१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

गीतांजलि श्रीको 'रेत समाधि' लाई अन्तर्राष्ट्रिय बुकर पुरस्कार

अन्तर्राष्ट्रिय बुकर पाउने पहिलो हिन्दी लेखक 

काठमाडौँ — सन् २०२२ को अन्तर्राष्ट्रिय बुकर पुरस्कार गीतांजलि श्रीको 'द टम्ब अफ स्यान्ड' ले पाएको छ । श्री बुकर पुरस्कार पाउने पहिलो हिन्दी लेखकसमेत बनेकी छन् । सन् २०१८ मा हिन्दीमा 'रेत समाधि' शीर्षकमा प्रकाशित उपन्यासलाई डेजी रकवेलले अनुवाद गरेकी हुन् ।

गीतांजलि श्रीको 'रेत समाधि' लाई अन्तर्राष्ट्रिय बुकर पुरस्कार

पहिले १३ पुस्तकको लङलिस्टमा छनोट हुँदै 'टोम्ब अफ स्यान्ड' अन्तिम सूचीमा पर्न सफल भएको थियो । जसमा 'हेभन', 'एलेना नोज', 'अ न्यु नेम', 'द बुक्स अफ ज्याकोब' र 'कर्स्ड बन्नी' थिए ।

उत्तर भारतीय परिवेशमा आधारित उपन्यास 'रेत समाधि' ले एक जना ८० वर्षीया महिलाको कथा भन्छ । धर्म, देश र लैंगिक आधारमा हुने गरेका विभेदबीच 'रेत समाधि' ले समकालीन विषयलाई रमाइलो र वास्तविक रूपमा उठाउन सफल भएको बुकरले जनाएको छ । बुकर पुरस्कारका निर्णायक मण्डलका प्रमुख फ्र्यांक वायने भन्छन्, 'यो भारत र विभाजनका बारेमा चम्किलो उपन्यास हो । जसमा रहेको मन्त्रमुग्धता र उग्र करुणा, यौवन तथा उमेर, महिला र पुरुष, परिवार र राष्ट्रका कुरालाई रंगीन रूपमा प्रस्तुत गरिएको छ ।'

पुरस्कार ग्रहण गर्दै श्री भन्छिन्, 'मैले बुकर पुरस्कार गर्ने कल्पना पनि गरेकी थिइनँ । मैले सोचेकी थिइनँ कि म यहाँ पुग्छु । यो एउटा ठूलो पुरस्कार हो । म निकै खुसी र सम्मानित महसुस गरेकी छु ।'

दक्षिण एसियामा समृद्ध साहित्यिक परम्परा रहेको उल्लेख गर्दै उनले भनिन्, 'म र यो पुस्तक दक्षिण एसियाली भाषाहरूमा रहेको एक समृद्ध साहित्यिक परम्परासँग जोडिएको छ । विश्व साहित्य यी भाषाका केही उत्कृष्ट लेखकसँग परिचित हुँदै समृद्ध हुनेछ ।'

पुरस्कारको राशि ५० हजार पाउन्ड रहेको छ जुन लेखक र अनुवादकबीचमा बराबरी बाँडिनेछ ।

गीतांजलि श्री करिब ३ दशकदेखि लेखन कार्यमा सक्रिय छिन् । उनको पहिलो उपन्यास 'माई' हो । त्यसपछि 'हमारा शहर उस बरस', 'तिरोहित', 'खाली जगह' लगायतका कृति प्रकाशित भएका छन् । थिएटर लेखनमा समेत सक्रिय रहेकी उनका साहित्येत्तर लेखनमा भने हिन्दी र अंग्रेजी दुवै भाषामा लेख्छिन् । उनी वनमाली राष्ट्रिय पुरस्कार, हिन्दी अकादमी साहित्यकार सम्मानबाट समेत सम्मानित लेखक हुन् ।

त्यस्तै अमेरिकामा बसेर साहित्य कर्ममा सक्रिय डेजी रकवेल अनुवाद साहित्यमा चर्चित नाम हो । उनले हिन्दी र उर्दू भाषामा प्रकाशित थुप्रै पुस्तक अनुवाद गरेकी छिन् । उनले विद्यावारिधि नै हिन्दी साहित्यकार उपेन्दरनाथ अश्कको उपन्यास 'गिरती दिवारेँ' मा गरेकी थिइन् । उनले अश्कसहित खादीजा मस्तुर, भीष्म साहनी, उषा प्रियंवदा, कृष्ढा सोबतीलगायतका उपन्यास अनुवाद गरेकी छिन् ।

प्रकाशित : जेष्ठ १३, २०७९ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?