कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मगर आदिकवि राष्ट्रकै निधि : कुलपति उप्रेती

गणेश राई

काठमाडौँ — नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले मगर मातृभाषा साहित्य आदिकवि राष्ट्रकै निधि भएको बताएका छन् । कुलपति उप्रेतीले नेपाल प्रज्ञा–प्रतिष्ठान र जितबहादुर सिन्जाली मगर साहित्य प्रतिष्ठानले आयोजना गरेको ‘मगर कविताका आदिकविद्वय जितबहादुर सिन्जाली मगर र रेखबहादुर थापा मगरको योगदान’विषयक गोष्ठीमा उक्त विचार व्यक्त गरेका हुन् । 

मगर आदिकवि राष्ट्रकै निधि : कुलपति उप्रेती

‘राज्य पुन:संरचना भएपछि नेपाल प्रज्ञा प्रतिष्ठानले मुलुकमा बोलिने हरेक मातृभाषा, साहित्य, संस्कृतिको अध्ययन अनुसन्धान जारी राखेको छ,’ विशिष्ट योगदान पुर्‍याएको स्रष्टाको सम्मान नीति अघि बढाएको उल्लेख गर्दै कुलपति उप्रेतीले भने, ‘मातृभाषी आदिकवि, स्रष्टाहरूको योगदानलाई लिएर जन्मजयन्ती मनाउने कामको समेत थालनी भएको छ र यो निरन्तर रहन्छ ।’

जनसंख्याका हिसाबले तेस्रो स्थानमा मगर जाति पर्दछन् । भौगोलिक रूपमा मगर समुदायले ढुट, खाम (पाङ), काइके र पोइके गरी चारवटा भाषा बोल्दछन् । भाषा आयोगले पछिल्लो पटक गरेको अध्ययनले पोइके भाषाको पहिचान भएको हो । बहुसंख्यकले मगर ढुट भाषा बोल्छन् । जितबहादुर सिन्जाली मगर र रेखबहादुर थापा मगर ढुट भाषाको आदिकवि घोषणा भएको धेरै भएको छ । सिन्जाली र थापाले २०१६ सालमा‘मगराती भाषाङ ल्हिङ ड टुक्काऔ कीटाब’ (मगराती भाषामा गीत तथा टुक्काको किताब) संयुक्त कृति प्रकाशित गरेका थिए । ‘प्रकाशनका सन्दर्भमा भने सर्वप्रथम विमातृभाषी बालकृष्ण रुपावासी (पोखरेल)को ‘कानुङ लाम’ (नयाँ बाटो) गीति कवितासंग्रह २००९ सालमा प्रकाशित थियो,’ गोष्ठीपत्र प्रस्तुत गर्दै उपप्राध्यापक टीकाराम ‘उदासी’बुढामगरले भने, ‘स्वभाषीले सिर्जना गरेको मगर भाषा साहित्यको यो नै पहिलो पुस्तक थियो । संयुक्त संग्रहमा दुई जनामध्ये कुन कसको रचना हो भनेर नछुट्टिएकाले नेपाल मगर संघले दुवै जनालाई मगर आदिकवि भनेर घोषणा गरेको हो ।’

गुल्मीको ठूलो लुम्पेकमा १९८८ जेठ १८ गते जन्मिएका स्रष्टा जितबहादुर सिन्जालीको ‘मगर भाषाका सुरुऔ किताब’, ‘ल्हेस्म राहानाङ’, ‘पुनरागमन’, ‘गमन’, ‘गोलभाव’, ‘बुद्धदर्शन’लगायत दर्जनभन्दा बढी कृति मगर र नेपाली भाषामा प्रकाशित छन् । युगचेतना, सामाजिक सरोकार, जनपक्षीय चिन्तन र सामाजिक परिवर्तनकामी आदिकवि सिन्जालीको २०७५ पुस ८ गते निधन भएको थियो ।

यसैगरी अर्का आदिकवि रेखबहादुरको जन्म २००१ भदौ २८ गते तनहुँको भिरकोट अर्चल्दी गाउँमा भएको थियो । उनको ‘फुन्च–ठलके’ (जन्मभूमिलाई) कविता कृति प्रकाशित छ भने ‘कानुङ नेपाल’ (हाम्रो नेपाल) प्रकाशोन्मुख रहेको जनाइएको छ । उनको २०६१ असारमा निधन भएको थियो ।

मगर साहित्यका लेखक प्राज्ञ लोकबहादुर थापा मगरले मगर समुदायमा बोलिने भाषामध्ये ढुट सबैभन्दा समृद्ध रहेको बताए । ‘००७ सालयता मगर भाषा लेख्य परम्पराको विकास भएको छ,’ दर्जनभन्दा बढी कृतिका सर्जक मगरले भने, ‘मगर साहित्य विकासको हिसाबले २०४५ सालसम्म पहिलो चरण, २०६२ सालसम्म दोस्रो र २०६२/६३ जनआन्दोलनपछि तेस्रो चरणका रूपमा लिइएको छ ।’ उनकाअनुसार अहिलेसम्म मगर भाषामा ४८ वटा कवितासंग्रह, १९ वटा कथासंग्रह, १७ वटा उपन्यास, ७ वटा गजलसंग्रह, ६ वटा मुक्तकसंग्रह, चार–चार वटा गीत, निबन्ध र नाटक कृति, ३ वटा खण्डकाव्य कृति प्रकाशित छन् । त्यस्तै ३५ वटा चलचित्र र १८ वटा वृत्तचित्र निर्माण भएका छन् ।

जितबहादुर सिन्जाली मगर साहित्य प्रतिष्ठानका अध्यक्ष सञ्जोल लाफा मगरले राज्यको तर्फबाट मातृभाषी आदिकवि जयन्ती मनाउनु स्वागतयोग्य रहेको बताए । राष्ट्रिय सभाका सदस्य सुरेश आलेमगर, प्रतिष्ठानकी प्राज्ञ लक्ष्मी माली, सदस्यसचिव जगतप्रसाद उपाध्यायलगायतले मगर आदिकवि र मातृभाषाबारे विचार व्यक्त गरेका थिए ।

प्रकाशित : जेष्ठ १८, २०७९ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?