इतिहासविद् याक्थुम्बालाई बलिहाङ पुरस्कार- साहित्य/विविध - कान्तिपुर समाचार

इतिहासविद् याक्थुम्बालाई बलिहाङ पुरस्कार

कान्तिपुर संवाददाता

काठमाडौँ — इतिहास तथा संस्कृतिविद् मञ्जुलकुमार याक्थुम्बालाई यो वर्षको बलिहाङ पुरस्कार प्रदान गरिएको छ । किरात याक्थुङ चुम्लुङ काठमाडौंले शुक्रबार आयोजना गरेको समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त पुरस्कार हस्तान्तरण गरेका हुन् । पुरस्कारको राशि १६ हजार रुपैयाँ रहेको छ । 

यो पुरस्कार लिम्बु भाषा, साहित्य, मुन्धुम, संस्कृति, इतिहास क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका स्रष्टालाई प्रदान गरिँदै आएको छ । पुरस्कारप्राप्त ८७ वर्षीय इतिहासविद् याक्थुम्बाको ‘मौलिक किरात धर्म-संस्कार’, ‘किरात तीर्थस्थल सानो हात्तीवन’, ‘याक्थुङ मुन्धुम र मिथकहरू’, ‘को हुन् किरात र किरात लिम्बु ? के हो युमा धर्म ?’ कृति प्रकाशित छन् । प्राज्ञ अमर तुम्याहाङले याक्थुम्बाको योदानबारे चर्चा गर्दै नेपालको प्रशासनिक क्षेत्रमा ३८ वर्ष र त्यसपछि सामाजिक, सांस्कृतिक अभियानमा संलग्न रहेको उल्लेख गरे ।

उपराष्ट्रपति पुनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक मुलुकमा लिम्बु जातिको विशिष्ट पहिचान रहेको बताए । ‘पूर्वी पहाडमा लिम्बु जातिको विशिष्ट र गौरवमय स्थान रहेको छ,’ देशमा बोलिने नेपाली र अन्य मातृभाषाहरूको स्थान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उपराष्ट्रपति पुनले भने, ‘यदि मातृभाषा र नेपाली भाषा बिर्सियौं भने गौरव र सम्पत्ति कमजोर हुँदै जानेछ । यस हिसाबमा लिम्बु समुदायले मातृभाषा र मुन्धुम संस्कृतिको प्रयोग प्रशंसनीय छ ।’ संविधानले सबै मातृभाषामा शिक्षा आर्जन गर्न पाउने अधिकार सुनिश्चित गरेकाले स्थानीय पालिकाले त्यसको कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

यस्तै प्रदेश १ का प्रमुख परशुराम खापुङले आफ्नो इतिहास आफैं खोज्ने काम र खोजी गर्नेलाई किरात याक्थुङ चुम्लुङले सम्मान गर्ने क्रम सह्रानीय रहेको बताए ।

प्रकाशित : जेष्ठ १३, २०७९ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्

धम्क्याएर ७ करोड माग्ने ७ जना पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — एक व्यवसायीलाई धम्क्याएर ७ करोड रुपैयाँ मागेको कसुरमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये तीन जना पत्रकार रहेको खुलेको छ । ती व्यवसायीसँग मागेको रकम नदिए ‘जे पनि हुने’ भन्दै धम्की दिएर उनीहरुले एक महिनाअघिदेखि नै रकममा बार्गेनिङ गरिरहेका थिए ।

फोन र प्रत्यक्ष रुपमा भेटेर ‘मागेको रकम नदिए परिवार नै सिध्याइदिने’ सम्मका धम्की आएपछि ती व्यवसायीले काठमाडौं उपत्यका प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

उजुरीपछि धम्की दिने व्यक्तिको निगरानी गर्ने क्रममा उनीहरुलाई बिहीबार उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्यले बताए ।

पक्राउ पर्नेहरूमा बूढानीलकण्ठ बस्दै आएका कालीकोटका टेकबहादुर विक नेत्रविक्रम चन्द नेतृत्वको नेकपानिकट भएको खुलेको छ । त्यस्तै एबीसी टेलिभिजनको प्रेस कार्डधारी सुजन आचार्य, नेपाल तारा डटकमको कार्डधारी धर्मराज थापा, कारोबार मिडिया (एड एजेन्सी)का उमेश भण्डारी, ग्लोबल टेलिभिजनको कार्ड वाहक बसन्ता खनाल, कम्प्युटर मर्मतसम्बन्धी प्राविधिक श्रवण कार्की र सुरज शर्मा छन् ।

उनीहरूको साथबाट विभिन्न मिडियाको नाममा प्रेस पास भेटिएको प्रहरीले जनाएको छ । यद्यपि उनीहरू ती मिडियामा कार्यरत हुन् वा हैनन् भन्ने बारे अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

‘एक जना व्यक्तिलाई ७ करोड माग्दै केही समयदेखि उनीहरूले धम्की दिँदै आएका रहेछन् ।पीडितले दिएको उजुरीका आधारमा अनुसन्धान गर्दा धम्की दिने ७ जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको छ,’ एसपी आचार्यले भने, ‘उनीहरुले पीडित व्यक्तिलाई फोन, सामाजिक सञ्जाल र प्रत्यक्षरुपमै भेटेर धाकधम्की दिने र नमाने जे पनि हुनसक्ने भन्दै त्रसित बनाएको पनि खुल्यो ।’

प्रहरीले पीडित व्यक्तिको पहिचान गोप्य राखेको छ । स्रोतले बताएअनुसार पीडित व्यक्तिका व्यक्तिगत कमजोरीलाई टेकेर आरोपितहरूले ‘ब्ल्याकमेलिङ’ गर्ने गरेको खुलेको छ । ती व्यक्ति उच्च घरानियाँका व्यवसायी भएको र उनैले यसबारे आफ्नो पहिचान नखुलाउन आग्रह गरेको स्रोत बताउँछ ।

प्रकाशित : जेष्ठ १३, २०७९ १९:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×