाको विधेयक शाखामा दर्ता भएको थियो । सोही दिन विधेयक संसद्को अनलाईनमा अपलोड गरिएको थियो । एमाले संसदीय दलमा रहेका कर्मचारीले जेठ १७ गते नै सांदहरूको 'पिजन होल'मा विधेयक राखिएको बताएका छन् । एमाले संसदीय दलको कार्यालयका संघीय संसद् सचिवालयका एक कर्मचारीले भने, 'विधेयक शाखाबाट प्राप्त भएकै दिन कुनै पनि विधेयक पिजन होलमा राखिन्छ । यो विधेयक पनि १७ गते एमाले संसदीय दलको कार्यालय, सिंहदरबारको पिजन होलमा राखिएको थियो । सांसदहरूले संसदीय दलको पिजन होलमा हेर्नुपर्ने तर कसरी उहाँहरूले नपाउनुभएको भन्ने थाहा भएन । हाम्रो कार्यालयबाट हुने काम नियमित रूपमा भइरहेको छ ।'

एमाले संसदीय दलका एक पदाधिकारीले भने सांसदहरूले आफ्नो नामको 'पिजन होल'मा नहेरेकाले 'मिसअण्डरस्ट्याण्डिङ' भएको हुनसक्ने बताए । उनले सांसदहरूले संसद् भवन, बानेश्वरमा शुक्रबार विधेयक खोजेको हुनसक्ने तर सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा रहेको 'पिजन होल'मा नहेरेको हुनसक्ने बताए ।

प्रतिनिधिसभा नियमावलीमा भने 'पिजन होल'मा विधेयक राखेपछि सांसदले प्राप्त गरेको मानिने उल्लेख छ । प्रतिनिधिसभा नियमावलीको नियम १८ को २ मा 'पिजन होल'मा संसदका सूचना र विधेयक लगायतका सामग्री राखेमा सांसदले प्राप्त गरेको मानिने भनिएको छ । 'सचिवले आवश्यक कागजपत्र एवं सूचना सदस्यलाई उपलब्ध गराउनेछ' नियमावलीमा भनिएको छ, 'यस नियमबमोजिम सदस्यलाई उपलब्ध गराउनु पर्ने कागजपत्र एवं सूचना सदस्यसँग सम्बन्धित पिजन होलमा राख्ने व्यवस्था सचिवले मिलाउनेछ, यसरी पिजन होलमा कागजपत्र एवं सूचना राखिएकोमा सम्बन्धित सदस्यले प्राप्त गरेको मानिनेछ ।'

एमालेको संसद् अवरोधले यौन हिंसा सम्बन्धि केही ऐन संशोधन विधेयक, २०७९ संसदसीय प्रक्रियामा केही दिन पर धकेलिएको छ । यौन हिंसासम्बन्धी केही ऐन संशोधन गर्नका लागि यसअघिको सरकार र वर्तमान सरकारले पटकपटक अध्यादेश ल्याएको थियो । तर यसले विधेयकमार्फत कानुनी रूप लिन सकेको छैन । प्रतिस्थापन विधेयक संसद्को अधिवेशन सुरु भएको ६० दिनभित्र दुवै सदनबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणिकरण भइसक्नुपर्छ । प्रमाणीकरण भएन भने अध्यादेशबाट संशोधन भएको व्यवस्था निष्कृय हुन्छ ।

शुक्रबार विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएको भए विधेयकमाथि सांसदहरूले संशोधन पेस गर्नका लागि ७२ घण्टाको समय छुट्याउने तयारी थियो । अब उक्त विधेयकमाथिको सैद्धान्तिक छलफल अर्को बैठकमा हुने भएको छ ।

झन्डै ८ महिनाको संसद् अवरोधबाट बिनाशर्त पछि हटेको एमालेले चालु अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूले आलोचना गरेको भन्दै संसद् अवरोध गरेको थियो । त्यसपछि शुक्रबार विधेयक प्राप्त नभएको भन्दै संसद् अवरोध गरेको छ ।

प्रकाशित : जेष्ठ २०, २०७९ २०:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×