गुरुकुलमा नाटक ‘कोही किन बर्बाद होस्’- साहित्य/विविध - कान्तिपुर समाचार

गुरुकुलमा नाटक ‘कोही किन बर्बाद होस्’

कान्तिपुर संवाददाता

काठमाडौँ — थापागाउँस्थित कुञ्ज थिएटर गुरुकुलमा नाटक ‘कोही किन बर्बाद होस्’ मञ्चन सुरु गरिएको छ । बालबालिकाप्रति अभिभावकको दायित्व, प्रेम तथा मातृत्वले उनीहरुमा पार्ने प्रभावलाई नाटकले देखाउने जमर्को गरेको छ । 

वि.सं. २०१५ सालतिर नै विजय मल्लद्वारा लिखित यस नाटकलाई २०७१ मा नै मण्डला थिएटरमा मञ्चन गरिएको थियो । नाटकले बालबालिकाको शिक्षण प्रणालीमा अभिभावकसँगै विद्यालयका शिक्षकको भूमिकासमेत महत्त्वपूर्ण हुने पक्षलाई इंगित गर्छ ।

समयले कोल्टे फेरे पनि हाम्रो शिक्षण प्रणालीको स्तर अझै पनि उस्तै रहेकाले नाटकलाई पुन: मञ्चन गरिएको नाटकका परिकल्पनाकार तथा निर्देशक रंगकर्मी चे शंकरले बताए ।

‘खासमा नाटक अहिलेको हाम्रो शिक्षा प्रणालीका लागि व्यंग्य हो’, उनले भने,‘म बालबालिकाको शिक्षा र विकासका लागि पनि काम गरिरहेको भएर नाटकलाई अहिलेको समयमा फेरि मञ्चन गर्न उपयुक्त ठानेको छु ।’

जेठ २१ गतेसम्म मञ्चन हुने नाटकमा सुनील पोखरेलसहित सुशान्त घिमिरे, सुवास तिमिल्सिनालगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रकाशित : जेष्ठ ११, २०७९ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्

इन्धनमा मूल्यवृद्धिविरुद्ध राष्ट्रिय सभामा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलका सांसदहरूले जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् । उनीहरूले इन्धनको मूल्यवृद्धिमाथि छलफलको माग गरेका छन् ।

राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाललाई बुझाएपछि प्रस्ताव दर्ता भएको हो । राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक देवेन्द्र दाहाल प्रस्तावक छन् ।

पेट्रोलियम पदार्थको मूल्य स्वचालित कार्यविधिअनुसार नेपाल आयात हुने पेट्रोलियम पदार्थको बिक्री मूल्य परल मूल्यबमोजिम १५ दिनमा एकपटक समायोजन गर्न सक्ने प्रावधानविरुद्ध गएर पछिल्लो समय साता दिनभित्रै दुईपटक बढाइएको भन्दै त्यो फिर्ताको माग उनीहरूको छ ।

सरकारसँग मूल्यवृद्धि न्यूनीकरणका लागि भएका प्रयासबारे खाका माग गर्न संसद्मा छलफल गर्नुपर्ने जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस गरिएको उल्लेख छ ।

मूल्यवृद्धिका कारण प्रभावितहरूको जनजीवन सहज बनाउन सरकारका योजनाबारे जानकारी माग गर्न पनि छलफल आवश्यक भएको सांसदहरूको माग छ । इन्धनको मूल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनहरूले संयुक्त आन्दोलन गर्ने घोषणा गरिसकेका छन् ।

प्रकाशित : जेष्ठ ११, २०७९ १५:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×