१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

उपाध्यायको बाल कविता ‘साइकल’ सार्वजनिक

प्रतीक्षा काफ्ले

कास्की — नयाँ शब्द, आनीबानी, अक्षर सिक्दै गरेका साना बालबालिका उपहार पाउँदा पुलकित हुन्छन् । के उपहार दिने भन्नेचाहिँ अभिभावक र शुभचिन्तककै विवेकमा भर पर्छ । साहित्यकार सुरज उपाध्यायले छोरी प्राप्ति मुस्कानको जन्मदिनको अवसरमा बालबालिकालाई नयाँ पुस्तक उपहार दिएका छन् । एक कार्यक्रम समारोहकाबीच उनले उपहारमा नयाँ पुस्तक दिएका हुन् ।

उपाध्यायको बाल कविता ‘साइकल’ सार्वजनिक

अभिभावकविहीन बालबालिकालाई आश्रय दिँदै आएको अमोस सेवा नेपालमा उनले बुधबार आयोजित समारोहमा बालबालिका र कार्यक्रमका अतिथिले एकसाथ सुरजको बाल कविता सञ्चयन ‘साइकल’ सार्वजनिक गरे । स्याङ्जाको फेदीखोला गाउँपालिका–१ मा रहेको अमोर सेवा नेपालले कृति प्रकाशन गरेको हो ।

बालमनोविज्ञानलाई नयाँ बिम्ब प्रतीकमार्फत् अभिव्यक्त गर्न खप्पिस उनी विचारमार्फत् चेतना पनि सँगसँगै भर्छन् । प्रमुख वक्ताको रुपमा सहभागी फेदीखोला गाउँपालिका नवनिर्वाचित अध्यक्ष घनश्याम सुवेदीले साहित्यकार सुरजले सत्ता परिवर्तन, विद्रोह र चेतनाका लागि लेखनमार्फत् आवाज उठाउँदै आएको तारिफ गरे ।


अध्यक्ष सुवेदीले कृति प्रकाशनमा पालिकाले सहयोग गर्ने प्रतिबद्धतासहित ५ सय थान पुस्तक खरिद गरी पालिकाका विद्यार्थीलाई वितरण गर्ने प्रतिबद्धता गरेका छन् । सुवेदीले विद्यार्थीकालमा साहित्यकार सुरज सम्पादक रहेको वेदना पत्रिकामा लेख, रचना प्रकाशन गरेकोसमेत स्मरण गरे । उनले अमोर सेवा नेपालको विकासमा सघाउने प्रतिबद्धतासमेत गरे । सुवेदीले भने, ‘यो स्याङ्जाको एकमात्र बाल आश्रम हो । पालिकाले सक्ने बुताको सहयोग गरी नै हाल्छौँ। प्रदेश, संघ सरकारमा पनि सहयोगका लागि समन्वय र सहकार्य गर्ने प्रतिबद्धता गर्दछु ।’

फेदीखोला–१ का वडाध्यक्ष अमृत क्षेत्रीले अनावश्यक खर्च कटौती गरी मानवीय सहायता गर्ने खालका संस्थालाई सघाउने परिपाटीलाई प्रोत्साहन गर्नुपर्ने विचार राखे । अमोर सेवा नेपालकी अध्यक्ष कमला पराजुलीले आश्रयविहीन बालबालिकालाई आश्रय दिएर सरकारले गर्नुपर्ने काममा सरकारी निकायबाट उचित सहयोगको अपेक्षा गरिन् । उनले गाउँपालिका, प्रदेश र संघ सरकारबाट पूर्वाधार निर्माण, बालबालिकाको पठनपाठन लगायत अन्य कार्यका लागि भरपर्दाे सहयोग हुनुपर्नेमा जोड दिइन् । कार्यक्रममा अमोर सेवा नेपालकी विद्यार्थी अमृता गुरुङले बालबालिकाको विषयमा बोलेकी थिइन् ।

‘साइकल’ उपाध्यायको तेस्रो कृति हो । यसअघि उनको एक गजल संग्रह र 'चिल उड्यो आकाश'मा बाल कविता संग्रह प्रकाशन भइसकेका छन् ।

प्रकाशित : जेष्ठ १२, २०७९ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?