दार्चुला बृहत् साहित्य महोत्सव सुरु- साहित्य/विविध - कान्तिपुर समाचार

दार्चुला बृहत् साहित्य महोत्सव सुरु

मनोज बडू

दार्चुला — साहित्यमार्फत जिल्लाको कला, संस्कृतिलाई उजागर गर्नका लागि दार्चुला बृहत् साहित्य महोत्सव सुरु भएको छ । अमेरिकास्थित ताराकिसन फाउन्डेसनको आयोजनामा दुई दिने साहित्यिक महोत्सव शुक्रबारबाट खलंगामा सुरु भएको छ । 

जिल्ला सदरमुकाम खलंगामा साहित्यिक रौनकता झल्काइरहेको छ । महोत्सवको उद्घाटनसत्रमा जिल्लाका स्थानीय मौलिक संस्कृति झल्किने झाँकीहरू प्रस्तुत गरिएका छन् । साहित्य महोत्सवमा स्थानीयसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यकारहरूको प्रस्तुत चलिरहेको छ । खलंगास्थित खुलामञ्चमा साहित्यकार, लेखक तथा स्रष्टाहरूको उपस्थितिमा विभिन्न रचनाहरू वाचन भइरहेका छन् ।

उद्घाटनसत्रमै आयोजक संस्थाका सल्लाहकार किसन सिंह धामीको अंग्रेजी संस्करण ‘एटलान्टिकका भंगालाहरू’ र लोकेन्द्रबहादुर र नरेन्द्रसिंह बडालको मुक्तक संग्रह ‘छुटेका यादहरू’ रचनाको विमोचन गरिएको छ । आयोजकले सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. अम्मराज जोशीलाई अभिनन्दन गरिएको आयोजक संस्थाका सल्लाहकार किसन सिंह धामीले जानकारी दिए ।

हिमाल डेन्टल हस्पिटलको सहकार्य तथा दार्चुला साहित्य समाजको समन्वयमा दार्चुलाको कला, संस्कृति र साहित्यको पहिचान तथा उत्थान गर्न बृहत् साहित्यिक महोसत्व आयोजना गरिएको सल्लाहकार धामीले बताए । कार्यक्रममा जिल्लाका ९ वटै स्थानीय तहका मौलिक झाँकीहरूको प्रदर्शनी, जिल्ला स्तरीय माध्यमिक तह (९-१२) कविता प्रतियोगिता अनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यकारहरुको प्रस्तुति रहने उनले बताए ।

प्रकाशित : जेष्ठ १३, २०७९ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्

निजी सवारी आयातमा एलसी खुलाउन नाडाको आग्रह 

कान्तिपुर संवाददाता

काठमाडौँ — अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)ले निजी सवारीसाधन कार, जिप, भ्यानको आयातका लागि एलसी खुलाउन सरकारसँग आग्रह गरेको छ । विदेशी मुद्रा सञ्चितिमा कमी आएपछि हाल सरकारले निजी सवारीसाधनको आयातमा एलसी खोल्ने कार्य बन्द गराएको छ । नाडाले नेपालमा अटोमोबाइल क्षेत्रको योगदान र यस व्यवसायमा देखा परेका समस्याहरुलाई केलाउँदै एक प्रतिवेदन सार्वजनिक गरेको छ । 

व्यवसायमा १ खर्बभन्दा बढीको लगानी रहेको र हरेक वर्ष १ खर्ब ५० अर्ब बढी राजश्वमा योगदान पुर्‍याउँदै आएको सवारीसाधन आयातमा कडाइ गर्दा राजश्व गुम्ने नाडाको भनाइ छ । नाडाले केही दिन अघि मात्रै निजी प्रयोजनका कार, जिप र भ्यानको आयात खुला गर्नका लागि अर्थ मन्त्रालयमा सुझाव दिएको थियो । कुल आयातमा सवारीसाधनको हिस्सा ६ प्रतिशत रहँदा राजश्वमा २१ प्रतिशत योगदान रहेको नाडाले जनाएको छ ।

नाडाका अनुसार यस आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको ९ महिने अवधिमा कुल १४ अर्ब १३ करोड मूल्य बराबरको निजी कार, जिप, भ्यान (पेट्रोल/डिजेलमा) आयात भएको छ । सो वापत सरकारले ३२ अर्ब २४ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । त्यस्तै २२ अर्ब ३३ करोड रुपैयाँ बराबरको मोटरसाइकल तथा स्कुटर आयात हुँदा सरकारले २२ अर्ब बराबर नै राजश्व उठाएको नाडाको तथ्यांक छ ।

पछिल्लो समय विद्युतीय सवारीसाधनको आयात समेत बढेको छ । नाडाका अनुसार ९ महिनाको सो अवधिमा १ हजार ७७३ वटा विद्युतीय कार, जिप, भ्यान आयात भएको छ । आर्थिक वर्ष ०७७/७८ मा जम्मा २४९ वटा मात्रै त्यस्ता सवारी भित्रिएका थिए । चालु आर्थिक वर्षको ९ महिनामा २ हजार ३९४ वटा विद्युतीय दुई पांग्रे सवारी आयात भएको छ । आर्थिक वर्ष ०७७/७८ मा २ हजार २६५ वटा आयात भएको थियो ।

प्रकाशित : जेष्ठ १३, २०७९ १७:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×