सिद्धिचरण युवा पत्रकारिता पुरस्कारबाट नेपाल र राई पुरस्कृत

काठमाडौँ — युगकवि सिद्धिचरण प्रतिष्ठानले कान्तिपुरकर्मी पारसप्रकाश नेपालसहितलाई पुरस्कृत गरेको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले युगकवि सिद्धिचरण श्रेष्ठको १११ औं जन्मजयन्तीको अवसरमा दुई संस्था र दुई पत्रकारलाई पुरस्कृत गरेका हुन् ।

सिद्धिचरण युवा पत्रकारिता पुरस्कारबाट नेपाल र राई पुरस्कृत

युगकवि सिद्धिचरण प्रतिष्ठानद्वारा राजधानीमा आयोजित समारोहमा उपराष्ट्रपति पुनले सिस्नुपानी नेपाललाई १ लाख रुपैयाँसहितको सिद्धिचरण पुरस्कार प्रदान गरे । त्यस्तै पत्रकार गजुरधन राई, कान्तिपुर दैनिकका प्रमुख उपसम्पादक नेपाल र लहना मिडियालाई सिद्धिचरण युवा पत्रकारिता पुरस्कार दिइएको हो । २५ हजार रुपैयाँसहितको उक्त पुरस्कार राईलाई २०७७, नेपाललाई २०७८ र लहनालाई २०७९ सालका लागि प्रदान गरिएको हो ।

उपराष्ट्रपति पुनले सिद्धिचरणका कविताकृतिमा क्रान्तिचेतको आधिक्य रहनुबाट उनी कवि-साहित्यकार मात्र नभई क्रान्तिकारी नेतासमेत रहेको पुष्टि हुने टिप्पणी गरे । ‘त्यस्ता सिर्जनाका माध्यमले राणाकालको अँध्यारो समयमा युगलाई बाटो देखाएको हुनाले नै उहाँलाई युगकवि भनिएको हो,’ उपराष्ट्रपति पुनले भने ।

प्रधान सेनापति प्रभुराम शर्मा, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, प्रतिष्ठानका अध्यक्ष वरिष्ठ कवि वैरागी काइँला र संरक्षक रविचरण श्रेष्ठ, प्रतिष्ठानका उपाध्यक्ष प्राध्यापक मोहन लोहनी, सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नांगे, प्राध्यापक रामप्रसाद ज्ञवालीले पनि युगकविको व्यक्तित्व–कृतित्वबारे बोलेका थिए ।

उपराष्ट्रपति पुनले देवी नेपालको अनुसन्धानात्मक कृति ‘युगकवि सिद्धिचरणका कवितामा छन्दविधान’ को लोकार्पणसमेत गरेका थिए ।

प्रकाशित : जेष्ठ ११, २०७९ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?